+
+
Shares

ढकमक्क धनकुटा : तिहारमा फूल बेच्न किसानलाई भ्याइ नभ्याइ (तस्बिरहरू)

धनकुटाको फूल स्थानीय बजारदेखि धरान, विराटनगर, बुटबलदेखि काठमाडौंसम्म पुग्छ । जिल्लाभित्र र बाहिरबाट आएको मागअनुसार फूल पुर्‍याउन किसानलाई धौधौ भइरहेको छ ।

ईश्वर थापा ईश्वर थापा
२०८३ कात्तिक २० गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाका किसानले तिहार लक्षित सयपत्री फूल खेतीबाट यस वर्ष करिब ६ मेट्रिक टनदेखि १० टनसम्म उत्पादन हुने अपेक्षा गरेका छन्।
  • छथर जोरपाटी–६ का खगेन्द्र पौडेलले १० रोपनीमा लगाएको सयपत्री फूल स्थानीय बजारदेखि काठमाडौं र बुटवलसम्म पठाइरहेका छन्।
  • किसानले भारतीय फूल र कृत्रिम मालाको अनियन्त्रित आयात तथा प्रयोग नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

२० कात्तिक, धनकुटा । धनकुटाका खेतबारीमा यतिबेला सयपत्री फूल ढकमक्क फुलेका छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् । तिहार नजिकिएसँगै किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्‍याउने चटारोमा छन् ।

तिहार फूल, माला, दियो र देउसी–भैलोको चाड हो । घरका झ्यालढोका सजाउनदेखि भाइटीकामा दाजुभाइको गलामा लगाइदिने मालासम्म फूलकै महत्व हुन्छ । यही मागलाई अवसरमा बदल्दै धनकुटाका किसान व्यावसायिक फूल खेती गर्दै आएका छन् ।

छथर जोरपाटी गाउँपालिका–६ मजुवाका किसान खगेन्द्र पौडेल यतिबेला खेतबारीमा व्यस्त छन् । उनले सञ्चादन गर्दै आएको श्री पौडेल कृषि फर्मले १० रोपनी जमिनमा तीन महिनाअघि लगाएको सयपत्री फूल अहिले बिक्रीका तयार भएको छ । फूल टिप्ने र ग्राहकको मागअनुसार बजार पठाउने कामले यतिबेला उनलाई भ्याइनभ्याइ छ ।

स्थानीय बजारदेखि धनकुटा, धरान, विराटनगर, बुटबलदेखि काठमाडौंसम्म उनले फूल पठाइरहेका छन् । जिल्लाभित्र र बाहिरबाट आएको मागअनुसार फूल पुर्‍याउनसमेत धौधौ भइरहेको छ ।

यस वर्ष करिब १० टन फूल उत्पादन गर्ने पौडेलेको लक्ष्य छ । अहिले फूल प्रतिकिलो ३०० देखि ४०० रुपैयाँसम्ममा बिक्री भइरहेको उनको भनाइ छ । कतिपय ठाउँमा किलोग्राम र कतिपय ठाउँमा मुठाका आधारमा फूल बिक्री गर्दै आएको उनले बताए ।

तिहारलाई लक्षित गरेर फूल खेती गर्दा बजारको माग राम्रो हुने भए पनि उत्पादनमा भने विभिन्न चुनौती छन् । तिहार आउन करिब १०० दिनअघि रोप्नुपर्ने फूलमा लेकाली क्षेत्रमा ढुसी लाग्ने र पातमा छिर्का बस्ने समस्या देखिने गरेको पौडेलको अनुभव छ । यस्ता समस्याका बाबजुद पनि बजारमा फूलको माग बढेकाले आफू उत्साहित भएको उनले बताए ।

धनकुटा नगरपालिका–७ का प्रविण पोख्रेल पनि फूल खेतीबाट राम्रो आम्दानी हुने आशामा छन् । एक रोपनी जग्गामा लगाएको फूलबाट यस वर्ष करिब दुई लाख रुपैयाँ आम्दानी गर्ने उनको लक्ष्य छ ।

