News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक स्पेनका तीन पर्वतारोहीले सफल आरोहण गरेका छन्।
- जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङले सफल आरोहणले जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहण सम्भावना बढेको बताए।
- गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले यो आरोहणले नेपालको हिमाली पर्यटन र जुगल हिमशृङ्खलाको पहिचान अन्तरराष्ट्रियस्तरमा थप स्थापित गर्ने बताए।
१४ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ ।
स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ ।
पहिलो आरोहणसँगै जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणका लागि पनि सम्भावना बढेको तामाङले बताए । उनले यस सफलताले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले चुनौतीपूर्ण मानिएको जुगल–२ को पहिलो आरोहण गर्न सफल स्पेनी टोलीलाई बधाई दिँदै यसले नेपालको हिमाली पर्यटन, विशेषगरी जुगल हिमशृङ्खलाको पहिचान अन्तरराष्ट्रियस्तरमा थप स्थापित गर्ने बताए ।
जुगल गाउँपालिकाले हिमाल आरोहण, पदमार्ग प्रवर्द्धन र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ । ‘गन्तव्य जुगल’ अभियानमार्फत हिमाल, पदमार्ग तथा धार्मिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने गाउँपालिकाको लक्ष्य छ ।
यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा छ हजार १२६ मिटर अग्लो ग्याल्चेन पिक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात सदस्यीय टोलीले छ हजार १८४ मिटर अग्लो जुगल–३ हिमालको आरोहण गरेका थिए । विदेशी पर्वतारोहीले २०८१ वैशाखमा पहिलोपटक जुगल–१ हिमालको सफल आरोहण गरेका थिए । रासस
प्रतिक्रिया 4