News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुर बोल्ट्सले एनपीएल तेस्रो सिजनअघि मार्की आसिफ शेखलाई रिलिज गर्दै ललित राजवंशीलाई नयाँ मार्की बनाएको छ।
- जनकपुरले अमेरिकी अलराउन्डर हर्मीत सिंहलाई नयाँ कप्तान बनाएको छ, जसमा जिमी नीशम, मोइन अली र इफ्तिखार अहमद पनि अनुबन्ध भएका छन्।
- जनकपुरले अक्सनबाट ८ खेलाडी अनुबन्ध गर्दा प्रमुख रूपमा ब्याटिङ र स्पीनमा जोड दिएको छ, तर पेस बलिङ अझै कमजोर देखिएको छ।
५ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन टोली हो । दोस्रो संस्करणमा ठिक उल्टो नतिजा आयो । जनकपुर जम्मा एक खेल मात्र जित्दै अन्तिम स्थानमा रह्यो ।
मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुरले सुरुवाती दुई सिजनमै ठूलो उतारचढाव बेहोरिसकेको छ । पहिलो च्याम्पियन, च्याम्पियन पछिको सिजनमा अन्तिम स्थान, मार्की प्लेअर भन्दा फरक खेलाडी कप्तान बनाउने, मार्की प्लेअर रिलिज गर्ने, विदेशी खेलाडीलाई कप्तान नियुक्त गर्ने जस्ता विभिन्न विशेषता जनकपुर बोल्टसँग छ ।
जनकपुर मार्की प्लेअरलाई कप्तान नबनाउने पहिलो टिम हो भने मार्की रिलिज गर्ने पनि पहिलो टिम हो । पहिलो सिजनमा विकेटकिपर आसिफ शेख मार्की भएपनि जनकपुरले अनिल शाहलाई पहिलो सिजन कप्तान बनाएको थियो ।
पहिलो संस्करणमा लिगमा दोस्रो भएको जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । तर दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउँदै फाइनल पुगेको जनकपुरले सुदूरपश्चिमसँग बदला लिँदै पहिलो च्याम्पियन बन्यो ।
दोस्रो सिजन जनकपुरले कमजोर प्रदर्शन गर्दा कप्तान परिवर्तन गर्नेदेखि बेन्चमा राख्नेसम्मको काम भयो । तेस्रो सिजनअघि जनकपुरले अझ बोल्ड डिसिजन गर्यो, मार्की तथा राष्ट्रिय टिमकै विकेटकिपर ब्याटर आसिफ शेखलाई रिलिज गर्ने ।
आसिफ रिलिजपछि जनकपुरले स्पीनर ललित राजवंशीलाई नयाँ मार्की प्लेअर बनाएको छ । ललितसँगै अनिल शाह, मयन यादव, आदित्य महता र विकाश आग्रीलाई मात्र जनकपुरले रिटेन गरेको थियो ।

रिटेन र अक्सन
दोस्रो सिजन जनकपुरले ७ खेलाडी रिटेन गरेको थियो । तर तेस्रो सिजनमा भने त्यसमध्ये अनिल र ललित मात्र रिटेन भए भने दोस्रो सिजन अक्सनबाट अनुबन्ध भएका मयन यादव, विकास आग्री र आदित्य महतालाई तेस्रो सिजनमा रिटेन गरेको छ ।
जनकपुरले आसिफसँगै किशोर महतो, रुपेश सिंह, शुभ कंशाकार जस्ता खेलाडीलाई रिलिज गरेको छ । पहिलो सिजन च्याम्पियन बनेपछि जनकपुरले दुई युवा बलर शेर मल्ल र हेमन्त धामीलाई रिलिज गरेको थियो । शेरले दोस्रो सिजन लुम्बिनीबाट खेल्दै लगातार दुई एनपीएल जिते । हेमन्तले पनि सुदूरपश्चिम रोएल्सबाट दोस्रो सिजन खेल्दै राम्रो प्रदर्शन गरे ।
जनकपुरले तेस्रो सिजनका लागि अक्सनबाट सबैभन्दा धेरै ८ खेलाडी अनुबन्ध गरेको छ ।
जनकपुरले अक्सनमा तृतराज दासलाई १५ लाखमा अनुबन्ध गरेको थियो । तृतसँगै जनकपुरले अभिषेक तिवारी, विशाल पटेल, अमरसिंह रौटेला, रित गौतम, सन्तोष कार्की, आशुतोष पाण्डे र विशाल सुस्लिङलाई अनुबन्ध गरेको छ । मुख्य मिडियम पेसरहरु रिलिज गरेको जनकपुरले अक्सनमा भने ब्याटरमा जोड दिएको छ ।
चार विदेशी खेलाडी अनुबन्ध गर्दा समेत जनकपुरमा विशेषज्ञ फास्ट बलर भने छैन ।

