+
एनपीएल २०२६ :

राहुलको शानदार डेब्यू तर युनिशको तिखो वाणमा झुक्यो जनकपुुर

२०८३ कात्तिक  १० गते २२:५३ २०८३ कात्तिक १० गते २२:५३

कर्णालीको जितमा युवा बलर युनिशले निर्णायक भूमिका खेले। उनले जनकपुरका कप्तान हर्मीत सिंह र जिमी नीशमजस्ता प्रमुख ब्याटरलाई आउट गर्दै खेल कर्णालीको पक्षमा मोडे।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली याक्सले मंगलबार भएको एनपीएल खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै विजयी सुरुवात गरेको छ।
  • युवा बलर युनिशविक्रम सिंह ठकुरीले जनकपुरका हर्मीत सिंह र जिमी नीशमसहित तीन विकेट लिएर खेल कर्णालीतर्फ मोडे।
  • जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले डेब्यूमै चार ओभरमा १५ रन दिएर दुई विकेट लिए पनि टोली १९.३ ओभरमा ११३ रनमै अलआउट भयो।

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत मंगलबार भएको दोस्रो खेल दुई युवा बलरका कारण सबैभन्दा चर्चित बन्यो ।

पहिलो थियो, जनकपुरका आइकोनिक प्लेयर राहुल यादवको डेब्यूमै यादगार प्रदर्शन, अनि अर्को थियो कर्णालीका युवा बलर युनिशविक्रम सिंह ठकुरीको गेम चेन्जिङ बलिङ । खेलको नतिजा तिनै युनिशको बलिङमा नै निर्भर बन्यो ।

युवा बलर युनिशविक्रम सिंह ठकुरीसहित हुसेन तलतको शानदार बलिङसँगै कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गर्‍यो । १३३ रनको लक्ष्य डिफेन्ड गर्दा जनकपुरलाई १९.३ ओभरमा ११३ रनमै अलआउट गर्दै कर्णालीले जित निकालेको हो।

टस जितेर बलिङ रोजेको जनकपुरले कर्णालीलाई २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रनमा रोकेको थियो। तर, जवाफी ब्याटिङमा जनकपुरका ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा टोली लक्ष्यभन्दा १९ रन पछाडि रह्यो।

कर्णालीको जितमा युवा बलर युनिशले निर्णायक भूमिका खेले। उनले जनकपुरका कप्तान हर्मीत सिंह र जिमी नीशमजस्ता प्रमुख ब्याटरलाई आउट गर्दै खेल कर्णालीको पक्षमा मोडे।

यस्तै पाकिस्तानी बलिङ अलराउन्डर हुसेन तलतको बलिङ पनि राम्रो रह्‍यो । उनले पनि ४ ओभरमा २७ रन दिएर ३ विकेट लिएका थिए । हुसेनले मोइन अली, कुसल परेरा र अभिषेक तिवारीको विकेट लिएका थिए ।

सो क्रममा युनिशको धनुष वाण सेलेब्रेसन पनि चर्चामा रह्‍यो । उनले तीन विकेटमा तीन फरक दिशामा फर्किएर वाण हानेको सेलेब्रेसन गरेका थिए । कर्णालीकै खेलाडी रहेका युनिशले सबै कर्णालीवासीको तर्फबाट भएको उनले बताए ।

‘त्यो म्यासेज चाहिँ कर्णाली पनि खेल्न सक्छ, हामी पहाडमा बसेकोले पनि सपना देख्न सक्छौं, खेल्न सक्छौं भन्ने हिसाबको एउटा सिम्पल म्यासेज थियो’ सेलेब्रेसनबारे उनको भनाइ यस्तो थियो ।

यता, जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले डेब्यू खेलमै प्रभावशाली बलिङ गर्दै चार ओभरमा १५ रन दिएर दुई विकेट लिएका थिए ।

अरिफुल र पवनको ब्याटिङमा मध्यम योगफल

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले सुरुमै विकेट गुमाएको थियो। पहिलो ओभरमै मोइन अलीको बलमा मार्क वाट आउट भए। त्यसपछि अर्का ओपनर अरिफुल इस्लामले केही आकर्षक सट खेल्दै इनिङ सम्हाल्ने प्रयास गरे।

अरिफुलले ४३ रन बनाए। उनलाई हर्मीत सिंहले १३औं ओभरको पहिलो बलमा आउट गरे। सोही ओभरको चौथो बलमा अर्का बंगलादेशी खेलाडी अक्बर अली पनि आउट भएपछि कर्णाली दबाबमा परेको थियो।

त्यसपछि पवन सर्राफले इनिङ सम्हाल्दै टोलीको स्कोर उकासे। १७ ओभरमा १०४ रन बनाउँदा सात विकेट गुमाइसकेको कर्णालीका लागि पवनले अन्तिम ओभरहरूमा रन थपे।

उनले ललित राजवंशीको १९औं ओभरमा दुई छक्का प्रहार गरे। सोही ओभरमा पवन आउट भए पनि उनको आक्रामक ब्याटिङले कर्णालीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याउन मद्दत गर्‍यो।

जनकपुरका लागि राहुल यादवको बलिङ विशेष रह्यो। डेब्यू खेलमा तेस्रो ओभरमा बलिङ गर्न आएका उनले पहिलो बलमै दीपक डुम्रेलाई बोल्ड गरे। उक्त ओभरमा उनले एक रन मात्र खर्चिए।

पाँचौं ओभरमा फेरि बलिङमा आएका राहुलले पाकिस्तानका हुसेन तलतलाई आउट गरे र त्यस ओभरमा पनि एक रन मात्र दिए।

केही वाइडका कारण उनको इकोनोमी बढे पनि राहुलले अधिकांश बलमा ब्याटरलाई रन बनाउन दिएनन्। उनले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए।

युनिशको बलिङले रोकियो जनकपुरको जितको प्रयास

१३३ रनको लक्ष्य पछ्याएको जनकपुरले पावरप्लेभित्रै दुई विकेट गुमायो। दोस्रो ओभरको दोस्रो बलमा ओपनर तृतराज दास सोमपाल कामीको बलमा आउट भए। अर्का ओपनर मयन यादवले तेस्रो ओभरमा पवन सर्राफलाई दुई छक्का प्रहार गरे। तर, चौथो बलमा रनका लागि अघि बढेर फर्कने क्रममा उनी रनआउट भए।

मोइन अलीले केही सुस्त गतिमा ब्याटिङ गर्दै इनिङ सम्हाल्ने प्रयास गरेका थिए। सातौं ओभरमा अनिल साह आउट भए। त्यसपछि १०औं ओभरको दोस्रो बलमा हुसेन तलतले मोइनलाई आउट गरे।

मोइनले २२ बलमा १९ रन बनाए। सोही ओभरमा कुसल परेरा पनि आउट भएपछि जनकपुर १० ओभरमा ५८ रन जोड्दा पाँच विकेट गुमाएको अवस्थामा पुग्यो।

त्यसपछि जिमी नीशम र कप्तान हर्मीत सिंहले साझेदारी गर्दै जनकपुरलाई जिततर्फ अघि बढाउने प्रयास गरे। तर, युनिशले १४औं ओभरमा हर्मीतलाई आउट गर्दै ३१ रनको साझेदारी तोडे। हर्मीतले युनिशकै बलमा रिटर्न क्याच दिएका थिए।

युनिशले त्यसपछि पनि दबाब कायम राखे। १६औं ओभर बलिङ गर्न आएका उनीविरुद्ध जिमी नीशम ठूलो सट खेल्ने प्रयासमा चुके। उनको ब्याटबाट निस्किएको बलमा अरिफुल इस्लामले डिप मिडविकेटमा उत्कृष्ट क्याच लिए। हर्मीत र नीशमको विकेटपछि जनकपुरको जितको सम्भावना कमजोर बन्दै गएको थियो।

त्यसपछि अभिषेक तिवारीले केही आक्रामक सट खेले पनि जनकपुरलाई जिताउन सकेनन्। जनकपुर १९.३ ओभरमा ११३ रनमा समेटियो। कर्णालीको जितमा युनिशको तीन विकेट निर्णायक बन्यो।

खेल जिताउन निर्णायक भूमिका खेलेका युनिशले योजना अनुसार सटिक बलिङ गर्न सक्दा सफलता आएको बताए । ‘ब्याटिङमा को छ भन्दा पनि आफ्नो प्लान अनुसार बलिङ गर्दा विकेट आउँछ भन्ने थियो, सोमपाल दाईले भन्नुभएको थियो बाउन्ड्री रोक्यौं भने मोमेन्टम आउँछ भनेर, मैले त्यही योजना अनुसार विकेट टु विकेट बलिङ गरें, त्यसको नतिजा पनि राम्रो भयो’ युनिशले भने ।

हारपछि जनकपुरका कप्तान हर्मीतले नेपालसँग सम्बन्धित हरेक खेलमा निकै क्लोज मार्जिन हुने गरेको बताए । ‘खेल निकै राम्रो भएको थियो, नेपालको खेल सधैं क्लोज मार्जिनको हुन्छ । ब्याटिङमा हामी चुकेका हौं । म र नीशममध्ये एक अन्तिमसम्म रहेको भए सायद गेम फिनिस गर्थ्यौं होला’ हर्मीतले भने ।

उनले खेलका केही सकारात्मक पक्षहरू पनि रहेको र एक हारले मनोबल कमजोर नभएको बताउँदै आगामी खेलमा कमब्याक गर्ने बताए ।

एनपीएल २०२६ कर्णाली याक्स जनकपुर बोल्ट्स युनिशविक्रम सिंह ठकुरी

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय