+
+
Shares

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चुन्न मतदान सुरु

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते ८:१६

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो ।

गण्डकी प्रदेश अन्तर्गत कास्की-२ का ८१ वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको सुरुवात गरेका हुन् ।

यसअघि बिहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।

एक जनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने

एक जनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । मतदान स्थल निर्माणमा सहभागीले दिएको जानकारी अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशन प्रतिनिधिहरू ७ हजार ३१७ छन् ।

मतदान राष्ट्रिय सभागृह र खुलामञ्चमा 

निर्वाचन समितिका अनुसार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा बुथहरू स्थापना गरि मतदान भइरहेको छ । राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका मतदाताहरूले मतदान गरिरहेका छन् ।

खुलामञ्चमा बाँकी ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन् ।

खुलामञ्चमा रहेको तराई–मधेश हलमा कोशी र मधेश प्रदेशका प्रतिनिधिहरुले मतदान गर्ने छन् भने हिमाल हलमा गण्डकी प्रदेशका मतदाताले मतदान गरिरहेका छन् ।

पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेको समितिले जनाएको छ ।

निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतपेटिकाहरू संकलन गरेर ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगेर गणना सुरु गर्ने जनाएको छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?