+
+
Shares
फोक्सुण्डोताल डायरी :

आँखामा नीलो जलाशय, मनमा अविस्मरणीय यात्रा

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ कात्तिक २१ गते ८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैँ बिदामा काठमाडौँदेखि डोल्पासम्म २८ घण्टा बस र दुई दिन पैदल यात्रा गरी तीन जनाको टोली शे–फोक्सुण्डो ताल पुगेको छ।
  • समुद्री सतहबाट ३ हजार ६३९ मिटर उचाइमा रहेको फोक्सुण्डो ताल ४.८ किलोमिटर लामो, १.६ किलोमिटर चौडा र करिब ६५० मिटर गहिरो छ।
  • रिङ्मो गाउँमा सडक, आधुनिक स्वास्थ्य सेवा र सञ्चार सीमित छन् भने आकस्मिक बिरामी परे दुई दिन हिँडेर डोल्पा जिल्ला अस्पताल पुग्नुपर्ने स्थानीयले बताएका छन्।

१९ कात्तिक, काठमाडौं । केही ठाउँ यस्ता हुन्छन्, जहाँ शरीरभन्दा पहिले मन पुग्छ । मनले त्यहाँको सुन्दर आकृति बनाउँछ । अनि मनैले भन्छ, ‘त्यो ठाउँ वास्तवमै सुन्दर छ ।’

मनले कल्पेको यस्तै गन्तव्यमा जब पाइला टेकिन्छ र नाङ्गो आँखाले त्यसको सेरोफेरो नियालिन्छ, तब त्यो विराट सौन्दर्यले लट्ठै बनाइदिन्छ । मनले सजाएको भन्दा अझ राम्रो दृश्यले चकित बनाइदिन्छ ।

फोक्सुण्डोको विशाल जलाशयको सम्मुखमा उभिँदा मलाई यस्तै भयो ।

पारि चाँदीझैँ सेतो अटल हिमाल । कतै चट्टानको टाकुरा, कतै हरियाली कोणधारी जंगल । हिमालको काखमा थपक्क बसेको विशाल जलाशय । यस्तो लाग्ने, मानौँ सफाचट बनाएको ऐना धर्तीमा बिछ्याइएको हो । त्यो कञ्चन नीलो पानीले भरिएको फोक्सुण्डो देखेर मन हराभरा भयो ।

यो तालको बारेमा पहिले नै सुनेको थिएँ । सुनेपछि जान मन बनाएको थिएँ । तर, मनजस्तो शरीरलाई जहाँ पनि जाने कहाँ छुट छ र ?

अनेक जिम्मेवारीमा जेलिएको शरीरलाई हत्तपत्त फुर्सद मिल्दैन । यसपालि दसैँको बिदामा भने फुर्सद मिल्यो । अनि हामी शे–फोक्सुण्डोलाई गन्तव्य बनाएर घरबाट निस्कियौँ । शरद् यामको यो घमाइलो मौसममा हामी लेकको चिसो सिरोटोभित्र लुटपुटियौँ ।

२८ घण्टा : काठमाडौं टु डोल्पा

यात्रामा हामी तीन भाइ थियौँ, सहकर्मी दिनेश गौतम र अक्षर काकासहित । हामीले गोंगबुको नयाँ बसपार्क छाड्दै गर्दा बिहानको ११ बजेको थियो । त्यहाँ डोल्पा संयुक्त यातायातको बसमा चढेपछि हाम्रो यात्रा आरम्भ भयो ।

काठमाडौं–डोल्पाको बस यात्राका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ लाग्ने रहेछ ।

बसमा अधिकांश यात्रु शे–फोक्सुण्डो जाने नै थिए । कुराकानी गर्दै जाँदा थाहा भयो, यात्रु हेरेर भाडा निर्धारण गरिने रहेछ । कसैले बार्गेनिङ गरेर कम तिर्ने, कसैले बढी । लामो यात्राको सुरुवातमै यातायात व्यवसायीको मनलाग्दी भाडाको अनुभव पनि बटुलियो ।

जे होस्, बसको झ्यालबाट देखिने काठमाडौंको दृश्य पछाडि सर्दै गयो । धूलो र धुवाँले भरिएको वायुमण्डल हराउँदै गयो । क्रमशः पहाड, नदी र बस्तीहरू देखिए । लगभग २८ घण्टा हामीले बस यात्रामा बितायौँ।

डोल्पाको ठूलीभेरी गाउँपालिकास्थित सुलीगाड पुग्दा खुट्टा सुन्निएको थियो । जबकि यही बिन्दुबाट खुट्टाले बढी काम गर्नुपर्ने अवस्था आउँदै थियो । किनभने हाम्रो पैदल यात्रा यहीँबाट सुरु हुँदै थियो ।

