News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तकोशीको त्रिशुले घाँघीमा बराहक्षेत्र त्रिवेणी जल यातायात प्रालिको ओबिएम बोट पल्टिँदा ३ जनाको मृत्यु र ३ जना बेपत्ता भएका छन्।
- मृतकमा ५२ वर्षीया लीला राई, पाँच वर्षीया आर्या राई र ५५ वर्षीय रत्नबहादुर नेपाली छन्, बेपत्तामा तीन यात्रु छन्।
- दुर्घटनापछि सप्तकोशीमा चल्ने बोटका सुरक्षा मापदण्ड, लाइफ ज्याकेटको प्रयोग र नियमन अभावमाथि प्रश्न उठेको छ।
१० कात्तिक, विराटनगर । २०६७ साल भदौ २७ गते दिउँसो सप्तकोशी नदीको त्रिशुले घाँघी (चतरा र बराहक्षेत्रको बीच) मा ‘सुम्निमा जेटबोट’ दुर्घटनामा पर्यो ।
बर्खापछि परीक्षणका लागि ९ जनालाई लिएर गएको बोट पल्टिँदा ८ जनाले पौडिएर ज्यान जोगाएका थिए । तर, एक कर्मचारीसहित डुबेको बोटबारे कुनै खबर प्राप्त भएन ।
त्यस घटनाको ठीक १६ वर्षपछि आइतबार सप्तकोशीमै फेरि अर्को मोटरबोट दुर्घटना भयो । भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्र आउँदै गरेको बराहक्षेत्र त्रिवेणी जल यातायात प्रालीको ओबिएम (आउटबोर्ड मोटर) बोट पल्टिँदा तीन जनाको मृत्यु भयो भने तीन जना अझै बेपत्ता छन् । स्थानीयको दाबी अनुसार बेपत्ताको संख्या ४ छ । प्रहरीसम्म भने तीन जनाको परिवार बेपत्ता भएको सूचना लिएर पुगेको छ ।
दुई वर्षयता बराहक्षेत्रबाट भोजपुरको कोप्चेसम्म चल्दै आएको यो बोट बर्खापछि आइतबारबाट मात्रै सञ्चालनमा आएको थियो ।
सुनकोशी, अरुणको दोभानमा इन्जिन बन्द भएर दुर्घटना हुँदा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी ५२ वर्षीया लीला राई, सोही ठाउँकी मानु राईकी पाँच वर्षीया छोरी आर्या राई र भोजपुरको आमचोक गाउँपालिका–९ घर भइ उदयपुरको बेलका बस्दै आएका ५५ वर्षीय रत्नबहादुर नेपालीको मृत्यु भएको हो ।
झापाको कन्काई नगरपालिका– ४ की निता मगरको छोरा ७ वर्षीय शिवक मगर, सुनसरी बराहक्षेत्र– १ की २१ वर्षीय प्रमिला मगर र सोही स्थानकी २२ वर्षीय मनु राई अझै बेपत्ता छन् । बोटमा १५ जना चढेको बताइएको छ । तर, टिकट भने ११ जनाले मात्रै काटेका थिए ।
पछिल्लो १६ वर्षको अन्तरालमा कोशीमा धेरै पानी बग्यो, नेताहरूले पानीजहाजका ठूला सपना पनि बाँडे । तर, सप्तकोशीमा सर्वसाधारणको ज्यान जोखिममा राखेर चलिरहेको जल यातायातलाई नियमन गर्ने सामान्य कार्यविधिसम्म राज्यले बनाउन सकेन ।
नियमन, सुरक्षा मापदण्ड र सरकारी नीतिको अभावमा भएको लापरबाहीको मूल्य निर्दोष यात्रुले ज्यान गुमाएर चुकाउनु परेको छ ।
पोखरीमा चलाउने बोट सप्तकोशीको भेलमा
आइतबारको दुर्घटनापछि सप्तकोशीमा चलिरहेका बोटहरूको प्राविधिक पक्ष र सुरक्षा मापदण्डमाथि प्रश्न उठेको छ ।
आइतबार दिउँसो दुधकोशी र अरुण नदीको दोभानमा बराहक्षेत्र त्रिवेणी जल यातायात प्रालिले चलाउँदै आएको बोटको इन्जिन फेल भएपछि अनियन्त्रित भई नदीको तीव्र बहावमा पल्टिएको थियो ।
सप्तकोशीमा जल यातायात सञ्चालन गरिरहेका व्यवसायीहरूका अनुसार दुर्घटनामा परेको ‘ओबिएम’ बोट नदीको तीव्र बहावका लागि उपयुक्त नै होइन ।
