+
एनपीएल २०२६ :

दसैंको रौनकमा एनपीएलको चटारो, क्रिकेटमय बन्दै चाडपर्व

२०८३ असोज  २९ गते १८:१५ २०८३ असोज २९ गते १८:१५

जसरी दसैं र तिहार जस्ता ठूला चाडपर्व मनाउनका लागि नेपालीहरु प्रतिक्षामा हुन्छन् त्यसैगरी एनपीएलका लागि पनि नेपाली क्रिकेटप्रेमी दर्शकहरु पर्खिरहेका हुन्छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो सिजन अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
  • दसैंको अन्त्यलगत्तै सुरु हुने एनपीएलमा आठ टोलीले उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेका छन् र विराटनगर किंग्स तथा सुदूरपश्चिम रोयल्स भारतमा प्रशिक्षण गर्दैछन्।
  • एनपीएलमा डेविड वार्नर र शाकिब अल हसनसहित विदेशी खेलाडी तथा अजन्था मेन्डिस र सोहेल तनविरजस्ता प्रशिक्षकको सहभागिताले आकर्षण बढाएको छ।

नेपालीहरुको सबैभन्दा ठूलो चाड हो दसैं र तिहार । अनि नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो नेपाल प्रिमियर लिग (एनपीएल) ।

जसरी दसैं र तिहार जस्ता ठूला चाडपर्व मनाउनका लागि नेपालीहरु प्रतिक्षामा हुन्छन् त्यसैगरी एनपीएलका लागि पनि नेपाली क्रिकेटप्रेमी दर्शकहरु पर्खिरहेका हुन्छन् । नेपालमा मात्र नभएर विश्वभर नै चर्चा कमाउन सफल भइसकेको एनपीएललाई ‘फेस्टिभल अफ हिमालयज’ भनेर भनिएको छ ।

नेपालको दुई महान चाडसँगै यस पटक त्यही क्रिकेटको पर्वको रुपमा रहेको एनपीएल पनि सँगै हुँदैछ । दसैंको समयमा एनपीएलको तयारी चलिरहेको छ भने दसैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमाको भोलिपल्ट एनपीएलको तेस्रो सिजन सुरु हुनेछ ।

अनि दसैं र तिहारको बीचको सयमा त एनपीएल चल्नेछ नै तिहारको समयमा पनि दुई दिन (लक्ष्मी पुजा र भाइटीका) छाडेर बाँकी दिन एनपीएलका खेलहरु हुनेछन् र तिहार पछिसम्म पनि एनपीएल चल्नेछ ।

एनपीएलको तेस्रो सिजन अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म (कात्तिक ९ देखि मंसिर ५ गते) सम्म सञ्चालन हुनेछ ।

यसपटक नेपालीहरुको महान चाडपर्वसँगै खेलकुदको ठूलो मेला एनपीएलको माहोल पनि सँगै चल्नेछ । त्यसैले यस पटक नेपालीका लागि लगातार तीन फेस्टिभलको रौनक एकै साथ हुनेछ ।

नेपालीको सबैभन्दा ठूलो चाड बडादसैं घरपरिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने र आफन्तजनसँग भेटघाट गर्ने अवसर हो तर, नेपाली क्रिकेट खेलाडी र एनपीएलमा सहभागी टोलीका लागि भने यसपटक दसैंको रौनकसँगै क्रिकेटको चटारो पनि थपिएको छ ।

बडादसैं सकिएलगत्तै टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटलाई फेरि एकपटक चर्चाको केन्द्रमा ल्याउने तयारी गरिरहेको छ । चाडपर्वसँगै क्रिकेटको उत्सव मनाउन दर्शकहरू उत्साहित भइरहँदा सहभागी ८ टोली अहिले अन्तिम तयारीमा व्यस्त छन् ।

एनपीएल मात्र होइन अहिले नेपाली राष्ट्रिय टिमका खेलाडीहरु दसैंकै बेलामा क्रिकेट विश्वकप लिग २ सिरिजमा व्यस्त छन् । नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुका लागि अन्तर्राष्ट्रिय क्रिकेट र घरेलु लिगको तयारीलाई एकसाथ अघि बढाउनुपर्ने अवस्था छन् ।

