+
+
Shares

गुल्मीमा कृत्रिम माला विस्थापित हुँदै, प्राकृतिक फूलप्रति बढ्दै आकर्षण

तिहारमा गुल्मी सदरमुकाम तम्घास बजारमा चहलपहल बढेको छ । पसलहरूमा तिहारका लागि आवश्यक सामग्री किनमेल गर्नेको भिड देखिन्छ । विगतका वर्षमा तिहारको समयमा बजारका पसलहरूमा प्रशस्त देखिने रंगीविरंगी कृत्रिम फूलका माला भने यस वर्ष निकै कम देखिएका छन् ।

अनिल खत्री अनिल खत्री
२०८३ कात्तिक २३ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा स्थानीय तहले कृत्रिम फूलका माला बिक्री वितरणमा रोक लगाएपछि तिहारमा प्राकृतिक मखमली र सयपत्री फूलको माग बढेको छ।
  • तम्घास बजारमा कृत्रिम माला कम देखिएका छन् र उपभोक्ता प्राकृतिक फूलतर्फ आकर्षित भएका छन्।
  • स्थानीय तहका अनुसार प्रतिबन्धले स्थानीय फूलखेती, किसानको आम्दानी र तिहारको मौलिक परम्परा जोगाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

२३ कात्तिक, गुल्मी । तिहारमा प्राकृतिक फूलका मालाले विशेष महत्व राख्छ । विशेषगरी भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइको गलामा मखमली र सयपत्री फूलका माला पहिर्‍याएर दीर्घायू, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ ।

तर, पछिल्ला वर्षमा प्राकृतिक फूलको सट्टा कृत्रिम फूलका माला प्रयोग गर्ने क्रम बढ्दै गएको थियो । गुल्मीमा भने केही वर्षदेखि स्थानीय तहले कृत्रिम फूलका माला बिक्री वितरणमा रोक लगाएसँगै प्राकृतिक फूलप्रतिको आकर्षण बढ्न थालेको छ ।

तिहारमा गुल्मी सदरमुकाम तम्घास बजारमा चहलपहल बढेको छ । पसलहरूमा तिहारका लागि आवश्यक सामग्री किनमेल गर्नेको भिड देखिन्छ । विगतका वर्षमा तिहारको समयमा बजारका पसलहरूमा प्रशस्त देखिने रंगीविरंगी कृत्रिम फूलका माला भने यस वर्ष निकै कम देखिएका छन् ।

त्यसको सट्टा प्राकृतिक मखमली र सयपत्री फूलका मालाले बजारमा स्थान पाउन थालेका छन् । जिल्लाका विभिन्न स्थानीय तहले कृत्रिम फूलका माला बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएपछि बजारमा यस्ता माला भित्रिने क्रम रोकिएको हो ।

स्थानीय तहले प्राकृतिक फूलको प्रयोगलाई प्राथमिकता दिन थालेपछि जिल्लाकै प्रमुख व्यापारिक केन्द्र तम्घास बजारसँगै ग्रामीण क्षेत्रका बजारमा पनि उपभोक्ताहरू प्राकृतिक फूलतर्फ आकर्षित हुन थालेका छन् ।

रेसुङ्गा नगरपालिका–१ का स्थानीय घनश्याम पाण्डेका अनुसार तिहारमा प्राकृतिक फूलका माला प्रयोग गर्नु हाम्रो मौलिक परम्परा र संस्कृतिसँग जोडिएको विषय हो ।

पछिल्ला वर्षमा बजारमा सहजै पाइने कृत्रिम मालाको प्रयोग बढ्दा स्थानीय फूल र परम्परागत संस्कृतिको महत्व ओझेल पर्दै गएको थियो । तर पछिल्ला वर्षमा स्थानीय तहले कृत्रिम मालामा रोक लगाएपछि प्राकृतिक फूलको प्रयोग बढेको छ ।

