+
+
Shares

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : सभापतिलाई पक्राउ गर्ने हल्ला राजनीतिक विषयान्तरको प्रयास

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई पक्राउ गर्ने हल्ला राजनीतिक विषयान्तर र तर्साउने प्रयास भएको निष्कर्ष निकालेको छ।
  • महामन्त्री प्रदीप पौडेलले कांग्रेस नागरिक र प्रेस स्वतन्त्रता, संविधान र कानुनी राज्यको पक्षमा दृढताका साथ उभिने बताए।
  • पदाधिकारी बैठकले भोटेकोशी बाढीपीडितका नाममा उठेको सहयोग रकमको हिसाब माग्ने र भोलि थप बैठक गर्ने निर्णय गरेको छ।

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्ने हल्ला फैलाएर सरकारले राजनीतिक विषयान्तर गर्न खोजिएको निष्कर्ष निकालेको छ ।

सानेपामा बिहीबार बसेको पदाधिकारी बैठकले सभापति थापालाई पक्राउ गर्ने हल्ला फैलाएर सरकारले राजनीतिक विषयान्तर गर्न खोजिएको निष्कर्ष निकाले हो ।

बैठकपछि महामन्त्री प्रदीप पौडेलले सरकारको पछिल्लो प्रचारबाट कांग्रेस नतर्सिने भन्दै नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संविधान र कानुनी राज्यको पक्षमा पार्टीले आफ्नो आवाज उठाइरहने बताए ।

‘सभापतिमाथि धरपकडको जुन हल्ला फैलाइएको छ, यो अफवाह हो । यो विषयान्तर गर्न र तर्साउनका लागि गरिएको हो । नेपाली कांग्रेस यस्ता कुराबाट तर्सिँदैन,’ उनले भने, ‘नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नेपालको संविधानको रक्षा र कानुनी राज्यको पक्षमा दृढताका साथ उभिन्छ ।’

महामन्त्री पौडेलले सरकारका गतिविधिमा प्रश्न उठाउन कांग्रेस पछि नहट्ने पनि स्पष्ट पारे । कुनै पनि निकाय वा व्यक्तिबाट संविधान र कानुनी राज्यविरुद्ध काम भए त्यसको विरोध र प्रश्न गर्ने क्रम अझ सशक्त बनाउने उनको भनाइ छ ।
‘हामी प्रश्न गर्न छाड्ने छैनौं । यस्ता कुराले हामी तर्सिँदैनौं,’ महामन्त्री पौडेलले भने, ‘कांग्रेस स्वतन्त्रताका निम्ति जन्मिएको पार्टी हो ।

बैठकले पछिल्लो समय सार्वजनिक भएका विभिन्न प्रकरणलाई संसदीय समितिमा उठाउने विषयमा पनि छलफल गरेको छ । त्यसका लागि संसदीय दलका नेता र सम्बन्धित विषयगत समितिमा रहेका सांसदहरूसँग पनि पदाधिकारीले छलफल गरेको छ ।

‘पछिल्लो समय आएका यी विषयहरू विषयगत संसदीय समितिका मुद्दा बन्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा हामीले संसदीय दलका नेता र सम्बन्धित विषयगत समितिका सांसद साथीहरूसँग बैठक ग¥यौं,’ महामन्त्री पौडेलले भने, ‘उहाँहरूलाई यी विषय समितिमा लैजाने गरी छलफल गर्न भनिएको छ ।’

पदाधिकारी बैठकले रसुवाको भेटोकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको नाममा उठेको सहयोग रकमको हिसाब माग्ने पनि निर्णय गरेको छ ।

बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले सांसद मोहन आचार्यको संयोजकत्वमा गठित समितिको बैठक बसेर सरकारबाट सहयोग रकमको विवरण लिने र पीडितलाई थप राहत पु¥याउने विषयमा काम गर्ने निर्णय भएको पौडेलले बताए ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) मा सरकारले बाढीपहिरो र जलवायु परिवर्तनका विषयमा स्पष्ट दृष्टिकोण राखोस् भन्ने कांग्रेसको चाहना भए पनि सरकारले प्रतिपक्षी दलको सदासयतालाई नबुझेको उनले गुनासो गरे ।

‘हामीले भोटेकोसी–त्रिशूली बाढीका सन्दर्भमा सरकारलाई सहयोग गर्छौं भन्दै आएका थियौं,’ महामन्त्री पौडेलले भने, ‘कोप सम्मेलनमा पनि सरकारले पूर्ण दृष्टिकोण लिएर जाओस् भन्ने हाम्रो चाहना थियो । तर, सरकारले हाम्रो सदासयतालाई बुझेन ।’

कांग्रेसले भोटेकोशी बाढीपीडितलाई मद्दत गर्नेबारे छलफल हुने जनाएको छ । ‘यस विषयमा सभापतिज्यूको उपस्थितिमा भोलि (शुक्रबार) थप बैठक गर्ने निर्णय भएको छ,’ महामन्त्री पौडेलले भने ।

कांग्रेस पदाधिकारी बैठकले सातै प्रदेशमा संगठनात्मक गतिविधि र महाधिवेशनपछिको अवस्थाबारे समन्वय तथा जानकारी संकलन गर्न सहमहामन्त्रीहरूलाई जिम्मेवारी तोकेको छ ।

पौडेलका अनुसार जिल्ला तथा प्रदेश अधिवेशन, महाधिवेशनपछिको संगठनात्मक गतिविधि र पार्टीको समग्र अवस्थाबारे प्रदेश तहबाट जानकारी लिने गरी सहमहामन्त्रीहरूलाई जिम्मेवारी दिइएको हो ।

बैठकमा महाधिवेशनपछिको पार्टीको आन्तरिक अवस्था, संगठनात्मक गतिविधि र आगामी कार्ययोजनाबारे पनि समीक्षा गरिएको महामन्त्री पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?