‘यस्ता ओबिएम बोटहरू शान्त पानी भएको पोखरीमा चलाउने गरी डिजाइन गरिएका हुन्छन् । यसको मूल्य पनि सस्तो छ । नदीको तीव्र बहावमा यी प्रभावकारी हुँदैनन्,’ एक व्यवसायी भन्छन्, ‘ यसको पंखा खुला हुन्छ, पानीमुनि ढुङ्गा वा काठ भेटिएमा तत्काल इन्जिन बन्द भइहाल्छ । नदीको भेलका लागि जेटबोटको इन्जिन शक्तिशाली र सुरक्षित हुन्छन्, साना ढुंगा र काठलाई फाल्न सक्छन् ।’

आइतबारको दुर्घटनापछि बराहक्षेत्रबाट कोप्चेतर्फ जाँदै गरेको अर्को मोटरबोटका चालकले नदीमा बगिरहेका यात्रुहरूको उद्धार गरेका थिए ।
चालकसहित १५ जना सवार रहेको उक्त बोटमा लाइफ ज्याकेटको सही प्रयोग नहुँदा मानवीय क्षति बढी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारका अनुसार लाइफ ज्याकेट राम्रोसँग नकसेका यात्रुहरू नदीमा बेपत्ता भएका हुन् ।
‘सबैले लाइफ ज्याकेट लगाएको त देखिन्छ, तर राम्रोसँग नबाँधिएका कारण उनीहरू बगेको पाइयो,’ एसपी रञ्जितकारले भने, ‘मृतक तीन जनाको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाउने प्रक्रियामा छ भने बेपत्ता तीन जनाको खोजी मंगलबार पनि जारी छ ।’
नीति छैन, नियमन पनि छैन
२०६४ सालबाट सप्तकोशीमा व्यावसायिक बोट चल्न थालेको हो । सुम्निमा जल यातायात प्रालिले सप्तकोशीमा व्यावसायिक जेटबोट सेवा सञ्चालन गरेको थियो । २०७३ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाजको सपना देखाएपछि यस क्षेत्रमा बोट सञ्चालन गर्ने होडबाजी नै चल्यो । हाल सप्तकोशीको चतरा, बराहक्षेत्र र बोराबाध क्षेत्रमा एक दर्जनभन्दा बढी बोट सञ्चालनमा छन् ।
तर, कुन नदीमा कस्तो प्रकृतिको बोट चलाउने, सुरक्षाका मापदण्ड के हुने, भाडादर कसले निर्धारण गर्ने र यात्रुको बीमा कसरी गर्ने भन्नेबारे राज्यको निर्देशिका नै छैन ।
धनकुटाका एसपी रञ्जितकार सप्तकोशीमा जल यातायात सञ्चालन सम्बन्धी कुनै स्पष्ट कानूनी व्यवस्था नरहेको बताउँछन् ।
‘सप्तकोशीमा कस्ता बोट चलाउने, कसरी चलाउने, यात्रु सुरक्षा र भाडादर के हुने भन्ने विषयमा कुनै कार्यविधि र निर्देशिका बनेको देखिँदैन,’ उनी भन्छन् । स्पष्ट नीति नहुँदा कारबाही प्रक्रिया कसरी अघि बढाउने भन्ने समस्या छ ।
जल यातायात सञ्चालन गरिरहेका व्यावसायी दिनेश खवास राज्यले स्पष्ट नीति नबनाउँदा कसरी सञ्चालन गर्ने भन्ने अन्योल भएको बताउँछन् ।
‘हामीले बोट चलाइरहेका छौं, तर कहाँ दर्ता गर्ने कहाँ कस्तो बोट चलाउने भन्ने स्पष्ट नीति बनेको छैन,’ उनले भने,‘ नीति बनाउँदा व्यावसायीलाई पनि सहज हुनेथियो ।’ उनका अनुसार बोराबाध पर्यटकीय क्षेत्रमा पानी बोट चलाउनका लागि भने बराहक्षेत्र नगरपालिकाले शुल्क तोकिदिएको छ ।
स्थानीय तह पनि संघीय सरकारको बाटो हेरेर बसिरहेका छन् । बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की संघीय सरकारले कार्यविधि नबनाइदिँदा स्थानीय तवरबाट नियमन गर्न नसकिएको बताउँछन् ।
‘२०८० सालमा हामीले नियमनका लागि पहल गर्दा मन्त्रालयमा विधेयक बनेको देखियो । हामीले यसलाई कसरी नियमन गरौं भन्दा मन्त्रालयबाट ‘पर्यटकीय क्षेत्र हो, अहिले चलाउन दिँदै गर्नु’ भन्ने मौखिक जवाफ आयो,’ नगरप्रमुख कार्कीले भने, ‘ पालिकाले आफैं कार्यविधि बनाए पनि संघीय सरकारको स्पष्ट ऐन नहुँदा कार्यान्वयनमा जटिलता आयो ।’
