१९ कात्तिक, काठमाडौं । गत मेको ११ तारिखमा भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमण गर्ने तय भएको थियो । उनले भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहलाई भेट्न चाहे । तर प्रधानमन्त्रीले भेट नदिने निश्चित भएपछि सचिव मिश्रीको भ्रमण पनि रोकिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना मन्तव्य पठाउँदै भारत भ्रमण गर्न निम्तो दिएको सन्दर्भमा भारतीय विदेशसचिवले उनीसँग भेटेर सकेसम्म चाँडै भ्रमणको चाँजोपाँचो मिलाउन खोजेका थिए ।
मे महिनामै भारतीय विदेश सचिवको नेपाल भ्रमण भएको भए र तयारी थालिएको भए पहिल्यै प्रधानमन्त्री शाहको भारत भ्रमण हुन्थ्यो पनि होला । भारत त्यसका लागि इच्छुक पनि थियो । भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री शिशिर खनालबीच मौरिससमा भएको नवौं हिन्द महासागर सम्मेलनको साइडलाइन वार्तामा प्रधानमन्त्रीको भ्रमण चाँडै गराउने सहमति भएको थियो ।

तर, त्यसबेलासम्म प्रधानमन्त्री शाह मित्रराष्ट्रका राजदूतहरुलाई एक्लाएक्लै र नेपाल भ्रमणमा आउने आफूभन्दा तल्लो पदका मानिससँग नभेट्ने घोषित अडानमा थिए । त्यतिमात्रै होइन, एक वर्षसम्म कुनै पनि देशको भ्रमणमा नजाने घोषणा पनि बालेनले गरेका थिए ।
त्यही भएर हुनसक्छ– भारतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारत भ्रमणमा बोलायो र निकै ठूलो मानसम्मान दियो ।
तर, यसबीचमा प्रधानमन्त्री आफ्ना तीनवटै अडानमा निकै लचिलो बनिसकेका छन् । र, यसअघि भ्रमण तय भएको ६ महिनापछि भारतीय विदेश सचिव मिश्रीले नेपालको भ्रमण गरे र प्रधानमन्त्री बालेनसँग भेटघाट गरे पनि ।
प्रधानमन्त्री बालेनसँग मिश्रीको भेटघाट यसकारण पनि महत्वपूर्ण भयो कि– यसले आगामी मंसिरको पहिलो साता हुने भारत भ्रमणको तयारीको जग बसाएको छ ।
हुन त यसअघि नै प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेर फर्किसकेका छन् । तर, उनको भारतको सम्भावित मिति त्यसअघि नै तय भएको थियो, भलै दुवै देशले यसलाई औपचारिक घोषणा गरेका छैनन् ।

भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्रीका अतिरिक्त परराष्ट्रमन्त्री, अर्थमन्त्रीसँग मात्रै होइन, ऊर्जामन्त्री र भौतिक पूर्वाधारमन्त्रीसँग पनि भेट गरे । परराष्ट्र सचिव अमृत राई र भारतीय विदेश सचिव मिश्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो ।
उनले भेटलाई सरकारी पदाधिकारीसँग मात्रै सीमित राखेनन् । रास्वपा सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापासँग पनि भेटे । यसबाट भारत सरकारसँग मात्रै होइन, सत्ता र प्रतिपक्ष दुवै दलहरुसँग संवादमा रहन चाहेको सन्देश दिएको छ ।
यद्यपि, उनको यो भ्रमणको सबैभन्दा ठूलो उद्देश्य भनेको प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीलाई नै बलियो बनाउनु देखियो ।
प्रधानमन्त्री शाहसँगको भेटमा सचिव मिश्रीले बालेनको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशबारे जानकारी गराएका थिए ।
उनले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताएका थिए । त्यसको अर्थ प्रधानमन्त्रीको भ्रमणमा ती विषयमा ठोस उपलब्धिहरु सार्वजनिक गर्न सकिन्छ भन्ने थियो ।