त्यस रात हामीले आराम गर्‍यौँ । खुट्टा थाकेको थियो, मन थाकेको थिएन । आँखा जागेको थियो, भोलिको सुनौलो यात्रा सम्झेर ।

त्यहाँ होटल धेरै थिएनन् । तर, आगन्तुकहरू धेरै थिए । कति आगन्तुक बास खोज्दै माथितिर उक्लिए । हामीले भने त्यही ठाउँमा रात बिताउने निधो गर्‍यौँ । बस्नका लागि प्रतिव्यक्ति ८ ०० र सादा खानाका लागि ३५० रुपैयाँ लाग्ने रहेछ ।

हामीले झोला बिसाएर सुस्ताउँदै गर्दा तलतिर पहाडी खोला बेतोडले बगिरहेको देखिन्थ्यो । खोला देखेपछि पो मनमा हल्का त्रास फैलियो, रसुवा बाढी सम्झेर । रातलाई अँध्यारोले निल्दै गर्दा खोलाको एकनासे आवाज चर्को हुँदै थियो ।

फापरको रोटी र कालो चियासँगै पदयात्रा

बिहानको ६ बज्दा नबज्दै हामीले पैदल यात्रा सुरु गरिसकेका थियौँ । लेकको चिसो सिरोटोले हामीलाई स्वागत गरिरहँदा तल खोलाको आवाज संगीतमय लाग्न थालेको थियो ।

कतै समथर, कतै उकालो र कतै नदीको किनारैकिनार भएर पाइला चालिरह्यौँ । घडीले ९ बजेको संकेत गरिसक्दा कागेनीको माटो टेकिसकेका थियौँ । त्यहाँ केहीबेर थकाइ मारेर फापरको रोटी र कालो चिया खायौँ ।

यात्रामा भेटिने यस्ता स्थानीय खान्कीले मुखको स्वाद मात्र फेर्दैन, तनको फुर्ती पनि बढाइदिन्छ ।

त्यहाँबाट अगाडि बढेपछि हामीसँगै विपरीत दिशातिर बगिरहेको नदीले लोभ्याइरह्यो । शे–फोक्सुण्डो क्षेत्रबाट बग्दै आएको नदी कुनै चित्रकारले बनाएको जीवन्त पेन्टिङजस्तो थियो । नीलो, कञ्चन पानी चट्टानसँग ठोक्किँदै आफ्नै गतिमा बगिरहेको थियो ।

नदीको एकनासे आवाज सुन्दै अगाडि बढिरह्यौँ ।

यात्रामा कुनै हतार थिएन । बाटोमा देखिने दृश्य नियाल्ने, फोटो खिच्ने र प्रकृतिको आवाज सुन्ने नै हाम्रो प्राथमिकता थियो । केही समयपछि ठूलीभेरी गाउँपालिकाको भू-भाग पार गरेर शे–फोक्सुण्डो गाउँपालिकामा प्रवेश गर्‍यौँ । भूगोल बदलिँदै थियो, तर प्रकृतिको सुन्दरता भने झन् खुल्दै गइरहेको थियो । दुई ठूला पहाडबीच बगिरहेको पानीको आवाज सुन्दै अगाडि बढ्दा मन आनन्दित हुन्थ्यो ।

बिहान साढे ११ बजेतिर छेप्का पुग्यौँ । त्यहाँ पेटभरि खाना खाएर केहीबेर आराम गर्‍यौँ । त्यसपछि फेरि गन्तव्यतर्फ लाग्यौँ । बाटोमा भेटिने होटलमा पदयात्रीहरू थकाइ मारिरहेका थिए । कोही हाँस्दै–ठट्टा गर्दै, कोही स्याउ टोक्दै त कोही वरिपरिको दृश्य नियाल्दै अघि बढिरहेका थिए । हाम्रो यात्रा पनि त्यही लयमा अघि बढिरहेको थियो । साँघुरो बाटोमा घोडा र खच्चर सामान ओसारपसार गरिरहेका थिए ।

दिनभरको हिँडाइपछि बेलुकी ५ बजे शे–फोक्सुण्डो गाउँपालिका–८ को रियाची पुग्यौँ । त्यहीँ रात बिताउने निर्णय गर्‍यौँ । तीन जनाको खाना र बसोबासका लागि २ हजार ७०० रुपैयाँ खर्च भयो । शरीर थाकेको भए पनि मनमा भोलि देखिने तालको तस्बिर घुमिरहेको थियो ।

