News Summary
Generated by OK AI. Editorially reviewed.- नितेश तिवारी निर्देशित ‘रामायणः पार्ट–१’ले चार दिनमै विश्वभर ५०७ करोड २० लाख भारु कमाएको छ ।
- स्याकनिल्कका अनुसार फिल्मले भारतमा मात्रै चार दिनमा २५२ करोड ७८ लाख नेट र ३०१ करोड ६४ लाख ग्रस कलेक्सन गरेको छ ।
- चार दिनको कमाइसँगै फिल्म सन् २०२६ मा सर्वाधिक कमाउने भारतीय फिल्मको सूचीमा चौथो र हिन्दी फिल्मको सूचीमा तेस्रो स्थानमा पुगेको छ ।
- ट्रेड एक्सपर्ट सुमित कडेलले फिल्मलाई हिट मान्न हिन्दीमा ९०० देखि १००० करोड र विश्वभर २५०० करोड कमाइ आवश्यक पर्ने बताएका छन् ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायणः पार्ट–१’ले प्रदर्शनको चार दिनमै विश्वभरबाट ५०० करोड भारुभन्दा बढी कमाइ गरेको छ ।
प्रदर्शनको सुरुवाती दिनदेखि नै बक्स अफिसमा आक्रामक देखिएको फिल्मले चौथो दिनसम्म आइपुग्दा ५०७ करोड २० लाख भारु कमाएको हो ।
यो कमाइसँगै फिल्म सन् २०२६ मा सर्वाधिक कमाउने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ । त्यस्तै, हिन्दी फिल्मको सूचीमा भने तेस्रो स्थानमा छ ।
चार दिनमै ५०० करोडको आँकडा पार गरेपछि फिल्मको व्यावसायिक प्रदर्शनलाई लिएर बलिउडमा चर्चा चुलिएको छ ।
कलेक्सन ट्र्याक गर्ने वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले भारतमा मात्रै चार दिनमा २५२ करोड ७८ लाख भारु नेट कलेक्सन गरेको छ ।
भारतमा यसको ग्रस कलेक्सन ३०१ करोड ६४ लाख भारु पुगेको छ । विदेशको कमाइसमेत जोड्दा विश्वव्यापी ग्रस कलेक्सन ५०७ करोड २० लाख भारु पुगेको हो ।
तर, यति छोटो समयमै ५०० करोडको आँकडा पार गरे पनि कमाइको गति रेकर्डका हिसाबले भने फिल्म केही पछाडि छ ।
यस वर्ष सर्वाधिक कमाइ गर्ने फिल्म ‘धुरन्धरः द रिभेन्ज’ले तीन दिनमै विश्वभरबाट ५०० करोडभन्दा बढी कमाएको थियो ।
‘रामायणः पार्ट–१’लाई यही आँकडा पार गर्न चार दिन लागेको छ ।
छिटो ५०० करोड कमाउने फिल्मको सूचीमा ‘पुष्पाः द रुल’ र ‘बाहुबली–२’ पनि छन् । यी फिल्मले पनि बक्स अफिसमा निकै तीव्र गतिमा कमाइ गरेका थिए ।
हिन्दी फिल्ममा अगाडि, अब ‘दृश्यम–३’को रेकर्डमा नजर
चार दिनको कमाइसँगै ‘रामायणः पार्ट–१’ यस वर्ष सर्वाधिक कमाउने हिन्दी फिल्ममध्ये तेस्रो स्थानमा पुगेको छ । अब यसको नजर दोस्रो स्थानमा रहेको अजय देवगन अभिनीत फिल्म ‘दृश्यम–३’को रेकर्डमा छ ।
‘दृश्यम–३’ले विश्वव्यापी रूपमा ५७४ करोड भारु कमाएको बताइएको छ । अहिलेको कमाइको गति कायम राख्न सके ‘रामायणः पार्ट–१’ले केही दिनमै यो आँकडा पार गर्न सक्छ ।
त्यसपछि फिल्मको प्रतिस्पर्धा यस वर्षको सर्वाधिक कमाइ गर्ने फिल्म ‘धुरन्धरः द रिभेन्ज’सँग हुनेछ ।
यद्यपि, सुरुवाती कमाइका आधारमा मात्रै फिल्मको अन्तिम व्यावसायिक सफलता अनुमान गर्न भने हतार हुनेछ ।
हिट हुन ९ देखि ११ सय करोडसम्म कमाउनुपर्ने ?
