+

आईओएमले गर्‍यो एमबीबीएस, बीडीएससहित सबै डीएम र एमसीएचका पाठ्यक्रम परिमार्जन

२०८३ कात्तिक  २२ गते १३:५३ २०८३ कात्तिक २२ गते १३:५३
आईओएमले गर्‍यो एमबीबीएस, बीडीएससहित सबै डीएम र एमसीएचका पाठ्यक्रम परिमार्जन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले एमबीबीएस, बीडीएस र सबै १५ वटा डीएम/एमसीएच कार्यक्रमका पाठ्यक्रम परिमार्जन गरेको छ।

२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएस, बीडीएस तथा सबै १५ वटा डीएम/एमसीएच कार्यक्रमका पाठ्यक्रम परिमार्जन गरेको छ । चिकित्सा शिक्षाको गुणस्तर, सान्दर्भिकता र समयानुकूल विकासलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिएको आईओएमका डीन प्रा.डा मोहन राज शर्माले बताए ।

शर्माका अनुसार परिमार्जित पाठ्यक्रमहरू त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषबाट स्वीकृत भएका हुन् ।

यसअन्तर्गत एमबीबीएस र बीडीएसका स्नातक तहका पाठ्यक्रमका साथै नौवटा डीएम र छ वटा एमसीएच गरी सुपर स्पेसियालिटी तहका सबै १५ कार्यक्रमका पाठ्यक्रम संशोधन गरिएको हो ।

यसरी स्नातकदेखि अति विशिष्टीकृत तहसम्मका महत्वपूर्ण चिकित्सा शिक्षा कार्यक्रमको पाठ्यक्रम एकै वर्षमा परिमार्जन हुनु संस्थानको शैक्षिक सुधारप्रतिको प्रतिबद्धता र संस्थागत प्रयासको महत्वपूर्ण रहेको आईओएमका डीन प्रा.डा मोहन राज शर्माले बताए ।

उनका अनुसार विद्यार्थीमा सैद्धान्तिक ज्ञानका साथै चिकित्सकीय तथा प्रक्रियागत सीप, सञ्चार क्षमता, व्यावसायिकता, नैतिकता, अनुसन्धान क्षमता र स्वास्थ्य प्रणालीसम्बन्धी व्यावहारिक दक्षताको विकास हुनेछ।

साथै, विद्यार्थीकेन्द्रित शिक्षण विधि, आधुनिक प्रविधि र क्लिनिकल अभ्यासबीचको समन्वयलाई थप सुदृढ बनाइएको उनले बताए ।

एमबीबीएस पाठ्यक्रममा अनुसन्धान विधिशास्त्रलाई महत्वपूर्ण पाठ्यविषयका रूपमा समावेश गरिएको छ । आन्तरिक चिकित्सा अन्तर्गत जेरियाट्रिक मेडिसिन (वृद्धावस्थासम्बन्धी चिकित्सा) थप गरिएको छ।

त्यस्तै, सञ्चार सीप, सूचना प्रविधि, कृत्रिम बौद्धिकता , चिकित्सकीय नैतिकता तथा आधुनिक शिक्षण–सिकाइ विधिलाई विशेष महत्व दिइएको छ। निरन्तर मूल्याङ्कनलाई सुदृढ गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक दुवै परीक्षामा कुल प्राप्ताङ्कको कम्तीमा ३० प्रतिशत भार निर्धारण गरिएको छ।

त्यसैगरी, बीडीएस पाठ्यक्रममा दक्षतामा आधारित शिक्षण प्रणाली अवलम्बन गर्दै दन्त चिकित्सासम्बन्धी व्यावहारिक सीप, व्यावसायिकता, सञ्चार क्षमता, नैतिकता र नयाँ प्रविधिको प्रयोगमा जोड दिइएको छ ।

मनोचिकित्सालाई छुट्टै विषयका रूपमा समावेश गर्नुका साथै निरन्तर तथा निर्माणात्मक मूल्याङ्कन प्रणालीलाई थप महत्व दिइएको छ । पाठ्यक्रमलाई वर्तमान दन्त स्वास्थ्यसम्बन्धी आवश्यकता र आधुनिक उपचार पद्धतिसँग थप सान्दर्भिक बनाउने प्रयास गरिएको छ।

चिकित्सा विज्ञानमा भइरहेका नवीनतम विकासलाई आत्मसात् गर्दै डिजिटल प्रविधि तथा कृत्रिम बौद्धिकताको प्रयोगलाई समेत पाठ्यक्रममा समेटिएको उनले बताए ।

आईओएम चिकित्सा शिक्षा पाठ्यक्रम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय