News Summary
Generated by OK AI. Editorially reviewed.- पत्रकार एवं लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ काठमाडौंमा सार्वजनिक भएको छ ।
- अञ्जु कुमारी मरिकले मधेशमा दलित समुदायमाथि दोहोरो व्यवहार हुने र आफूहरूलाई अछुत मानिने बताइन् ।
- लेखक सापकोटाले दुई दशकका रिपोर्टिङ अनुभव र डोम समुदायको कथावस्तुमा आधारित उपन्यास तयार गरेको बताए ।
३० असोज, काठमाडौं । पत्रकार एवं लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा लेखक सापकोटा, चिकित्सक डा. रामजी राम र डोम समूदायबाट छात्रवृत्तिमा राजधानीमा अध्ययन गरिरहेकी अञ्जु कुमारी मरिकले सम्पत्ति रुपमा पुस्तक सार्वजनिक गरे ।
तराईको सिमान्तकृत समुदायको पात्र ‘मगनी मरिक’लाई केन्द्रमा राखेर जीवनयापनको कठिनाई र संघर्षका विषयवस्तुलाई केन्द्रमा राखेर लेखकले उपन्याय लेखेका हुन् ।
कमलादीस्थित प्रज्ञा भवनमा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा अञ्जु कुमारी मरिकले मधेशको समाजमा दलिय समुदायमाथि दोहोरो व्यवहार हुने गरेको बताइन् ।
उनले भनिन्, ‘बच्चा जन्मदा वा विवाह जस्ता शुभकार्यमा हाम्रो समूदायले दिएको आशीर्वाद र छोएको पानी चोखो मानिन्छ । तर अरु समयमा हामीले छोएको पानी अशुद्ध हुन्छ । त्यही समाजले मरिक समुदायलाई अछुत मान्छ ।’
कार्यक्रममा डोम समुदायबाट चिकित्सक बनेका डा. रामजी राम र लेखक सापकोटाले पुस्तकको रचना सन्दर्भ र विषयवस्तुबारे छलफल गरे । डा. रामजी रामले उपन्याय मगनी मरिकले मधेशको सीमान्तकृय समुदायको वास्तविक अवस्था पाठकसामु ल्याएको बताए ।
लेखक जनकराज सापकोटाले दुई दशकदेखि रिपोर्टिङका क्रममा लेख्न नसकेका अनुभूतिहरूलाई मगनी मरिकमा समावेश गरेको बताए । उनका अनुसार, उपन्यास डोम समुदायको कथावस्तुमा आधारित छ ।
‘मधेशमा जातप्रथा, गरिबी, कमजोर स्वास्थ्य र शिक्षाको अवस्था भयावह छ । पत्रकारिता गर्दा धेरै कुराहरू छुट्थे, जसलाई म डायरीमा लेख्ने गर्थेँ,’ लेखक सापकोटाले भने, ‘त्यहाँका पात्रहरूको घरमै पुगेर उनीहरूको जीवनशैली र मनोदशा नजिकबाट देखेपछि मात्रै यो पुस्तक तयार भयो ।’
लेखक श्याम साहले उपन्यासमाथि टिप्पणी गर्दै मधेशको जातीय उत्पीडन, वैदेशिक रोजगारी, मानव तस्करी र प्रशासनतन्त्रको संवेदनहीनतालाई उपन्यायले उजागर गरेको बताए ।
उपन्यासलाई फाइनप्रिन्ट प्रकाशनले बजारमा ल्याएको हो ।
प्रतिक्रिया 4