News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीबारे भ्रामक, भ्रमपूर्ण र तथ्यहीन सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
- मन्त्रालयले मलेसिया सरकारका निकायसँग श्रम तथा रोजगार नीतिअनुसार निरन्तर कूटनीतिक संवाद भइरहेको जनाएको छ ।
- नेपाल सरकार पारदर्शी, निष्पक्ष र दुवै देशलाई मान्य भर्ना प्रणाली विकास गर्न सकारात्मक रहेको मन्त्रालयले जनाएको छ ।
११ कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मलेसिया रोजगारी सम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
वैदेशिक रोजगारी जस्तो संवेदनशील विषयमा सत्य–तथ्यविनाका सूचनाले आमनागरिक तथा सरोकारवालामा अन्योल सिर्जना गर्न सक्ने भन्दै मन्त्रालयले सम्बन्धित सबैलाई यथार्थपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे नेपालले अवलम्बन गरेको श्रम तथा रोजगार सम्बन्धी नीति, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय श्रम सम्झौता र अन्तर्राष्ट्रिय कानुन परिधिभित्र रही मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद भइरहेको छ ।
दुवै देशबीचको संवाद मार्फत यस विषयलाई यथाशीघ्र टुंगोमा पुर्याउने पक्षमा नेपाल सरकार रहेको प्रतिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
नेपालको संविधान, प्रचलित कानुन र श्रम सम्झौता विपरीत हुने प्रणाली तथा पद्धतिले श्रमिकको दीर्घकालीन हित संरक्षण गर्न नसक्ने मन्त्रालयको भनाइ छ ।
नेपाली श्रमिकको हित संरक्षण गर्दै नेपाल र मलेसियाबीचको श्रम आप्रवासन व्यवस्थित, पारदर्शी, वस्तुनिष्ठ, न्यायोचित तथा पारस्परिक हितमा आधारित बनाउन सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै निष्पक्ष कामदार छनोट तथा भर्ना प्रणाली सुनिश्चित गर्ने विषयमा नेपाल सरकार पूर्णरूपमा सचेत रहेको पनि मन्त्रालयले जनाएको छ ।
नेपालको संविधान, कानुनी व्यवस्था तथा नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौता समेतका आधारमा दुवै सरकारलाई मान्य हुने पारदर्शी र निष्पक्ष भर्ना प्रणाली विकास गर्न नेपाल सरकार सकारात्मक रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4