यस पटक एनपीएलले चाडपर्वको माहोललाई क्रिकेटमय बनाउने अपेक्षा गरिएको छ । तर, दसैंको समयमा आयोजना हुन लागेको यो प्रतियोगिताले विगतका संस्करणमा जस्तै दर्शकको आकर्षण कायम राख्न सक्ला ? विदेशी स्टार खेलाडीको आगमन, टोलीहरूको तयारी र राष्ट्रिय खेलाडीको व्यस्तताले यसपटकको एनपीएललाई कस्तो बनाउला? अहिले नेपाली क्रिकेटमा यिनै प्रश्नको चर्चा छ ।

दसैंमा पनि तयारीको चटारो

एकातिर दसैंको माहोल, अर्कोतिर एनपीएलको रौनक । अहिले एनपीएलमा सहभागी आठवटै टोली एनपीएलको उपाधि जित्ने लक्ष्यसहित तयारी गर्ने देखि विदेशी खेलाडीहरु अनुबन्ध गर्न व्यस्त छन् ।

अहिले टिमहरू खेलाडीको संयोजन, विदेशी खेलाडीको उपलब्धता, प्रशिक्षकको रणनीति र टोलीको सन्तुलन मिलाउनमा व्यस्त छन् । फ्रेन्चाइज लिगमा उपाधि जित्नका लागि विभिन्न क्षेत्रमा चुस्त व्यवस्थापन हुनु आवश्यक छ ।

सामान्यतया दसैंमा अधिकांश खेल गतिविधि सुस्त हुने गर्छन् । खेलाडीसमेत परिवारसँग चाडपर्व मनाउन घर फर्किने गर्छन् । तर, एनपीएलको तेस्रो संस्करणको तयारीले यसपटक क्रिकेटको माहोललाई फरक बनाएको छ । प्रतियोगिताको समय नजिकिँदै गर्दा टोलीहरू अभ्यास, रणनीति निर्माण र खेलाडीको तयारीमा केन्द्रित छन् ।

विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भारत पुगेर तयारी गरिरहेका छन् । सुदूरपश्चिमले भारतको लखनउस्थित रोयल स्पोर्ट्स गन्ज क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेको जनाएको छ । विराटनगर किंग्सले भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेको छ । फ्लडलाइटमा अभ्यास गर्नका लागि भारत गएको दुवै टोलीले जनाएको छ । बाँकी टोलीले नेपालमै रहेर प्रशिक्षणलाई निरन्तरता दिइरहेका छन् । केही टिममा विदेशी प्रशिक्षकको आगमनले चर्चा अझ बढाएको छ ।

यसपटक चार टोलीले विदेशी प्रशिक्षकको घोषणा गरिसकेका छन् । विराटनगरले श्रीलंकन धम्मिका प्रसाद, चितवनले पाकिस्तानका सोहेन तनविर, पोखराले श्रीलंकन अजन्था मेन्डिस र लुम्बिनीले भारतका टिनु योहान्नानलाई प्रशिक्षक नियुक्त गरिसकेको छ ।

केही टोलीमा नेपाली प्रशिक्षकले नेतृत्व गर्नेछन् । नेपाली क्रिकेटमा विदेशी प्रशिक्षकको अनुभव र नेपाली प्रशिक्षकको स्थानीय खेल वातावरणसम्बन्धी ज्ञानबीचको प्रतिस्पर्धाले पनि प्रतियोगितालाई रोचक बनाउन सक्छ ।

लिग २ सँगै एनपीएलको तयारी

एनपीएलको तयारीमा सबैभन्दा बढी चासो राष्ट्रिय टोलीका खेलाडीलाई लिएर छ । नेपाली राष्ट्रिय टोली अहिले ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिज खेलिरहेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहेका खेलाडीले नेपाल फर्किएपछि दसैं मनाउनुका साथै एनपीएलको तयारीमा पनि लाग्नेछन् । जसले गर्दा चाडपर्वको समय क्रिकेटलाई दिनुपर्ने अवस्था छ ।

