+
+
Shares

कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दशैंपछि

१४औं महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते ११:५०

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको लागि सम्पन्न चुनावको मतगणना शुक्रबार बिहान सकिएको छ ।

मधेश प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै २३ असोज रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो ।

लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्व पीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।

त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यहरू चयन हुने खसआर्य र थारूतर्फको मतगणना पनि राति अबेर सकिएको उनले बताए । सबैको मतपरिणाम रुजु गर्ने कार्य भइरहेकाले केही बेरमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको कटुवालले बताए ।

अन्य पदहरूको भने यसअघि नै गणना सम्पन्न भइसकेको थियो । १४औं महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए ।

उनका अनुसार गणना सुरू भएकै दिनदेखि दिन र रातमा झण्डै २५ समूह बनाएर गणना गराइएको थियो । मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सृजना नभएको र सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उनको भनाइ छ ।

यस पटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नु परेको उनले बताए । कूल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ ओटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।

अघिल्लो अधिवेशनको तुलनामा यसपटकको मतगणना दोब्बरभन्दा बढी छिटो भएको निर्वाचन समितिका सदस्य सचिव कटुवालको दाबी छ ।

उनका अनुसार प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम दशैंलगत्तै गर्ने तयारी भएको छ । त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले जानकारी दिएका छन् ।

बैठकमै स्थानीय तहको निर्वाचनको खाकासमेत बनाउने तयारीसमेत भइरहेको बताइएको छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?