प्रधानमन्त्री शाहले नेपालको खेलकुद विकासमा भारतसँगको सहकार्यका बारेमा कुरा गरेका थिए । साथै, शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फस्र्ट रेस्पोन्डर’ का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति धन्यवाद दिएका थिए ।
तीन वर्षदेखि नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुन सकेको छैन । यसअघि सन् २०२३ को मे अन्तिममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण भएको थियो । त्यसपछि गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय हुँदै थियो, जेनजी आन्दोलनले सत्तापलट नै गरिदियो ।

यसरी नयाँ राजनीतिक परिस्थितिमा र लामो समयपछि हुन लागेको यो भ्रमण निकै महत्वपूर्ण भएको नेपाल र भारत दुवैतर्फका कुटनीतिज्ञहरु बताउँछन् ।
प्रधानमन्त्री शाहको आगामी भ्रमण निकै महत्वपूर्ण भएको नेपालका लागि भारतका पूर्वराजदूत रणजीत राय बताउँछन् ।
‘प्रधानमन्त्री शाहले पहिलो दुई पक्षीय भ्रमणका रुपमा भारत भ्रमण गर्दै हुनुहुन्छ, यसले दुई देशबीचको साझेदारी कति महत्वपूर्ण छ भन्ने देखाएको छ,’ पूर्वराजदूत रायले अनलाइनखबरसँग भने ।
यसअघि प्रोटोकलका कारण भारतीय विदेश सचिवको भ्रमण रोकिएको तर्फ संकेत गर्दै उनले भने, ‘मेरो विचारमा प्रोटोकलसम्बन्धी विषय कम महत्वपूर्ण हो । हाम्रो सहकार्यलाई कसरी तीव्र रुपमा अघि बढाउने चाहिँ महत्वपूर्ण हो,’ उनले भने ।

भारतका लागि नेपालका पूर्वराजदूत डा. शंकर शर्मा पनि कुटनीतिमा यो गर्छु वा यो गर्दिनँ भनेर अडान लिएर बस्ने भन्दा पनि विभिन्न मुलुकहरुसँग आवश्यकताअनुसार सहयोग र सहकार्य गर्नुपर्ने बताउँछन् ।
‘भारतसँगको हाम्रो साझेदारी निकै महत्वपूर्ण छ, त्यसो हुँदा प्रधानमन्त्रीले भारत भ्रमणको तयारी तीव्र बनाउनुलाई सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने । यसबीचमा तीन वर्षदेखि प्रधानमन्त्रीको स्तरमा भ्रमण नभएको हुनाले धेरै एजेन्डाहरु परिपक्व भएर बसेको र त्यस हिसाबले पनि प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक हुने डा. शर्मा बताउँछन् ।
‘धेरै योजनाहरु उद्घाटन वा शिलान्यास गर्ने तहमा गएर बसेका छन् । त्यसो हुँदा उपलब्धि राम्रै देखिन्छन्,’ उनले भने ।