पानीको फोहोरामा इन्द्रेणी, एक रोमाञ्चक यात्रा

भोलिपल्ट बिहान चुनुवामा खाजा खाएर हामी फोक्सुण्डोतर्फ लाग्यौँ । अबको यात्रा अघिल्लो दिनभन्दा केही चुनौतीपूर्ण थियो । उकालो चढ्नुपर्ने, कतै साँघुरो पदमार्ग त कतै ठाडो भीरको बाटो । उकालो चढ्दै गर्दा सास बढ्थ्यो, खुट्टा थाक्थे । गन्तव्य नजिकिँदै गएको उत्साहले थकान भने बिर्साइरहेको थियो ।

पछाडि फर्केर हेर्दा पहाडका भीर र बीचबीचमा देखिने साना बस्तीले यात्रालाई थप सुन्दर बनाइरहेका थिए । बाटोमा भेटिने अन्य पदयात्रीको अनुहारमा पनि हामीजस्तै गन्तव्यमा पुग्ने उत्साह देखिन्थ्यो । भरना होटलबाट भने उकालो यात्रा सुरु भयो ।

उकालो चढ्दै गर्दा टाढैबाट सुलिगाड झरनाको आवाज सुनिन थाल्यो । नजिक पुग्दा झरना एकनासले सुसाइरहेको थियो । पानीको फोहोरासँगै घामको किरण पर्दा इन्द्रेणीका रङ देखिए । त्यो दृश्यले मनै लोभ्यायो । कोही भिडियो खिचिरहेका थिए, कोही तस्बिरमा त्यो सुन्दरता कैद गर्दै थिए । हामी पनि केहीबेर त्यहीँ रोकियौँ ।

त्यहाँबाट करिब ३० मिनेटको यात्रापछि रिङ्मो गाउँ पुग्यौँ । बिहानको समय थियो । ताल नजिकैको यो प्राचीन बस्ती आफ्नै मौलिकतामा सजिएको थियो । एकनासले बनेका, माटोले लिपिएका घर, परम्परागत बनावट र वरिपरिको वातावरणले गाउँ आकर्षक देखियो ।

बिहान करिब ११ बजे ताल नजिकैको होटल पुग्यौँ । दुई दिनको पदयात्रापछि अब भने गन्तव्य आँखैअगाडि थियो ।

अनि पहिलोपटक देखियो त्यो नीलो सपना…

चारैतिर पहाडले घेरिएको बीचमा फैलिएको तालको नीलो पानी आँखाअघि पर्दा एकछिन त आफूलाई नै बिर्सिएजस्तो भयो । बाटोभरि हिँड्दाको थकान, शरीरमा लागेको धूलो र मनमा बोकेर गएको उत्सुकता सबै एकैछिनमा हराए । अगाडि फैलिएको तालको सुन्दरता कल्पनाभन्दा धेरै माथि थियो ।

तालको पानी कहिले गाढा नीलो, कहिले हल्का नीलो त कहिले आकाशको रङ नै पानीमा झरेजस्तो देखिन्थ्यो । घामको प्रकाशसँगै पानीको रङ बदलिएको अनुभूति हुन्थ्यो । बादल लाग्दा फेरि अर्कै स्वरूप देखिन्थ्यो । पहाडका आकृति पानीमा प्रतिबिम्बित हुँदा ताल झन् मनमोहक देखिन्थ्यो ।

तालको किनारमा उभिएर त्यसको गहिराइ नियाल्दा मनमा अनेक प्रश्न उठ्थे । माथिबाट हेर्दा पानी शान्त र कञ्चन देखिन्थ्यो, तर यसको भित्री गहिराइ कति होला ? यो नीलो रङभित्र कति रहस्य लुकेका होलान् ? आँखाले देख्न सकिने सतहभन्दा तल कस्तो संसार होला ? जति नियाल्यो, उति नै गहिराइप्रतिको कौतूहल बढ्दै जाने ।

तालको किनारैकिनार हिँड्दा हरेक मोडमा नयाँ दृश्य देखिन्थे ।

तालमा पुगेपछि बुझिँदो रहेछ, किन मानिसहरू घण्टौँ तालको किनारमा बिताउँछन् । किन तस्बिरमा देखेको दृश्य आफ्नै आँखाले हेर्न फेरि त्यहीँ पुग्न मन लाग्छ । किन जति हेरे पनि मन अघाउँदैन ।

हामीले पनि तालका विभिन्न कोणबाट फोटो र भिडियो खिच्यौँ । केही समय किनारमै बसेर पानीको विशालता नियाल्यौँ । त्यहाँको शान्त वातावरणले मनमा बेग्लै आनन्द दिइरहेको थियो । हतार गरेर फर्किनुभन्दा केही दिन यहीँ बिताउन पाए हुन्थ्यो भन्ने लागिरह्यो ।

