+
+
Shares

सेयर बजारमा बैंकिङ सूचक २ वर्षकै उच्च, २ महिनामै २५ प्रतिशतसम्म नाफा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १८:०२

११ कात्तिक, काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनीलाई विभिन्न १२ समूहमा विभाजन गरी तिनीहरूको सूचक गणना हुने गरेको छ ।

यी १२ समूहगत सूचकमध्ये १९ वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने बैंकिङ सूचक यतिबेला २ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । १२ समूहगत सूचकमध्ये सबैभन्दा राम्रो प्रदर्शन बैंकिङ समूहले नै गरेको छ ।

यो समूहको सूचक १५८२ अंकमा रहेको छ । जुन अंक २ वर्षयताकै उच्च हो । २०८० कात्तिक ४ गते बैंकिङ सूचक १५९० अंकमा रहेको थियो, त्यसयताको उच्चतम अंक बुधबार कायम भएको छ ।

बैंकिङ समूह विगत दुई महिनादेखि उच्च दरले बढेको छ । भदौ १० गते १४२६ अंकमा रहेको यो सूचक दुई महिनामै १०.९३ प्रतिशत बढेको छ । यही अवधिमा नेप्से परिसूचक जम्मा ४.१४ प्रतिशत बढेको छ ।

दुई महिनामा बैंकिङ समूह १० प्रतिशत बढे पनि कुनै बैंकको मूल्य २५ प्रतिशतसम्म बढेको छ । त्यति मात्रै होइन, लाभांश घोषणा गरिसकेका बैंकको लाभांश पनि पाकिसकेको छ ।

सिद्धार्थको २० प्रतिशत (१० नगद र १० बोनस सेयर), एभरेस्टको १५ प्रतिशत (१० नगद र ५ बोनस), नबिलको १५.८ (१०.८ नगद र ५ बोनस), सानिमाको १० प्रतिशत नगद, ग्लोबल आईएमईको १० प्रतिशत (६ नगद र ४ बोनस), माछापुच्छ्रेको ६ प्रतिशत (३ नगद, ३ बोनस), सिटिजन्सको ३.८ प्रतिशत सेयर बोनस, कुमारीको २.१० नगद लाभांश लगानीकर्ताले पाइसकेका छन् ।

यी सबै बैंकको सो लाभांश मूल्यमा समायोजन भइसकेको छ । यो लाभांशबाहेक मूल्यवृद्धिको लाभ लगानीकर्ताले पाएका छन् । साथै लाभांश घोषणा नगरेका बैंकको मूल्यबाट पनि लगानीकर्ताले राम्रो लाभांश पाएका छन् ।

२ महिनामा कुन बैंकका लगानीकर्ताले कति नाफा कमाए ?

बैंक मूल्य भदौ १० मूल्य कात्तिक ११ वृद्धिदर
कृषि विकास २९६ ३३८.९० १४.४९%
सिटिजन्स १९४ २१८ १२.३७%
एभरेस्ट ७३० ७२१ १५% लाभांश समायोजित
ग्लोबल आईएमई २४३.१० २५५.९० १०% लाभांश समायोजित
हिमालयन १८९.५० २०४.७० ८.०२%
इन्भेस्टमेन्ट मेगा १८३.३० २०७.४० १३.१४%
कुमारी २१२.५० २४० १२.९४%
लक्ष्मी सनराइज २१६.९० २७३ २५.८६%
माछापुच्छ्रे २४८ २७७ ११.६९%
नबिल ५३६.८० ५४५ १५% लाभांश समायोजित
नेपाल २७१.७० ३०६ १२.६२%
नेपाल एसबीआई ३९९ ४३८ ९.७७%
एनआईसी एसिया ३०८ ३२० ३.८९%
एनएमबी २३७.५० २७४ १५.३६%
प्राइम कमर्सियल २३७.८० २७३.८० १५.१३%
प्रभु १७९ १९१.३० ६.८७%
सानिमा ३६५ ४०९.४०  १०% लाभांश समायोजित
सिद्धार्थ ४०८.५० ४३६ २०% लाभांश समायोजित
स्ट्यान्डर्ड चार्टर्ड ६४४ ६८० ५.५९%

बैंकको सेयर तुलनात्मक रुपमा सस्तो रहेकाले पनि यसप्रति आकर्षण बढेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । ‘लगानीका लागि हेरिने एउटा प्रमुख सूचक मूल्य आम्दानी अनुपात (पीई रेसियो) हो, जुन वाणिज्य बैंकहरूको सबैभन्दा कम छ, यसले गर्दा बैंकको सेयर लगानीका लागि अझै उपयुक्त देखिएको छ’ उनले भने । एक कित्ता सेयरले गर्ने आम्दानी र त्यसको बजार मूल्यलाई पीई रेसियोले जनाउँछ ।

संस्थागत लगानीकर्ता पनि वाणिज्य बैंकका सेयरमै आकर्षित हुने गरेको उनले बताए । ‘लाभांश दिने, स्थिर र बलिया कम्पनी संस्थाका रोजाइमा पर्छन्, त्यसका लागि वाणिज्य बैंक उपयुक्त छन्’ उनले भने ।

बैंकहरूको वित्तीय विवरणमा त्यति धेरै प्रगति नदेखिए पनि अब थप बिग्रिने अवस्था नआउने लगानीकर्ताको अपेक्षा छ । खासगरी नउठेको साँवा, ब्याज उठाउन नसक्दा बैंकहरूको निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्ति अझै पनि उच्च छ । जसले वितरणयोग्य नाफामा केही वर्षदेखि नै असर देखिँदै आएको छ ।

तर विगतमा नउठेको साँवा, ब्याज अशुली बढ्ने अनुमान बैंकहरूको छ । जसको असर सेयर लगानीकर्ताको लाभांशमा परिरहेको छ । माछापुच्छ्रे बैंकका डीसीईओ प्रसिद्धराज अर्याल अहिले लाभांश कम हुनुका दुई मुख्य कारण रहेको बताउँछन् । उनका अनुसार पहिलो, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर घट्नु र आम्दानी घट्नु हो । दोस्रो– खराब कर्जा बढ्दा सम्भावित नोक्सानी व्यवस्थामा धेरै रकम छुट्याउनुपर्ने बाध्यता हो ।

‘तर, प्रोभिजनिङमा गएको रकम हराएको होइन, त्यो ब्यालेन्स सिटमै रहन्छ, रिकभरी फेज आएपछि त्यसको प्रतिफल लगानीकर्ताले पछि पाउँछन्’ उनले भने । यसरी असुली हुने रकम नाफामा देखिने मात्रै होइन, लगानीकर्तालाई लाभांश वितरण योग्य हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?