राष्ट्रिय टोलीका खेलाडीका लागि यो समय चुनौतीपूर्ण  छ । एकातिर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रदर्शन र अंकतालिकामा सुधार गर्ने दबाब छ भने अर्कोतिर फ्रेन्चाइज टोलीको अपेक्षा पूरा गर्नुपर्ने जिम्मेवारी पनि छ । लिग–२ को सिरिजपछि स्वदेश फर्किने खेलाडीले चाडपर्वसँगै एनपीएलको तयारीमा पनि लाग्नुपर्ने अवस्था छ ।

५० ओभरको लिग २ खेलिरहेका खेलाडीले त्यसपछि फ्रेन्चाइज लिगमा टी-२० संरचनामा खेल्नुपर्नेछ । हुनत क्रिकेट खेलाडीका लागि जुनसुकै फर्म्याट भएपनि आफ्नो उत्कृष्ट प्रदर्शन दिनुपर्नेछ ।

उनीहरूले अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गरेको अनुभव र फ्रेन्चाइज टोलीमा निर्वाह गर्ने भूमिकाले नतिजामा प्रभाव पार्न सक्छ।

तर, अन्तर्राष्ट्रिय खेलको थकान व्यवस्थापन गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ । लगातारको यात्रापछि पर्याप्त आराम र प्रभावकारी तयारीको अवसर पाउनु खेलाडीको प्रदर्शनका लागि निर्णायक हुन सक्छ । त्यसैले टोली व्यवस्थापनले अभ्यासमा मात्र नभई खेलाडीको शारीरिक तथा मानसिक पुनःस्थापनामा पनि ध्यान दिनुपर्नेछ ।

विदेशी स्टारले बढाएको उत्साह

एनपीएलको तेस्रो संस्करणप्रति आकर्षण बढाउने प्रमुख पक्ष विदेशी खेलाडीको सहभागिता हो । अस्ट्रेलियाका डेविड वार्नर र बंगलादेशका शाकिब अल हसनजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका परिचित नाम एनपीएल खेल्न आउने भएपछि क्रिकेटप्रेमीको चासो बढेको छ भने एनपीएलको चर्चा पनि बढेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका यस्ता खेलाडीको उपस्थितिले मैदानमा मात्र होइन, मैदानबाहिर पनि प्रतियोगिताको चर्चा बढ्नेछ । उनीहरूका खेलशैली र अन्तर्राष्ट्रिय पहिचानले एनपीएललाई नेपालबाहिर पनि चिनाउने अवसर प्रदान गर्छ ।

भारत, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया र इंग्ल्यान्डलगायत देशका खेलाडीको सहभागिताले विभिन्न क्रिकेट संस्कृति र खेल अनुभव एकै स्थानमा भेट हुनेछ । विदेशी खेलाडीले नेपाली खेलाडीसँग एउटै टोलीमा खेल्दा अनुभव आदानप्रदानको अवसरसमेत सिर्जना हुनेछ ।

डेविड वार्नर

विशेषगरी युवा नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका खेलाडीसँग ड्रेसिङ रुम साझा गर्नु र मैदानमा सँगै खेल्नु सिकाइको महत्त्वपूर्ण अवसर बन्न सक्छ । दबाबपूर्ण अवस्थामा निर्णय लिने तरिका, खेलको गति बुझ्ने क्षमता र व्यावसायिक क्रिकेटप्रतिको दृष्टिकोणजस्ता पक्षमा उनीहरूबाट सिक्न सकिनेछ ।

स्टार खेलाडीको आगमनले खेलको नतिजामा प्रभाव पार्नु स्वभाविक हुनेछ । तर करियरको अन्त्यतिर रहेका कतिपय खेलाडीका लागि सिधै आएर नेपालको मौसम अनुसार खेल्नु पनि चुनौती हुनेछ ।

विदेशी खेलाडीको लोकप्रियतालाई नेपाली क्रिकेटको दीर्घकालीन विकाससँग जोड्न सक्नु नै एनपीएलको वास्तविक उपलब्धि हुनेछ ।

मेन्डिस र तनविरको प्रशिक्षण, नयाँ आकर्षण

यसपटकको एनपीएलमा विदेशी खेलाडीका साथै अन्तर्राष्ट्रिय क्रिकेटमा परिचित अनुहार प्रशिक्षकका रूपमा पनि जोडिएका छन् । श्रीलंकाका पूर्व स्पीनर अजन्था मेन्डिस र पाकिस्तानका पूर्व पेस बलर सोहेल तनविर जस्ता चर्चित खेलाडीहरु यस पटक प्रशिक्षकको रुपमा नेपाल आउँदैछन् ।

मिस्ट्री स्पीनरको रुपमा परिचित अजन्था मेन्डिसले यस पटक पोखरा एभेन्जर्सको प्रशिक्षण सम्हालेका छन् । उनले यसअघि दुई सिजन प्रशिक्षक रहेका भारतका राजिव कुमारको स्थान लिएका हुन् ।

मेन्डिस आफ्नो विशेष स्पीन बलिङ शैलीका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा परिचित छन् । उनको अनुभव नेपाली खेलाडी र प्रशिक्षकका लागि उपयोगी हुन सक्छ । विशेषगरी स्पिन बलिङ, खेलको रणनीतिक विश्लेषण र विपक्षी खेलाडीको कमजोरी पहिचान गर्ने विषयमा उनको ज्ञानले टोलीलाई फाइदा पुर्‍याउन सक्छ ।

उनले पोखराका स्पीनरहरुलाई आँखामा पट्टी बाँधेर फरक किसिमले प्रशिक्षक पनि गराउन थालेका छन् । विश्वकपका उत्कृष्ट स्पीन अलराउण्डर शाकिब हल हसन पनि पोखरामै अनुबन्ध भएका छन् । मेन्डिज र शाकिब जस्ता विदेशी स्टार टिममा हुँदा पोखरा एभेनजर्सलाई ठूलो फाइदा पुग्नेछ ।

यस्तै यसअघिको दुई सिजन खेलाडीको रुपमा चितवन राइनोजबाट खेलेका सोहेल तनविर यस पटक टिमको मुख्य प्रशिक्षक नै बनेका छन् । दुई सिजन सँगै खेलेका खेलाडीलाई अब उनले डगआउटमा बसेर निर्देशन दिनेछन् ।

एनपीएलमा विदेशी स्टारलाई नेपाल ल्याउनुका साथै उनीहरूको अनुभवलाई नेपाली क्रिकेटको संरचनाभित्र कसरी उपयोग गर्ने भन्ने विषय महत्त्वपूर्ण हो । विदेशी खेलाडी र प्रशिक्षकको अनुभवबाट नेपाली खेलाडीले धेरै कुरा सिक्न सक्छन् । जसले दीर्घकालिन रूपमा प्रभाव पार्न सक्छ ।

दर्शकको आकर्षण कायम राख्न चुनौती

एनपीएलले नेपाली क्रिकेटमा नयाँ व्यावसायिक वातावरण निर्माण गरिसकेको छ ।  फ्रेन्चाइज टोली, आफ्नै समर्थक, अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता र मैदानमा हुने कडा प्रतिस्पर्धाले एनपीएललाई अन्य घरेलु प्रतियोगिताभन्दा फरक बनाएको छ ।

तर, हरेक संस्करणसँगै दर्शकको अपेक्षा पनि बढ्दै गएको छ । पहिलो संस्करणको सफलता, दोस्रो संस्करणमा फ्लडलाइट र सिटको व्यस्था थियो । लगातार दुई सिजन भव्य सफलतापछि तेस्रो संस्करणमा दर्शकले के नयाँ अनुभव गर्न पाउँछन् भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ ।

विशेषगरी डीआरएस प्रविधि भित्र्याउने र आईसीसीले एनपीएललाई मान्यता दिने विषयमॐ धेरै चर्चामा छ । आईसीसीले एनपीएलाई स्याङ्सन गरेमा सहभागी फ्रेन्चाइजले विदेशी खेलाडीहरु अनुबन्ध गर्दा खुलेर अनुबन्ध गर्न सक्छन् ।

