+
+
Shares

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

‘तिहारको खर्च जुटाउन पनि गाह्रो भएकाले गाउँका व्यापारीलाई प्रतिक्वीन्टर तीन हजार रुपैयाँका दरले बिक्री गरिरहेका छौँ ।’

रासस रासस
२०८३ कात्तिक १४ गते १८:२७
फाइल तस्वीर

१४ कात्तिक, दाङ । धान काटेर घरमा भण्डारणका लागि उपयुक्त ठाउँ नभएको भन्दै यहाँका किसानले सस्तो मूल्यमा बिक्री गरिरहेका छन् ।

तिहारका लागि खर्च व्यवस्थापन गर्न तथा भण्डारणको समस्या भएपछि खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तोमा किसानले धान बेचिरहेका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्वीन्टल तीन हजार ६६० रुपैयाँ र मध्यमको  तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले निर्धारण गरेको मूल्यभन्दा ५०० देखि ६०० रुपैयाँसम्म सस्तो दरमा व्यापारीले धान खरिद गरिरहेका दङ्गीशरण गाउँपालिका–३ रावत गाउँकी किसान माइली चौधरीले बताइन् ।

‘यस वर्ष धान प्रशस्त फलेको छ । खाद्यले उत्पादित धान कहिल्यै खरिद गर्दैन, घरमा भण्डारण गर्ने ठाउँ पनि छैन,’ उनले भनिन्, ‘तिहारको खर्च जुटाउन पनि गाह्रो भएकाले गाउँका व्यापारीलाई प्रतिक्वीन्टर तीन हजार रुपैयाँका दरले बिक्री गरिरहेका छौँ ।’

उनले सरकारले प्रत्येक वर्ष महँगो मूल्यमा धान खरिद गर्छ भन्ने सुनेको बताउँदै अहिलेसम्म यहाँ कोहीपनि किसानले सो मूल्यमा धान बिक्री नगरेका दाबी गरिन ।

स्थानीय सरकाले चाँसो नदिँदा आफूहरुले व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएको सोही गाउँका नवीन अधिकारीले बताए । ‘अर्नब चक्रवताका कारण आफूसहित गाउँका धेरै किसानले बिहीबार रातभरि थ्रेसर उपकरणको प्रयोग गरी धान तयार गरेर खेतबाटै प्रतिक्विन्टल तीन हजार १०० रुपैयाँका दरले स्थानीय व्यापारीलाई बिक्री गरिहेका छन्,’ उनले भने, ‘वर्षभरिको मिहिनेतलाई किसानले घाटा खाएर बेच्न बाध्य भएका छौँ ।’

अधिकांश मध्यम र निम्नस्तरका किसानले भर्खरै भित्र्याइएको धान बिक्री गरेर चाडपर्व मनाउने खर्च जुटाउन सस्तोमा बिक्री गरिरहेका अधिकारीको भनाइ छ । सरकारले धानको समर्थन मूल्य तोके पनि व्यापारीले आफू खुसी मूल्य राखेकाले किसान मर्कामा परेका उनले बताए ।

उनका अनुसार दाङको देउखुरीमा क्षेत्रमा भने अधिकांश किसानले दसैँअगाडि नै घरमा धान भित्र्याइसकेका छन् । दाङ उपत्यकाका केही किसानले अहिले धान भिर्त्याइरहेका छन् भने केहीले काटेर राखेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका निमित्त प्रमुख शक्तिराम डाँगीले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा अहिलेसम्म नतोकिएको बताए । केन्द्रबाट कोटा निर्धारण भएको पत्र आउनेबित्तिकै खरिद सुरु गर्ने उनले जानकारी दिए ।

उनले गतवर्ष देउखुरी क्षेत्रका तीन स्थानीय तहको समन्वयमा धान खरिद गरिएको बताए । निमित्त प्रमुख डाँगीले कोटा थौरै निर्धारण हुँदा सबै पालिकामा पुग्न नसकिने बताए । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार  जिल्लामा कुल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३७ हजार २२५ हेक्टर क्षेत्रमा धानखेती गरिएको छ ।

यसैबीच बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातका कारण जिल्लाको मौसम प्रतिकूल देखिएपछि यहाँका किसानले खेतमा काटेर राखेको धान नोक्सान हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

केही दिनदेखि किसानले धान काट्ने, बोकेर सुरक्षित ठाउँमा राख्ने गरे पनि सबै ठाउँमा भने यो काम सम्पन्न भएको छैन । हिजो बिहानैदेखि जिल्ला निरन्तर पानी परिरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?