हामी पुग्दा दसैँको बिदा चलिरहेको थियो । त्यसैले ताल क्षेत्रमा पर्यटकको बाक्लै उपस्थिति थियो । देशका विभिन्न ठाउँबाट आएका पर्यटक कोही तस्बिर खिचिरहेका थिए, कोही भिडियो बनाउँदै थिए त कोही तालको किनारमा बसेर प्रकृतिको सुन्दरता नियालिरहेका थिए । तर, मानिसको भिडबीच पनि तालको आफ्नै शान्त स्वभाव हराएको थिएन ।

दिउँसो हावा निकै चल्ने भएकाले माथिको ‘भ्यु पोइन्ट’ जाने योजना पूरा हुन सकेन । त्यसैले भोलिपल्ट बिहानै जाने सोच बनायौँ । फोक्सुण्डोको आँगनमै रात बिताउने निर्णय गर्‍यौँ ।

तालको छेउमा रहेको रिङ्मो गाउँले पनि हाम्रो ध्यान तानेको थियो । आखिर यति ठूलो तालको किनारमा मानिसहरूले बस्ती कसरी बसाए होलान् ? यति विकट ठाउँमा पुस्तौँदेखि कसरी जीवन चलिरहेको होला ? मनमा यस्तै जिज्ञासा उठेपछि गाउँका बुढापाकासँग केही समय बितायौँ ।

 

जति ताल नजिकको सुन्दरताले भरिएको रिङ्मो गाउँ आकर्षक छ, त्यति नै यहाँ समस्या पनि छन् । विकट हिमाली क्षेत्र भएकाले सडक सञ्जालको पहुँच छैन । यातायात, आधुनिक स्वास्थ्य सेवा र सञ्चारका सुविधाहरू सीमित छन् । गाउँको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सिटामोल र केही सामान्य औषधि उपलब्ध हुन्छन् । त्यसभन्दा माथिको स्वास्थ्य सेवा लिन दुई दिन हिँडेर डोल्पा जिल्ला अस्पताल पुग्नुबाहेक अर्को विकल्प छैन । आकस्मिक रूपमा बिरामी हुँदा लाखौं रुपैयाँ खर्च गरेर हेलिकोप्टरमार्फत तल झर्नुपर्ने समस्या रहेको स्थानीयले सुनाए ।

स्थानीयका अनुसार गाउँनजिकै रहेको गुम्बा करिब ७०० वर्ष पुरानो हो । त्यसअघि नै रिङ्मो गाउँ अस्तित्वमा रहेको हुन सक्ने उनीहरूको अनुमान थियो । तालको सुन्दरता मात्रै होइन, यहाँको इतिहास, संस्कृति र स्थानीय जीवनशैलीले पनि यस ठाउँलाई उत्तिकै विशेष बनाएको अनुभूति भयो ।

समुद्री सतहबाट ३ हजार ६३९ मिटर उचाइमा रहेको फोक्सुण्डो तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । करिब ६५० मिटर गहिराइ रहेको यो ताल नेपालकै सबैभन्दा गहिरो ताल मानिन्छ।

रिङ्मो गाउँमा ६० भन्दा बढी घर छन् । तीमध्ये धेरैमा होमस्टे सञ्चालनमा छन् भने सुविधायुक्त होटल पनि उपलब्ध छन् । ताल हेर्न पुग्ने पर्यटकका लागि गाउँको आतिथ्य र स्थानीय जीवनशैली पनि यात्राको अर्को आकर्षण रहेछ ।

सायद सुन्दर ठाउँको विशेषता नै यही हो, जहाँ पुगेपछि फर्किने हतार हुँदैन । फोक्सुण्डोमा पनि त्यस्तै भयो । जति बेर हेरे पनि मन अघाउँदैनथ्यो । आँखा थाक्थे, तर मन थाक्दैनथ्यो । शरीरले फर्किनुपर्छ भन्थ्यो, मनले अझै केही समय यहीँ बस्न आग्रह गर्थ्यो ।

शिखर चढेपछि झर्नु त छँदैछ भनेझैँ हामीले पनि फोक्सुण्डोको आँगनबाट बिदा लिनुपर्ने थियो ।

फर्किने बेला पटक–पटक पछाडि फर्केर हेरेँ । बाटो अगाडि बढिरहेको थियो, तर मन भने त्यही नीलो पानीको किनारमै रोकिएको थियो । अद्भुत सुन्दरतालाई हेर्न फेरि फर्केर आउने हुटहुटीसहित हामी दुनैतर्फ फर्कियौँ ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?