फिल्मले चार दिनमै ५०० करोडको आँकडा पार गरे पनि यसलाई व्यावसायिक रूपमा हिट हुन अझै लामो यात्रा तय गर्नुपर्ने देखिन्छ । ट्रेड एक्सपर्टहरूले फिल्मको बजेट र लगानीका आधारमा यसको सफलताको मापदण्ड निकै ठूलो हुने बताएका छन् ।
ट्रेड एक्सपर्ट सुमित कडेलले फिल्मलाई हिट बनाउन हिन्दी भाषामै ९०० देखि १००० करोड भारुसम्मको कमाइ आवश्यक पर्ने बताएका छन् । उनका अनुसार विश्वव्यापी रूपमा फिल्मले २५०० करोड भारु कमाउनुपर्ने हुन्छ ।
उनले सोमबार र मंगलबार फिल्मले १००–१०० करोड भारु कमाउन नसके यसको हिन्दी संस्करणको कुल कमाइ ६०० देखि ७०० करोड भारुमा सीमित हुन सक्ने अनुमान गरेका छन् ।
ट्रेड एनालिस्ट रोहित जयसवालको विश्लेषण भने केही फरक छ । उनका अनुसार कुनै पनि फिल्मको कमाइको हिसाब गर्दा निर्माताले थिएटरबाट हुने आम्दानीलाई मात्रै आधार मान्दैनन् ।
स्याटेलाइट, ओटीटी, संगीत र अन्तर्राष्ट्रिय वितरण अधिकारबाट पनि निर्माताले आम्दानी गर्छन् ।
उनका अनुसार ‘रामायणः पार्ट–१’को बजेट २००० करोड भारु रहेको अवस्थामा यसको मानक थिएट्रिकल भ्यालु करिब १२०० करोड भारु हुन आउँछ ।
यसमा भारतको बजारलाई मुख्य आधार मान्दा कुल कमाइको ७० प्रतिशत अर्थात् करिब ८४० करोड भारु भारतबाटै आउनुपर्ने उनको विश्लेषण छ ।
तर, भारतबाट ८४० करोड भारु कमाउँदैमा फिल्मलाई हिट भन्न नमिल्ने उनी बताउँछन् । किनभने थिएटर सञ्चालक अर्थात् एक्जिबिटर्सको हिस्सा कटाएपछि मात्रै बाँकी रकम वितरकसम्म पुग्छ ।
वितरकले नाफा कमाउन सकेपछि मात्रै फिल्मको व्यावसायिक सफलता सुनिश्चित हुने उनको तर्क छ ।
त्यसैले ‘रामायणः पार्ट–१’लाई भारतीय बजारमै हिटको श्रेणीमा पुर्याउन कम्तीमा ११०० करोड भारुसम्मको कमाइ आवश्यक पर्ने जयसवालको भनाइ छ ।
यसरी हेर्दा चार दिनमै ५०७ करोड भारु कमाएको ‘रामायणः पार्ट–१’ले बक्स अफिसमा बलियो सुरुवात त गरेको छ, तर यसको वास्तविक परीक्षा भने आगामी दिनमा हुनेछ ।
सुरुवाती उत्साहलाई निरन्तरता दिँदै फिल्मले कति कमाइ गर्छ भन्ने कुराले नै यसको सफलताको अन्तिम हिसाब तय गर्नेछ ।
प्रतिक्रिया 4