उनका अनुसार बराहक्षेत्रमा सञ्चालित एक दर्जनभन्दा बढी बोटमध्ये पाँच वटा मात्रै दर्ता छन् । एक दर्शज बढी बोट मध्ये जेटबोट भने दुई वटा मात्रै छन् ।
‘दुर्घटनापछि तत्कालका लागि हामीले बोट सञ्चालन रोकेका छौं । तर, यो क्षेत्रको पर्यटन र पहाडी भेगको आवागमन नै बोटमा निर्भर रहेकाले धेरै समय रोक्न पनि सकिन्नँ,’ कार्की थप्छन्, ‘यो समस्या सप्तकोशीको मात्र होइन, देशैभरिको हो । संघीय सरकारले तत्काल कार्यविधि बनाएर सुरक्षित वातावरण बनाउनुपर्छ ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७५ सालमा पानी जहाजको नियमन गर्नका लागि नेपाल पानी जहाज कार्यालय गठन गरेको थियो ।
ऐन र नियमावली नहुँदा ८ वर्षयता कार्यालय कर्मचारी भएपनि निस्क्रीय छ । कार्यालयका निमित्त रजिष्ट्रार राजन प्रधान ऐनको मस्यौदा र नियमावली बनेपनि पास नहुँदा जल यातायातलाई नियमन गर्न नसकिएको बताउँछन् ।
उनका अनुसार पानीजहाज ऐन (मस्यौदा) २०८० मा बनेको थियो, पानी जहाज दर्ता नियमावली ड्राफ्ट भएको छ ।
‘ऐन र नियमावली ड्राफ्ट भएको छ, अघिल्लो संसदमा लैजाने तयारी हुँदा संसद विघटन भयो,’ उनी भन्छन्,‘ अहिले फेरि लैजाने तयारी छ, ऐन बनेपछि हाम्रो कार्यालयले हेर्छ, अहिले हामीले केही गर्न सक्ने अवस्था छैन ।’
पानीबोट र जेट बोट सञ्चालनका लागि देशैभर समस्या रहेको बताउँदै उनले ऐन बनेपछि मात्रै नियमन गर्न सहज हुने बताए ।
पहाडको लाइफलाइन तर जोखिमको यात्रा
चतराका स्थानीय पत्रकार तथा पर्यटन अभियन्ता भीषण राईका अनुसार चतरा र बराहक्षेत्रको पर्यटन जलयात्रासँग जोडिएको छ ।
‘बोराबाध र चतरा पुलदेखि त्रिशुले घाँघीसम्म आन्तरिक पर्यटकका लागि बोट चल्छन्, भोजपुरको कोप्चेसम्म यात्रु ओसार्न जेटबोट पनि प्रयोग भइरहेका छन्,’ राई भन्छन्, ‘यसले भोजपुर र धनकुटाका दुर्गम नदी किनारका बस्तीहरूलाई तराईसँग जोड्ने सजिलो माध्यम बनाएको छ । तर,सुरक्षाको कुनै ग्यारेन्टी छैन ।’
जलयातायात सञ्चालन गर्दै आएका दिनेश खवास जेटबोटले तीन घण्टाको सडक यात्रालाई १५ मिनेटमा छोट्याएको बताउँछन् ।
२०६४ सालमा सुम्निमा जल यातायात प्रालिले व्यावसायिक रूपमा सुरु गरेको यो यात्रा २०६७ मा सुम्निमा जहाज दुर्घटनापछि केही समय रोकिए पनि पछि फेरि नयाँ कम्पनीहरू थपिँदै गए । तर, १६ वर्षअघिको दुर्घटनाबाट न व्यवसायीले पाठ सिके, न त सरकारले नै नियमनको चासो देखायो ।
‘सप्तकोशी धार्मिक पर्यटन र पहाडी बस्तीको छिटो यातायातका लागि ठूलो सम्भावना भएको जलमार्ग हो,’ बृहत्तर बराहक्षेत्र विकास समितिका कार्यकारी निर्देशक अभिजाल विष्ट भन्छन्, ‘ओबिएमको दुर्घटनाले ठूलो पाठ सिकायो, अब कुन ठाउँमा कस्तो चलाउने भन्ने स्पष्ट कार्यविधि राज्यले बनाउनुपर्छ ।’
उनी अब पानीको बहाव भएको स्थानमा ओबिएम चलाउन रोक्नु पर्ने बताउँछन् । ‘जेटबोट ३५ फिट लामो हुन्छ, अग्लो पनि हुन्छ, ओबिएम भने १०–१२ फिट मात्रै हुन्छ, उचाई पनि कम हुन्छ,’ उनले भने,‘ दुर्घटनापछि कार्यविधि नबनेसम्म सुरक्षा निकायसँगको समन्यवमा अहिले बोट सञ्चालन गर्न रोकेका छौं ।’
प्रतिक्रिया 4