यद्यपि, छोटो तयारीमा भ्रमण हुन लागेकाले पहिल्यै छलफल र तयारीमा भएका बाहेक कुनै ठूलो र नयाँ कुराको अपेक्षा गर्न नसकिने उनी बताउँछन् ।
नेपालका लागि पूर्व भारतीय राजदूत राय पनि यो भ्रमणमा दुवै प्रधानमन्त्रीबीच पहिलोपटक प्रत्यक्ष भेट हुने र त्यसले सम्बन्धलाई नवीकरण तथा पुनर्जागृत बनाउने अवसर प्रदान गर्ने उनी बताउँछन् ।
यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, परराष्ट्रमन्त्री खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुदन गुरुङको उच्चस्तरीय भ्रमणहरू भइसकेका छन् । अहिले हाम्रो परराष्ट्र सचिवको भ्रमण भएको छ । यी भ्रमणले गहिरो सहकार्यका लागि आधार तयार पारिसकेका छन्,’ पूर्वराजदूत रायले बताए ।
यो भ्रमणका क्रममा नेपालमा गएको भोटेकोशी हिमाली सुनामीलाई मध्यनजर गर्दै महत्त्वपूर्ण निर्णय हुने अपेक्षा रहेको पनि उनले बताए । साथै, जलविद्युत् क्षेत्रमा खासगरी पञ्चेश्वर जस्ता ठूला परियोजनाहरूले गति हासिल गर्ने आशा आफूले राखेको पनि उनले बताए ।
भारतका लागि पूर्वराजदूत डा. शर्मा भने पञ्चेश्वर परियोजनाको गतिरोध समाधान हुनेमा धेरै आशावादी छैनन् । ‘पञ्चेश्वर परियोजनासँग जोडिएको महाकाली सन्धिका बारेमा नेपालमा तीव्र राजनीतिक विभाजन छ । त्यसैले यसमा बृहद राजनीतिक सहमति हुनुपर्ने भारतको भनाइ हुनसक्छ,’ उनले भने, ‘प्राविधिक स्तरमा टुंगिनुपर्ने कुरा टुंगिन त्यति समस्या नहोला तर राजनीतिक रुपमा नै सहमति हुनुपर्छ, त्यसको पर्याप्त तयारी भएको मैले पाएको छैन,’ उनले भने ।
तर, भैरहवा विमानस्थललाई सहज हुने गरी भारतले एअर रुट दिने कुरामा भने आफू आशावादी रहेको उनी बताउँछन् । ‘हामीलाई भैरहवाबाटै विमान छिर्ने रुट चाहियो भनेको पनि होइन, महन्द्रनगरमा दिए पनि हुन्छ, त्यसमा सहमति हुनसक्छ,’ उनले भने ।
तर, यी बाहेक अन्य ठूला उपलब्धि हासिल गर्न चाहेको भए कम्तीमा पनि तीनचार महिनाको गहन तयारी हुनुपर्ने उनी बताउँछन् । ‘प्राविधिक स्तर, सहसचिव र सचिवस्तरमा र मन्त्री स्तरमा कुनै ठूलो सहमति भएको भए प्रधानमन्त्रीको भ्रमणमा त्यो घोषणा हुने अपेक्षा गर्न सकिन्थ्यो, तर त्यो भएको छैन, त्यसो हुँदा प्रधानमन्त्रीको यो भ्रमण गुडविल भ्रमण मात्रै हुने सम्भावना छ,’ उनी भन्छन् ।
खासगरी दुई मुलुकबीच लामो समयदेखि कुरा नमिलेका सीमा विवाद, ईपीजी प्रतिवेदन, अग्निवीर भर्नालगायत विषय चाहिँ कसरी अघि बढ्छन् भन्ने अहिलेको चासो रहेको उनको भनाइ छ ।
‘नेपाल र भारत दुवैले यी विषयमा छलफल गर्दै जाने तर यसकै कारण अन्य सहकार्यका ढोका बन्द नगर्ने रणनीति यसअघि देखि नै लिएकाले यसपटक पनि ती विषयमा सहमति भएन भने नै पनि अन्य विषय अघि बढ्लान्,’ उनले भने ।
नेपालका लागि पूर्व भारतीय राजदूत राय भने प्रधानमन्त्री बालेनले करिब दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेकाले उनी लामो समयदेखि समाधान हुन नसकेका समस्या समाधान गर्न सक्ने स्थितिमा रहेको बताउँछन् ।
‘दुवै देशले आपसी ‘गिभ एन्ड टेक’ को विधि अपनाएर तथा समस्याको व्यावहारिक समाधानमुखी दृष्टिकोण राखेर काम गरे भने नमिलेका विषयमा दुवै देशलाई स्वीकार्य हुने रचनात्मक समाधान खोज्न यो उपउक्त समय हो भन्ने मलाई विश्वास छ,’ उनले भने ।
प्रतिक्रिया 4