+
+
Shares

पाँच मिनेटको दूरी पार गर्न दुई घण्टा, पक्की पुल नहुँदा भरबलियावासीलाई सास्ती

रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरवलिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभूत पूर्वाधार र सेवाको अभाव झेलिरहेका छन् । तिनाउ–दानव नदीमा पक्की पुल नहुँदा नजिकैको बस्ती पुग्नसमेत घण्टौँ घुम्नुपर्ने बाध्यता छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते ९:३१
Photo Credit : NAN

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूपन्देहीको सम्मरीमाई गाउँपालिका–५ भरबलिया गाउँका बासिन्दाले तिनाउ–दानव नदीमा पक्की पुल नहुँदा नदीपारि पुग्न ५० देखि ५५ किलोमिटर घुम्नुपरेको छ।
  • स्थानीयले सडक, खानेपानी, विद्युत्, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा सहज पहुँच नहुँदा वर्षौंदेखि सास्ती भोग्दै आएको बताएका छन्।
  • स्थानीय अगुवाले पक्की पुल र सिधा सडक बने भरबलियासहित लुम्बिनी आसपासका करिब ५० हजार मानिस लाभान्वित हुने दाबी गरेका छन्।

२२ कात्तिक, रूपन्देही । रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरबलिया गाउँका बासिन्दाका लागि नदीपारिको बस्ती पुग्नु सामान्य काम होइन । पाँच मिनेटमै पैदल पार गर्न सकिने नदी तर्न उनीहरूले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता छ । सवारीसाधनमा जाँदासमेत डेढदेखि दुई घण्टासम्म लाग्छ ।

तिनाउ–दानव नदीमा पक्की पुल नहुँदा नदीको वारि र पारि रहेका बस्तीका बासिन्दाले वर्षौंदेखि यस्तो सास्ती भोग्दै आएका छन् । यसको प्रत्यक्ष असर स्थानीयको दैनिक जीवन, खेतीपाती, कृषि उपजको ओसारपसार र आवतजावतमा परेको छ ।

गाउँमा सडक, खानेपानी, विद्युत्, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाको सहज पहुँचसमेत छैन । नजिकै रहेको बस्ती पुग्न लामो बाटो घुम्नुपर्ने अवस्थाले स्थानीयको समय र खर्च दुवै बढाएको छ ।

स्थानीय जमेरून निशा, जेलिल देवान, नुरूद होदा मुसलमान र बेचन हरिजनका अनुसार वर्षौंदेखि समस्या भोग्दै आए पनि समाधानका लागि सम्बन्धित निकायले पर्याप्त चासो दिएको छैन । गाउँमा सिधा सडक छैन । शिक्षा र स्वास्थ्य सेवाका लागि समेत सहज पहुँच नहुँदा स्थानीयले अनेक कठिनाइ झेल्नुपरेको उनीहरूको भनाइ छ ।

‘वर्षौंदेखि दुःख भोगिरहेका छौँ । गाउँमा सिधा बाटो छैन, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच छैन । नदीपारि जानुपर्दा लामो बाटो घुम्नुपर्छ। हाम्रो समस्या सुन्ने र समाधान गर्ने कोही भएन,’ खेतमा बदाम खन्दै गरेका स्थानीय राजेन्द्र गुप्ताले भने ।

बाढीले छुट्याएको गाउँ, विपत्तिले थपेको पीडा

स्थानीयका अनुसार वि.सं. २०३२ मा आएको बाढीले गाउँलाई नदीको वारि र पारि गरी दुई भागमा छुट्याएको थियो । बाढीका कारण बस्ती विस्थापित भएपछि गाउँलाई पुरानो स्थानबाट करिब एक किलोमिटर टाढा सार्नुपरेको थियो ।

बस्ती स्थानान्तरणपछि पनि प्राकृतिक विपत्तिको जोखिम र पूर्वाधार अभावले स्थानीयको जनजीवन सहज हुन सकेन ।

त्यसमा वि.सं. २०६० मा तत्कालीन वडा नम्बर ५ अन्तर्गतको मंगलपुर गाउँमा भएको आगलागीले थप पीडा दियो । स्थानीयका अनुसार उक्त आगलागीमा पाँच जनाको मृत्यु भएको थियो भने ठूलो भौतिक क्षति भएको थियो ।

आगलागीका बेला उद्धार र उपचारको पर्याप्त व्यवस्था नहुँदा आफूहरूले ठूलो दुःख भोग्नुपरेको र परिवारका सदस्यसमेत गुमाउनुपरेको उनीहरू बताउँछन् ।

