+

हरेक बिहान आलस्य महसुस हुन्छ ? यस्ता छन् कारण

२०८३ कात्तिक  ११ गते १६:५७ २०८३ कात्तिक ११ गते १६:५७
हरेक बिहान आलस्य महसुस हुन्छ ? यस्ता छन् कारण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्याप्त निद्रा पाएपछि पनि टाउको भारी हुने, निद्रा लागिरहने वा आलस्य महसुस हुने समस्या सामान्य नहुन सक्ने लेखमा उल्लेख छ।

बिहान निद्राबाट ब्युँझिएपछि ओछ्यान छोड्न मन लाग्दैन ? बारम्बार अलार्म बन्द गरेर केहीबेर अझै सुत्न मन लाग्छ ? पर्याप्त निद्रा लिएपछि पनि टाउको भारी हुने, निद्रा लागिरहने वा आलस्य महसुस हुने समस्या सामान्य नहुन सक्छ ।

सात–आठ घण्टा सुतेपछि पनि ताजगी महसुस हुँदैन भने आफ्ना केही बानीप्रति सचेत हुनुपर्छ ।

लामो समयसम्म बसेर काम गर्ने, अत्यधिक समय मोबाइल तथा अन्य स्क्रिनमा बिताउने, शारीरिक गतिविधिबाट टाढा रहने र तनाव कम गर्न धूमपान वा मदिरा सेवन गर्ने बानीले यस्तो समस्या निम्त्याउन सक्छन्।

यी बानी आधुनिक जीवनशैलीको हिस्सा बनिसकेका छन् र तिनबाट टाढा रहन गाह्रो हुन सक्छ । तर समयमै ध्यान नदिएमा विभिन्न रोगसमेत निम्तिन सक्छन्।

त्यसैले निम्न कुरामा विशेष ध्यान दिनुपर्छ:

निद्राको गुणस्तर राम्रो छैन कि ?

आठ घण्टा निद्रा पूरा हुँदैमा बिहान उठ्दा शरीर फुर्तिलो र ताजा महसुस हुन्छ भन्ने छैन । हल्लाखल्ला हुने वातावरण, असहज ओछ्यान, अनियमित समयमा सुत्ने बानी, सुत्नुअघि क्याफिनयुक्त पदार्थ सेवन गर्ने, मोबाइल वा अन्य स्क्रिन हेर्ने तथा सुत्नुअघि नै कसरत गर्ने जस्ता कुराले निद्रामा बाधा पुर्‍याउन सक्छन् ।

त्यसैले यस्ता बानीबाट टाढा रहनुपर्छ, ताकि पर्याप्त समय सुत्नुका साथै गुणस्तरीय निद्रा पनि प्राप्त होस्।

शरीरमा पानीको कमी त छैन ?

शरीरले लिनेभन्दा बढी तरल पदार्थ गुमाउँदा पानीको कमी हुन्छ । रातिको समयमा पनि शरीरमा पानीको कमी हुन सक्छ । धेरै पसिना आउनु, धेरै पिसाब लाग्नु, कुनै स्वास्थ्य समस्या भएमा शरीरमा पानीको मात्रा छिटो घटाउन सक्छ ।

पिसाबको रङ निकै हल्का पहेँलो वा लगभग सफा छ भने शरीरमा पर्याप्त पानी पुगेको सङ्केत हुन सक्छ ।

पोषणको कमी

यदि तपाईंलाई सधैँ आफूलाई मन पर्ने खानेकुरा मात्र खान मन लाग्छ भने यसले सन्तुलित आहारको कमी निम्त्याउन सक्छ । शरीरले पर्याप्त पोषण नपाउँदा दिनभरि हाई आउने वा ऊर्जाको कमी महसुस हुन सक्छ।

विशेषगरी भिटामिन बी१२ र भिटामिन डीको कमीले थकान तथा कमजोरी महसुस हुन सक्छ।

शारीरिक सक्रियताको कमी

शारीरिक निष्क्रियता र निद्राबीच गहिरो सम्बन्ध छ । यदि तपाईं कसरत गर्नबाट टाढा रहनुहुन्छ वा पर्याप्त शारीरिक गतिविधि गर्नुहुन्न भने रातिको निद्राको गुणस्तर घट्न सक्छ र दिनभरि सुस्ती रहन सक्छ।

