News Summary
Generated by OK AI. Editorially reviewed.- प्यूठानको दिहाल्नामा कात्तिक ७ गतेदेखि लालिगुराँस टी–२० कप खुला क्रिकेट प्रतियोगिता सुरु भएको छ, जसमा २५ टोली सहभागी छन्।
- प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
- २ हजार १३० मिटर उचाइको दिहाल्नामा खेलकुद र पर्यटन प्रवर्द्धन गर्दै स्थानीय प्रतिभा पहिचान गर्ने लक्ष्य आयोजकले राखेको छ।
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)ले राष्ट्रिय स्तरमा क्रिकेटप्रतिको आकर्षण बढाइरहेका बेला प्यूठानको दिहाल्नामा पनि स्थानीय खेल प्रतिभा पहिचान गर्ने उद्देश्यसहित क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ ।
प्यूठानको झिमरुक, नौबहिनी र गौमुखी गाउँपालिकाको संगमस्थल दिहाल्नामा कात्तिक ७ गतेदेखि लालिगुराँस टी–२० कप खुला क्रिकेट प्रतियोगिता सुरु भएको हो । कात्तिक १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५ टोली सहभागी छन् ।
एनपीएलले नेपाली क्रिकेटलाई व्यवसायिक प्रतिस्पर्धा, दर्शकको उत्साह र खेलाडीको प्रतिभा प्रदर्शन गर्ने ठूलो मञ्च प्रदान गरिरहेको छ । त्यसैगरी, दिहाल्नामा आयोजित प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लामा क्रिकेटको आधार बलियो बनाउने अपेक्षा गरिएको छ ।
नेपाल प्रिमियर लिगमा विभिन्न सहर र प्रदेशको प्रतिनिधित्व गर्ने टोली बीच प्रतिस्पर्धा हुन्छ । देशका उत्कृष्ट खेलाडी र विदेशी खेलाडी समेत सहभागी हुने एनपीएलले क्रिकेटलाई मनोरञ्जनसँगै व्यवसायिक अवसरका रूपमा स्थापित गर्न योगदान पुर्याइरहेको छ ।
दिहाल्नाको लालिगुराँस टी–२० कप भने स्थानीय तथा जिल्लास्तरका खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

दुवै प्रतियोगिताको स्वरूप र स्तर फरक भए पनि क्रिकेट प्रतिको आकर्षण बढाउने र खेलाडीको क्षमता उजागर गर्ने उद्देश्यमा समानता देखिने प्रतियोगिता आयोजक संस्था दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रम प्यूठान अध्यक्ष गोविन्द गिरी बताउँछन् ।
एनपीएलले राष्ट्रिय स्तरमा क्रिकेटको माहोल सिर्जना गरिरहेका बेला स्थानीय प्रतियोगिताले त्यही खेल प्रतिको उत्साहलाई गाउँबस्तीसम्म विस्तार गर्न सहयोग पुर्याउने उनको भनाइ छ ।
यस्ता प्रतियोगिताबाट नयाँ खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाउनुका साथै भविष्यमा ठूला प्रतियोगितामा पुग्ने लक्ष्य बनाउन सक्ने गिरीले विश्वास व्यक्त गरे ।
२५ टोलीबीच प्रतिस्पर्धा, विजेतालाई एक लाख
प्रतियोगितामा प्यूठान सहित दाङ, अर्घाखाँची र भैरहवासम्मका टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीलाई पाँच समूहमा विभाजन गरी नकआउट प्रणालीमा प्रतिस्पर्धा गराइँदैछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछ ।
दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
२ हजार १३० मिटर उचाइमा क्रिकेट खेल, पर्यटन प्रवर्द्धनको लक्ष्य
समुद्री सतहदेखि करिब २ हजार १३० मिटर उचाइमा रहेको दिहाल्ना प्राकृतिक सौन्दर्य र पर्यटनका दृष्टिले सम्भावनायुक्त क्षेत्र हो ।

यहाँ प्रस्तावित लालिगुराँस राष्ट्रिय क्रिकेट रंगशालालाई खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य समेत राखिएको छ ।
क्रिकेट प्रतियोगिताले खेलाडी र दर्शकलाई दिहाल्नासम्म आकर्षित गर्न सके यस क्षेत्रको पर्यटकीय पहिचान विस्तारमा सहयोग पुग्न सक्ने लुम्बिनी प्रदेश सभाका सदस्य तुल्सीराम शर्माले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद र पर्यटनलाई एकसाथ जोड्न सके स्थानीय व्यवसाय, होटल तथा अन्य सेवामूलक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्न सक्ने उल्लेख गरे ।
एनपीएलले नेपाली क्रिकेटको व्यवसायिक सम्भावना देखाइरहेका बेला दिहाल्ना जस्ता क्षेत्रका प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको वातावरण निर्माण गर्न सक्ने गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले बताए ।
यहाँको सम्भावनालाई वास्तविकतामा बदल्न नियमित प्रतियोगिता, खेलमैदानको स्तरोन्नति, आवश्यक पूर्वाधार र खेलाडीको निरन्तर प्रशिक्षण महत्वपूर्ण हुने उनको भनाइ छ ।
प्रतिक्रिया 4