२१ कात्तिक, काठमाडौं । तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषामा १२४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले शनिवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।
उनकाअनुसार तिहारका बेला जुवातास, पटका पड्काउने, आगलागीलगायतका घटना नियन्त्रणमा विशेष ध्यान दिइएको छ । शान्ति सुरक्षा कायम गर्न सादा पोशाकका प्रहरी, पैदल तथा मोटरसाइकल गस्ती र रातिको समयमा एम्बुसिङ टोलीसमेत परिचालन गरिएको उनले बताए ।
चाडपर्वमा धेरै मानिस घर छाडेर गाउँ तथा अन्य स्थानमा जाने भएकाले चोरीका घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले निगरानी बढाएको उनको भनाइ छ ।
डीएसपी खनालले घर छाडेर बाहिर जानुपर्दा नजिकको प्रहरी युनिट, छिमेकी वा आफन्तलाई जानकारी गराउन र सम्भव भएसम्म घरको रेखदेख गर्ने व्यक्ति राख्न नागरिकलाई आग्रह गरे ।
‘तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गरी धनुषामा १,२४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । शान्ति सुरक्षा कायम गर्न सादा पोशाकका प्रहरी, पैदल तथा मोटरसाइकल गस्ती र रातिको निगरानी टोली खटाइएको छ । तिहारमा जुवातास, पटका, आगलागी तथा चोरी नियन्त्रणमा विशेष ध्यान दिइएको छ,’ उनले भनेका छन् ।
त्यस्तै, भीडभाड हुने स्थान तथा सार्वजनिक कार्यक्रममा जाँदा अत्यधिक महँगा सुनका गहना र बहुमूल्य सामग्री नलगाउन पनि उनले अनुरोध गरेका छन् ।
चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा परिचालनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4