हरेक दिन कम्तीमा ३० मिनेटका दरले सातामा पाँच दिन, अर्थात् कुल १५० मिनेट व्यायाम गर्ने प्रयास गर्नुहोस् । योग र ध्यानलाई पनि आफ्नो दिनचर्यामा समावेश गर्न सकिन्छ।

तनावको स्वस्थ व्यवस्थापन नहुनु

तनावका कारण निद्रा कम लाग्न सक्छ वा निद्रा नै नलाग्ने समस्या हुन सक्छ । त्यसैले तनावलाई स्वस्थ तरिकाले व्यवस्थापन गर्नुपर्छ ।

बिहान उठेर हिँड्ने, सङ्गीत सुन्ने र आफूलाई मन पर्ने गतिविधिमा सहभागी हुने जस्ता उपाय उपयोगी हुन सक्छन्। यस्ता उपाय अपनाउँदा पनि तनाव कम भएन भने विशेषज्ञसँग परामर्श गरी उहाँले दिएको सुझाव पालना गर्नुहोस्।

थकानलाई बेवास्ता गर्नुहुँदैन

थकान वा ऊर्जाको कमीलाई मानिसहरूले प्रायः बेवास्ता गर्छन् । कुनै विशेष समस्या वा रोग नदेखिएसम्म मानिसहरू गम्भीर हुँदैनन् । तर यस्ता समस्यालाई बेवास्ता गर्नु बिरामी पर्ने एउटा महत्त्वपूर्ण कारण हुन सक्छ।

राति ढिलो खाना खाने, खानामा पर्याप्त पोषण नहुने, निद्रा पूरा नहुने र शारीरिक सक्रियताको कमी हुनेजस्ता समस्या एकअर्कासँग सम्बन्धित छन् । यीमध्ये कुनै एउटालाई पनि बेवास्ता गर्दा शरीरको ऊर्जा घट्ने र तनाव बढ्ने हुन सक्छ । समयमै ध्यान नदिएमा स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्छन्।

थकान आफैँमा रोग नभएर शरीरमा केही गडबडी भइरहेको सङ्केत पनि हुन सक्छ । यसले आफ्नो दैनिक दिनचर्या सुधार्नुपर्ने आवश्यकता औँल्याउँछ।

यी सुझाव पालना गर्नुपर्छ

– राति सुत्नुअघि एक घण्टा र बिहान उठेपछि एक घण्टासम्म मोबाइल वा अन्य स्क्रिन प्रयोग नगर्ने

– तनाव कम गर्न आफूलाई मन पर्ने काम गर्ने

– शारीरिक रूपमा सक्रिय रहने, नियमित कसरत र योगले निद्राको गुणस्तर सुधार्न मद्दत गर्न सक्छ।

– टाउको भारी हुने वा थकान भइरहने समस्या थाइराइडसम्बन्धी रोग र मधुमेहजस्ता अन्तःस्रावी समस्याका कारण पनि हुन सक्छ। जोखिम वा अन्य लक्षण देखिएमा
चिकित्सकको सल्लाहअनुसार जाँच गराउनुहोस्।

यी स्वास्थ्य समस्या पनि हुन सक्छ

रक्तअल्पता

यसले शरीरका विभिन्न अङ्गमा अक्सिजन पुर्‍याउने रगतको क्षमतालाई घटाउन सक्छ, जसका कारण थकान र कमजोरी महसुस हुन सक्छ।

अटोइम्युन रोग

यस्ता रोगले शरीरको मेटाबोलिक प्रक्रिया र निद्राको ढाँचामा असर पार्न सक्छन्।

मिर्गौलाको समस्या

मिर्गौलाले राम्ररी काम नगर्दा रगतमा विषाक्त पदार्थ जम्मा हुन सक्छन्, जसले थकान निम्त्याउन सक्छ।

रजोनिवृत्ति

महिलाहरूले रजोनिवृत्तिको समयमा पनि कमजोरी वा थकान महसुस गर्न सक्छन्।

आलस्य निद्रा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय