News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर किंग्सका इमरान शेखले टीयू क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध ४० बलमा ५३ रन बनाउँदै अर्धशतक प्रहार गरे ।
- शेखले शान जयासूर्या आउट भएपछि क्रिज सम्हाल्दै लोकेश बमसँग शतकीय साझेदारी गरे ।
- यो यस संस्करणको पहिलो शतकीय साझेदारी हो ।
१७ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका इमरान शेखले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि शेखले वान डाउनमा ब्याटिङ गर्दै अर्धशतक बनाएका हुन् । उनले ४० बलमा ५ चौका र २ छक्का मदतमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरे ।
यस संस्करणमा यो आठौं अर्धशतक हो भने इमरान अर्धशतक प्रहार गर्ने छैटौं नेपाली ब्याटर हुन् ।
ओपनर शान जयासूर्या टिमको स्कोर २ रन हुँदा आउट भएपछि इमरान ब्याटिङका लागि क्रिजमा पुगेका थिए । त्यसयता उनले अर्का ओपनर लोकेश बमसँग मिलेर शतकीय साझेदारी गरेका छन् । यस संस्करणमा यो पहिलो शतकिय साझेदारी हो ।
एनपीएलमा यो १४औं शतकिय साझेदारी हो । यसअघि पहिलो सिजन ७ र दोस्रो सिजनमा ६ पटक शतकिय साझेदारी भएको थियो ।
यस्तै विराटनगरका खेलाडीले एनपीएलमा बनाएको यो दोस्रो शतकिय साझेदारी हो । यसअघि दोस्रो सिजनमा विराटनगरका लागि लोकेश बम र मार्टिन गप्टिलले नै पोखरा एभेन्जर्स विरुद्ध दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए । यो एनपीएलमा विराटनगरको अहिलेसम्मको उच्च साझेदारी हो ।
एनपीएलमा इतिहासमा अहिलेसम्मकै सर्वाधिक साझेदारीको कीर्तिमान भने पोखरा एभेन्जर्सका आन्द्रे गौस र दिनेश खरेलको नाममा छ । यो जोडीले लुम्बिनी विरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।
प्रतिक्रिया 4