कुनै दिन
उसले मलाई शानका साथ भनेथ्यो –
’बाबु, कुनै दिन मेरो लास बेवारिसे बनेछ भने पनि
मेरो लासमा भन्किने झिँगाहरू यही सहरका हुनेछन् !’
थाहा छैन,-
के-के खोस्यो यो सहरले ऊ बाट ?
मुस्कान, आँसु वा सपना खोस्यो कि ?
खोस्यो दिनदहाडै उसको अनुहारबाट जिजीविषा ?
अथवा खोस्यो उसले जुनीभरिलाई बोकेर हिँडेको सम्बन्ध ?
वा, के-के दिलायो यो सहरले उसलाई ?
फ्रस्टेसन, डिप्रेसन वा मृत्युको सोच ?
वा आफ्नै खरानीबाट आफैंलाई जन्माउने फिनिक्स चराको जस्तो
जादुयी आत्मविश्वास ?
सहरको यो लेनदेनबाट बिल्कुल फरक,
उसले भने-
एउटा दुश्मनी मोलेको छ यो सहरसँग ।
कि; देख्ने छैन यो सहरले
मानिसको दया, करुणा वा सान्त्वना खोजिरहेको
प्यासीको निरीह अनुहार !
उसलाई फिट्टिक्कै मन पर्दैन सहरको ऐनामा
याचना गरिरहेको आफ्नै कमजोर अनुहार !
त्यसैले ऊ
कहिले जर्मन बेकरीमा पिठो मुछ्न पुग्छ
कहिले पाल्दछ कुखुरा
कहिले बन्दछ ज्यामी
कहिले खोल्दछ मासु पसल
र काट्दछ राँगाको कान जिब्रो
कहिले असनमा खरिद गरेर
जोरपाटीमा बेच्दछ
रु पाँच सयको दुई जोर चप्पल
कहिले हुन्छ श्रमजीवी पत्रकार
यसरी एक मान्छे भइरहन्छ अनेक !
तर, जब अकस्मात्
समयले प्रहार गर्छ ब्रह्मास्त्र
र एकैसाथ खोस्न खोज्दछ सबै-सबै विकल्पहरू
देखाउन खोज्दछ मृत्युको रिहल्सल
र भन्दछ –
’ए प्यासी, अब छैन तँसग विकल्प
आत्मसमर्पण गर् !
मैले जितेँ तँलाई
गर् आत्मसमर्पण
आजै गर्
अहिलै गर
आत्म….स..म…र्पण !’
तर ,
निकै निकै जब्बर छ नवीन प्यासी
छातीमै थाप्दछ समयको ब्रह्मास्त्र
र
एनेस्थेसियाको सुईं घोपिनुअघि,
एनेस्थेसियाको असर सकिनसाथ
शब्दहरू चलाइहाल्छ
र बनाउँछ ‘शब्द-दिव्यास्त्र !’
जलाउँछ आँफैभित्र जैविक ऊर्जा ।
त्यसपछि
हार खाएर लुरुलुरु फर्किन्छ
मृत्युको ब्रह्मास्त्र पनि !
नवीन प्यासी भने
ऐनामा हेर्दै हाँसेको सेल्फी खिच्दछ ‘खिचिक्क !’
प्रतिक्रिया 4