+
+
Shares

बाराको फेटा घटना छानबिन गर्न बन्यो समिति, इन्स्पेक्टरको जिम्मेवारी खोसियो

शनिबारको झडपमा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका थिए भने प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच प्रहरी घाइते भएका थिए।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते ७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको फेटा गाउँपालिकामा संघीय अनुदानमा बनेको १५ बेडको अस्पताल उद्घाटन कार्यक्रममा भएको झडप र गोली चल्ने घटनाको मधेश प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ।
  • प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालको नेतृत्वको तीन सदस्यीय समितिमा प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव छन्।
  • झडपमा प्रहरीको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन् भने ढुंगामुढामा पाँच प्रहरी घाइते भएका छन्।
  • प्रदर्शनकारीले १० वटा मोटरसाइकल जलाएका र नवनिर्मित अस्पतालको शिलालेख तोडफोड गरेका छन्।
  • घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाइएको छ।

१५ कात्तिक, जनकपुरधाम । अस्पताल उदघाटनको विषयमा भएको झडप र गोली चलेको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

घटना छानबिनका लागि कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरी विशेष सुरक्षागण ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रदेश प्रहरी कार्यालय वीरगञ्ज पर्साका प्रहरी निरीक्षक जटाशंकर यादव रहेका छन् ।

समितिले जतिसक्दो चाँडो छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।

शनिबार बाराबको फेटा गाउँपालिकामा संघीय सरकारको अनुदानमा नवनिर्मित १५ बेडको अस्पताल उद्घाटन गर्ने कार्यक्रममा झडप भएको थियो । झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन् ।

प्रदर्शनकारीको ढुंगामुढा लागेर पाँच जना प्रहरी समेत घाइते भएका थिए । प्रदर्शनकारीले १० वटा मोटरसाइकल जलाएका थिए भने नवनिर्मित अस्पतालको शिलालेख समेत तोडफोड गरेका छन् ।

उक्त घटनामा पहिलेदेखि सुरक्षाको कमान्ड सम्हालेका इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुमन लामाको  जिम्मेवारी समेत खोसिएको छ । लामालाई त्यहाँबाट तानिएको मधेश प्रदेश प्रहरी स्रोतले जनाएको छ ।

नेकपा एमालेले पहिलेदेखि नै कार्यक्रम रोक्न चेतावनी दिएको थियो । विवेकशील साझा पार्टीबाट सो पालिका प्रमुख जितेका छन् ।

पार्टी एकता भएपछि रास्वपाको नेतृत्व भएको सो पालिकाको नवनिर्मित अस्पताल उदघाटनका लागि रास्वपाकी प्रतिनिधिसभा सदस्य समीक्षा बाँस्कोटा पुगेकी थिइन् ।

उक्त कार्यक्रम नरोक्दा एमालेले बिथोल्ने क्रममा झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?