यसपटक प्रतियोगिता दसैंलगत्तै सुरु हुँदैछ र तिहारको समयमा पनि चल्नेछ । चाडपर्वको समयमा धेरै मानिस गाउँघर जाने, आफन्तसँग समय बिताउने, विभिन्न स्थानमा घुम्न निस्कने गर्छन् । साथै चाडपर्वको सयममा भएकोले धेरै मानिसहरुले देश विदेशमा घुम्ने योजना पनि बनाएका हुन्छन् ।

यस्तो अवस्थामा टीयू मैदानमा दर्शकको उपस्थिति कस्तो रहन्छ भन्ने कुरा चासोको विषय हुनेछ ।

यद्यपि दसैंको समयमा पनि परिवार र साथीभाईसँग क्रिकेट हेर्दै रमाउन सकिन्छ । चाडपर्वको समयमा समर्थकहरुका लागि एनपीएल मनोरञ्चनका लागि अर्को माञ्यम पनि बन्न सक्छ ।

बिदाको समय, सामूहिक रूपमा खेल हेर्ने संस्कृति र राष्ट्रिय खेलाडीप्रतिको आकर्षणलाई उपयोग गर्न सके एनपीएलले दर्शक तान्न सक्छ ।

यसका लागि टिकटको सहज उपलब्धता, मैदानसम्म पुग्ने सुविधा, दर्शकका लागि सुरक्षित वातावरण, प्रभावकारी प्रचारप्रसार र मैदानभित्रको मनोरञ्जनात्मक गतिविधि महत्त्वपूर्ण हुनेछन् । दर्शकले टेलिभिजन वा डिजिटल माध्यमबाट मात्र नभई मैदानमै पुगेर खेल हेर्न चाहने वातावरण बनाउन आयोजकको भूमिका निर्णायक हुनेछ ।

दसैंको रौनक, क्रिकेटको प्रतीक्षा

एनपीएलको तेस्रो संस्करण सुरु हुनुअघि नेपाली क्रिकेटमा उत्साह र अपेक्षा दुवै छन् । एकातिर राष्ट्रिय टोलीका खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त छन् भने अर्कोतिर फ्रेन्चाइज टोलीहरू उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेका छन् । विदेशी स्टारको आगमन र अनुभवी प्रशिक्षकको सहभागिताले प्रतियोगिताको आकर्षण थप बढाएको छ ।

दसैंमा सबैजना घर फर्किएर परिवारसँग खुसी साटासाट गरिरहँदा क्रिकेट खेलाडीको दैनिकी भने केही फरक हुनेछ । उनीहरूका लागि चाडपर्वसँगै अर्को ठूलो जिम्मेवारी जोडिएको छ- आफ्नो टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्ने र समर्थकको अपेक्षा पूरा गर्ने ।

तर, एनपीएलको वास्तविक परीक्षा प्रतियोगिता सुरु भएपछि हुनेछ । विदेशी स्टारको नाम, टोलीको तयारी र योजनालाई मैदानको प्रदर्शनमा रूपान्तरण गर्न सक्नुपर्छ । दर्शकको उत्साहलाई मैदानको उपस्थितिमा बदल्नुपर्छ । व्यावसायिक आकर्षणलाई नेपाली क्रिकेटको विकाससँग जोड्नुपर्छ ।

दसैंको टीका र जमरासँगै क्रिकेटको उत्सव सुरु हुने यसपटकको एनपीएलले नेपाली खेलकुदमा नयाँ ऊर्जा भर्ने अपेक्षा छ । चाडपर्वको माहोलमा क्रिकेटको रौनक थपिँदै गर्दा सबैको नजर अब टीयू मैदानतर्फ हुनेछ ।

प्रश्न केवल कसले उपाधि जित्छ भन्ने होइन, एनपीएलले नेपाली क्रिकेटलाई व्यावसायिक, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय रूपमा अझ बलियो बनाउने दिशामा कति योगदान पुर्‍याउँछ भन्ने पनि हो ।  त्यसको उत्तर मैदानमा खेलिने खेलले दिनेछ ।

एनपीएल एनपीएल सिजन ३ बडादशैँ

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय