News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सीता थपलिया (उर्मिला)को डेरामा चोरीको आरोपमा चार भारतीयलाई पक्राउ गरेको छ।
- प्रहरीका अनुसार पक्राउ पर्नेमा बिहारका विकास पोदार, राजु पोदार, राजेन्द्र कुमार र विणा देवी छन्, जसमा विणा र विकास आमाछोरा हुन्।
- उनीहरूले कलंकीका तीन घरमा चोरी गरेको पाइएको छ, र प्रहरीले ३२ थान सुनचाँदीका गरगहना तथा भाँडावर्तन बरामद गरेको छ।
११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी सीता थपलिया (उर्मिला)को डेरामा चोरी भएको छ ।
चोरी आरोपमा प्रहरीले चार भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय लल्लु पोदार भनिने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये विणा र विकास आमाछोरा रहेको प्रहरीले बताएको छ ।
उनीहरूले कलंकीको तासिङडोलमार्ग स्थित किसन सिंह बस्नेतको घर र उक्त घरमा डेरा लिई बस्ने सांसद थपलियाको डेराकोठाका साथै कलंकीकै रंजित कोलोनीस्थित निरन्जन नेपालको घरमा चोरी गरेको पाइएको प्रहरीले बताएको छ ।
सुर्खेतबाट ५ कात्तिकमा काठमाडौं आएर कोठा पुग्दा चोरी भएको थाहा पाएपछि सांसद थपलियाले प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरू चोरीको सामान पोका पारेर भारत जाने तयारीमा रहेको अवस्थामा पक्राउ परेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रामेश्वर कार्कीले बताए ।
उनीहरूले सुनचाँदीका गरगहनादेखि वाइनसमेत चोरी गरेर लगेको पाइएको प्रहरीले बताएको छ । दशैंको टार्गेट गरेर उनीहरुले चोरी गरेको र सामान भने भारत लगेर बेच्ने तयारीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरूबाट प्रहरीले विभिन्न आकार प्रकारका ३२ थानका सुनचाँदीका गरगहना तथा भाँडावर्तन बरामद गरेको छ ।
प्रतिक्रिया 4