हर्मीत नयाँ कप्तान, नीशमको पुनरागमन र मोइन अलीको आगमन
मार्कीसहित घरेलु खेलाडी फेरबदल गरेको जनकपुरले यस पटक विदेशी खेलाडीमा भने उत्कृष्ट अनुबन्ध गरेको छ । टिमले अहिलेसम्म ४ विदेशी अनुबन्ध गरेको छ ।
अघिल्ला दुई सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका अमेरिकन स्पीन बलिङ अलराउण्डर हर्मीत सिंहलाई अनुबन्ध गर्दै नयाँ कप्तान नै बनाएको छ ।
यस्तै पहिलो सिजन जनकपुरलाई च्याम्पियन बनाउन भूमिका खेलेका नीशम फेरि जनकपुर बोल्ट्समा फर्किएका छन् । यस्तै इंग्ल्यान्डका भेट्रान स्पीन अलराउण्डर मोइन अलीललाई समेत जनकपुरले अनुबन्ध गरेको छ भने पाकिस्तानी भेट्रान ब्याटर इफ्तिखार अहमदलाई पनि भित्र्याएको छ ।
जनकपुरले यस पटक एनपीएलमा राम्रो अनुभव बटुलेका दुई खेलाडी हर्मीत र नीशमसँगै अन्तर्राष्ट्रिय स्तरका अनुभवी दुई खेलाडी समेत भित्र्याएको छ । अझै दुई विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी रहेको अवस्थामा जनकपुरको टिम सन्तुलित बनेको छ ।
आसिफलाई रिलिज गरेपनि जनकपुरमा विकेटकिपरको रूपमा अनिल शाह हुनेछन् । यस्तै अक्सनबाट विकेटकिपर सन्तोषलाई भित्र्याएको छ तर सन्तोषले प्लेइङ सेटमा अवसर कति पाउँछन् हेर्न बाँकी छ ।

जनकपुरका चार विदेशी खेलाडीमा तीन जना अलराउण्डर छन् । हर्मीत र मोइनले स्पीन बलिङ गर्दा नीशमले मिडियम पेस बलिङ गर्छन् । यसले गर्दा बलिङमा पनि सहयोग पुग्नेछ । इफ्तिखारले मिडल अर्डरमा ब्याटिङ गर्नेछन् ।
स्पीनरमा नयाँ मार्की ललित राजवंशी पनि हुनेछन् भने आदित्य महता पनि छन् । हर्मीत र मोइन अली हुँदा जनकपुरको स्पीन डिपार्टमेन्ट बलियो देखिन्छ ।
तर पेस बलिङमा भने राम्रा नेपाली खेलाडी छैनन् । रिटेन भएका विकास आग्री र अक्सनबाट आएका अमर सिंह राउटेला पेस बलिङ अलराउण्डर हुन् । तर दुवै पहिलो रोजाइका बलर भने होइनन् । यी दुई मध्ये एक मात्र पहिलो रोजाइमा खेल्न सक्छन् ।
अलराउण्डर नीशमले पेस बलिङ गर्छन् । अब जनकपुरलाई मुख्य पेस बलर आवश्यक देखिन्छ ।
टप अर्डरमा अनिल शाह, मयन यादव छन् । विकल्प रित र सन्तोष पनि छन् । मिडल अर्डरमा तृतराज दास छन् । मिडल अर्डरमा विदेशी खेलाडी मोइन अली, नीशम, इफ्तिखारदेखि हर्मीतसम्म छन् । आवश्यक परे मोइन अलीले ओपनिङ पनि गर्नेछन् ।
जनकपुरको ब्याटिङ र स्पीन बलिङमा विक्लप भएपनि पेस बलिङ भने कमजोर देखिएको छ ।
जनकपुर बोल्ट्स टिम
रिटेन गरिएका खेलाडी : अनिल कुमार शाह, ललित राजवंशी, मयन यादव, विकाश आग्री, आदित्य महता
अक्सनबाट अनुबन्ध गरेको खेलाडी : तृतराज दास, अभिषेक तिवारी, विशाल पटेल, अमरसिंह रौटेला, रित गौतम, सन्तोष कार्की, आशुतोष पाण्डे, विशाल सुस्लिङ
विदेशी खेलाडी : हर्मीत सिंह, इफ्तिखार अहमद, जिमी नीशम, मोइन अली
मुख्य प्रशिक्षक : शिवनराइन चन्द्रपल
प्रशिक्षक : मनोज कटुवाल
प्रतिक्रिया 4