स्थानीयस्तरमा उत्पादन भएका फूलले बजार पाउने वातावरण बन्नु सकारात्मक भएको पाण्डेको भनाइ छ । कृत्रिम फूलका माला सस्तो, टिकाउ र विभिन्न रङ तथा आकारमा सहजै उपलब्ध हुने भएकाले विगतमा यसको प्रयोग बढेको थियो ।

तर, यस्ता माला प्रयोगपछि पुनः प्राकृतिक रूपमा नष्ट नहुने, वातावरणमा फोहोर बढाउने र स्थानीय उत्पादनलाई निरुत्साहित गर्ने समस्या देखिँदै आएको छ । अर्कोतर्फ, प्राकृतिक फूलको प्रयोगले स्थानीय किसानलाई उत्पादन र बिक्रीको अवसर प्रदान गर्नुका साथै तिहारको मौलिकता जोगाउन पनि सहयोग पुग्ने देखिन्छ ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठका अनुसार कृत्रिम फूलका माला बिक्री वितरणमा लगाइएको रोकले प्राकृतिक फूलको बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए । उनले तम्घासका व्यवसायीलाई प्राकृतिक फूल उत्पादनतर्फ आकर्षण गरिएको बताए ।

प्राकृतिक फूलको प्रयोग बढेमा स्थानीय उत्पादनले बजार पाउने, किसानको आम्दानी बढ्ने र जिल्लाभित्रै आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने उनको भनाइ छ । तिहारको भाइटीकामा मखमली र सयपत्री फूलका मालाको विशेष धार्मिक तथा सांस्कृतिक महत्व छ ।

मखमली फूल लामो समयसम्म नओइलाउने भएकाले यसलाई दाजुभाइको दीर्घायू र दिदीबहिनीको आत्मीय मायाको प्रतीकका रूपमा लिने गरिन्छ । सयपत्री फूल पनि तिहारको सजावट र पूजाआजामा उत्तिकै महत्वपूर्ण मानिन्छ ।

तर, गाउँघरमा पर्याप्त फूल नपाइने, व्यावसायिक फूलखेतीको विस्तार हुन नसकेको तथा आफ्नै बारीमा फूल लगाउने चलन घट्दै गएकाले विगतमा कृत्रिम मालाप्रतिको निर्भरता बढ्दै गएको थियो ।

कृत्रिम फूलका माला प्रयोगमा रोक लगाउनुका साथै स्थानीय उत्पादनलाई प्राथमिकता दिने प्रयासले प्राकृतिक फूलखेतीतर्फ किसानको आकर्षण बढेको छ । मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलका अनुसार स्थानीय संस्कृति, परम्परा र वातावरण संरक्षणका लागि प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

कृत्रिम फूलका मालाले प्राकृतिक फूलको बजार विस्थापित गर्ने अवस्था सिर्जना गरेकाले यसको प्रयोगलाई निरुत्साहित गर्न स्थानीय तहले पहल गरेको बताए । स्थानीयस्तरमै फूलखेती विस्तार गर्ने, किसानलाई उत्पादनमा प्रोत्साहित गर्ने र प्राकृतिक फूलको सहज उपलब्धता सुनिश्चित गर्ने विषयमा पनि ध्यान दिइरहेको उनले बताए ।

तिहारलाई लक्षित गरी व्यावसायिक रूपमा मखमली र सयपत्री फूलखेती गर्न सके स्थानीय किसानले राम्रो आम्दानी लिन सक्छन् । घरका खाली जग्गा, करेसाबारी तथा खेतबारीमा फूलखेती गर्ने परम्परालाई पुनर्जीवित गर्न सके जिल्लाभित्रै फूलको माग पूरा गर्न सकिने सम्भावना छ ।

यसले बाहिरी जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्थासमेत कम गर्नसक्छ । कृत्रिम फूलका माला प्रयोग घट्दै जानु केवल बजारमा एउटा वस्तुको बिक्री रोकिनु मात्र होइन, यो स्थानीय उत्पादन, वातावरण संरक्षण र सांस्कृतिक पहिचानसँग जोडिएको विषय पनि हो ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?