विपत्तिका बेला आवश्यक सहयोग नपाएको र त्यसपछि पनि आफ्नो अवस्थाबारे बुझ्न तथा समस्या समाधान गर्न सम्बन्धित निकायबाट पर्याप्त पहल नभएको स्थानीयको गुनासो छ ।

झोलुङ्गे पुल छ, तर सहज छैन

तिनाउ–दानव नदीमा एउटा झोलुङ्गे पुल भए पनि त्यसबाट सवारीसाधन आवतजावत गर्न सकिँदैन । त्यसैले नदीपारि रहेका खेतबारीमा पुग्न किसानलाई कठिनाइ हुने गरेको छ ।

स्थानीयको मुख्य पेसा खेतीकिसानी र मजदुरी हो । खेतीपातीका लागि आवश्यक बीउबिजन, मल, पानी तथा अन्य कृषि सामग्री ओसारपसार गर्नेदेखि उत्पादन भित्र्याउने बेलासम्म उनीहरूले अतिरिक्त समय, श्रम र खर्च व्यहोर्नुपरेको छ ।

नदीपारिको खेतमा बाली लगाउन, स्याहार्न र उत्पादन बजारसम्म पुर्याउन सहज बाटो नहुँदा कृषि कर्म नै कष्टकर बनेको किसानहरूको भनाइ छ । पक्की पुल र सडक नहुँदा गाउँको आर्थिक गतिविधिसमेत प्रभावित भएको छ ।

पक्की पुल बने ५० हजार मानिस लाभान्वित हुने दाबी

स्थानीय अगुवा वाजिद अली देवानले भरबलिया गाउँको आवागमन सहज बनाउन सडक निर्माण र नदीमा पक्की पुल बनाउन लामो समयदेखि पहल गर्दै आएको बताए ।

उनका अनुसार तिनाउ–दानव नदीमा पक्की पुल निर्माण हुन सके भरबलियासहित बुद्ध जन्मस्थल लुम्बिनी आसपासका क्षेत्रका करिब ५० हजार मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

‘एउटा पक्की पुल र सिधा सडक निर्माण हुन सके यहाँका नागरिकले भोग्दै आएको ठूलो समस्या समाधान हुन्छ । किसानलाई खेतबारीमा पुग्न, कृषि उपज बजारसम्म पुर्याउन र बिरामीलाई उपचारका लागि लैजान सहज हुन्छ,’ देवानले भने ।

उनका अनुसार पुलको अभावले स्थानीयको समय र खर्च मात्रै बढाएको छैन, शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक गतिविधिमा समेत असर पारेको छ। सहज सडक सञ्जाल नहुँदा गाउँको समग्र विकास प्रभावित भएको उनको भनाइ छ ।

सम्मरीमाई गाउँपालिका–५ मा करिब ६ हजार ५०० र पालिकाभर करिब ४३ हजार जनसंख्या रहेको स्थानीयको भनाइ छ ।

देवानले गाउँको वास्तविक अवस्थाबारे सरकार, पूर्वाधारमन्त्री सुनिल लम्साल तथा यस क्षेत्रका संघीय सांसद कन्हैया बनिया र तैफिक अहमदलाई भेटेरै जानकारी गराएको बताए ।

चुनावमा आश्वासन, गाउँमा उस्तै सास्ती

स्थानीयका अनुसार चुनावका बेला विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर विकासका आश्वासन दिने गर्छन् । तर, निर्वाचनपछि ती आश्वासन कार्यान्वयनमा नआउँदा गाउँको अवस्था वर्षौंदेखि उस्तै रहेको उनीहरूको गुनासो छ ।

मर्चवार क्षेत्रका विभिन्न बस्तीमा पूर्वाधार विकासको आवश्यकता रहे पनि भरबलियाको समस्या प्राथमिकतामा नपरेको स्थानीयको आरोप छ । उनीहरूले तिनाउ–दानव नदीमा पक्की पुल निर्माण, सडकको स्तरोन्नति तथा शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

भरबलियाका बासिन्दाका लागि पक्की पुल केवल नदी वारपार गर्ने संरचना मात्र होइन, वर्षौंदेखि भोग्दै आएको सास्तीबाट मुक्ति पाउने आशा पनि हो ।

पुल बनेमा किसानलाई खेतीपाती गर्न, बालबालिकालाई विद्यालय जान, बिरामीलाई अस्पताल पुर्याउन र स्थानीयलाई दैनिक कामकाज गर्न सहज हुने नन्दलाल हरिजन बताउँछन् ।

– न्युज एजेन्सी नेपालको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?