विगतमा भारतीय फूल र कृत्रिम मालाका कारण नेपाली किसानले बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको पोख्रेलको भनाइ छ । स्वदेशी किसानको उत्पादनले उचित बजार पाउन सरकारले भारतीय फूल र कृत्रिम फूलको अनियन्त्रित आयात तथा प्रयोगलाई नियन्त्रण गर्नुपर्ने उनको माग छ ।

‘गत वर्ष भारतबाट फूल नआउँदा नेपाली किसानले उत्पादन गरेको फूल सहज रूपमा बिक्री भएको थियो । यो वर्ष पनि सोहीअनुसार बिक्री हुन्छ भन्ने आशा छ,’ उनले भने, ‘उनले विचौलियाहरू फूल किन्न धाइरहेका छन् । तर हामी सिधै उपभोक्तालाई बिक्री गर्ने तयारीमा छौं ।’

बारीदेखि बजारसम्म धनकुटाको फूल

धनकुटामा उत्पादित फूल स्थानीय बजारमा मात्र सीमित छैन । छिमेकी जिल्लासँगै तराईका विभिन्न शहर हुँदै काठमाडौं र बुटवलसम्म पुग्ने गरेको छ । यसले फूल खेतीलाई किसानको आयआर्जनको माध्यम बनाउँदै लगेको छ ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा कम्तीमा ५१ रोपनी क्षेत्रफलमा फूल खेती भइरहेको छ । यस वर्ष करिब ६ मेट्रिक टन फूल उत्पादन हुने अनुमान गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाका किसानले न्यूनतम ५० हजारदेखि ३५ लाख रुपैयाँसम्मको फूल उत्पादन गरी बिक्री गर्दै आएका छन् । ज्ञान केन्द्रमा फूल किसानलाई लक्षित छुट्टै कार्यक्रम नभए पनि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख गोविन्दप्रसाद आचार्यले बताए ।

फूल खेतीप्रति किसानको आकर्षण बढ्दै जानु यस क्षेत्रका लागि सकारात्मक पक्ष भएको उनको भनाइ छ । आचार्यका अनुसार ज्ञान केन्द्रको तथ्यांकभन्दा पनि बढी मात्रामा धनकुटामा फूल उत्पादन हुने अनुमान रहेको छ ।

कृत्रिम माला मोहले स्वदेशी किसानलाई चुनौती

पछिल्लो समय धनकुटामा फूल खेती विस्तार हुँदै गए पनि नेपाली किसानले बजारमा विभिन्न चुनौती सामना गर्नुपरेको छ । विशेषगरी भारतीय फूलको आयात र बजारमा पाइने कृत्रिम मालाको प्रयोगले स्थानीय उत्पादनको बिक्रीमा असर पार्ने गरेको किसानको गुनासो छ ।

तिहारमा मात्र होइन, अन्य चाडपर्व, विवाह, पूजाआजा तथा मेला महोत्सवमा समेत कृत्रिम मालाको प्रयोग बढ्दै गएको छ । हेर्दा आकर्षक र लामो समय टिक्ने भएकाले कृत्रिम मालाप्रति उपभोक्ताको आकर्षण बढेको देखिन्छ । तर यसको विकल्पका रूपमा स्थानीयस्तरमै उत्पादन भएका प्राकृतिक फूलको प्रयोग बढाउन सके किसानको आम्दानी बढ्नुका साथै स्थानीय उत्पादनले बजार पाउने किसान पौडेलले बताए ।

प्राकृतिक फूलको प्रयोगले गाउँको कृषि उत्पादनलाई प्रोत्साहन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउने सरोकारवालाको भनाइ छ ।

वातावरणीय दृष्टिले पनि कृत्रिम मालाको प्रयोग घटाउँदै प्राकृतिक फूललाई प्राथमिकता दिनु आवश्यक रहेको धनकुटाका फूल किसानहरूको भनाइ छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?