News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखा दरबारले पठाएको फूलपाती हर्ष बढाइँसहित हनुमानढोका दरबारको दशैंघरमा भित्राइएको छ ।
- फूलपाती भित्र्याएपछि दशैंको रौनक र सार्वजनिक बिदा सुरु हुने गर्दछ ।
- काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेललगायतको उपस्थितिमा फूलपाती बढाइँ गरेको छ ।
३१ असोज, काठमाडौं । काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारले पठाएको फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको हो ।
गोरखा दरबारले बिहान बाजागाजासहित डोलीमा राखेर फूलपाती पठाएको थियो । पहिले धादिङको जिवनपुर, नुवाकोट हुँदै हिँडेर फूलपाती हनुमानढोका पुर्याउने प्रचलन थियो । २०६६ सालदेखि भने मोटरबाटो प्रयोग गर्न थालिएको थियो ।
गोरखा दरबारले पठाएको काठमाडौंको जमलबाट नेपाली सेनासहितको टोलीले बसन्तपुरसम्म ल्याइपुर्याउँछ ।
सो फूलपाती हनुमानढोका भित्राएपछि दशैंको रौनक बढ्ने गर्दछ । फूलपातीको दिनदेखि नै दशैंको सार्वजनिक बिदा पनि सुरु हुने गर्दछ ।
टुँडिखेलमा नेपाली सेनाको बढाइँ
यसैबीच दशैंको फूलपातीको अवसरमा काठमाडौंस्थित टुँडिखेलमा नेपाली सेनाले बढाइँ गरेको छ । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ ।
फूलपाती बढाईं समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, नेपाल सरकारका मन्त्रीहरु तथा सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको छ ।
फूलपाती बढाईं समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको छ ।
सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गर्दछ ।
नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दशैंघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ ।
टुँडिखेलमा फूलपाती बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरुलाई दशैं बिदामा जान अनुमति दिने अभ्यास सेनामा छ ।

प्रतिक्रिया 4