News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकको अध्ययनले कोशी प्रदेशका होटलको औसत अकुपेन्सी गत आर्थिक वर्ष २०८२/८३ मा ३२ प्रतिशतमा झरेको देखाएको छ।
- अध्ययन अनुसार कोशीमा बाह्य पर्यटक आगमन २१.८ प्रतिशत घट्दा गत आव ४७ हजार ४ सय ५७ विदेशी पर्यटक पुगेका थिए।
- प्रतिवेदनले कोशीमा हवाई यात्रु संख्या ४.९ प्रतिशत घटेको र प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ४९.८५ प्रतिशत रहेको जनाएको छ।
२४ कात्तिक, काठमाडौं । मुलुकको पूर्वी भेगमा पर्यटक आगमन र होटल अकुपेन्सी (कोठा भराइ दर) एकसाथ घटेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकको कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार यस प्रदेशका होटलको अकुपेन्सी गत आर्थिक वर्ष २०८२/८३ मा ३२ प्रतिशतमा सीमित रह्यो । अघिल्लो वर्ष औसत ३९.२ प्रतिशत थियो ।
यस वर्ष अकुपेन्सी घट्नुमा वाह्य पर्यटक आगमन ओरालो लाग्नु एक कारण देखिएको छ । राष्ट्र बैंक अध्ययनमा समेटिएका होटलमा वाह्य पर्यटक गत आव २१.८ प्रतिशत घटेका छन् । अघिल्लो आव २८.६ प्रतिशत बढेको थियो ।
गत आव कोशीमा ४७ हजार ४ सय ५७ विदेशी पर्यटक पुगेका थिए । यस आव चिनियाँ पर्यटक संख्या केही बढे पनि भारतीयको संख्यामा उल्लेख्य गिरावट आएको छ । तेस्रो मुलुकका पर्यटक संख्या पनि घटेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिवेदन अनुसार यस प्रदेशमा हवाई यात्रु पनि घटेका छन् । हवाई यात्रु संख्या ४.९ प्रतिशत घटेको छ । गत आव उडान संख्या ५० हजार ९ सय २६ थियो । अघिल्लो वर्ष ५३ हजार ५ सय ३० थियो । हवाई यात्रु संख्या गत वर्ष १२ लाख १७ हजार ३ सय ८१ रहेकोमा अघिल्लो वर्ष १२ लाख ४६ हजार ८ सय ५ थिए ।
प्रतिवेदनले पूर्वी नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना औँल्याएको छ । हिमाली, पहाडी र तराईको विविधता, धार्मिक स्थल, बाह्रै महिना बग्ने नदीले पर्यटन र जलविद्युत् अवसर दिए पनि जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको असर न्यूनीकरण गर्नु प्रमुख चुनौती रहेको प्रतिवेदनमा उल्लेख छ ।
कोशी प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान कति ?
प्रतिवेदन अनुसार कोशी प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रले ४९.८५ प्रतिशत बराबर योगदान गरेको छ । अर्कातर्फ, सेवा क्षेत्रमा यस प्रदेशको अंश भने १२.७५ प्रतिशत छ ।
यस क्षेत्रमा तारे र सुविधासम्पन्न होटल समेत खुल्ने क्रम बढ्दो छ । यसले डेस्टिनेसन वेडिङ, व्यावसायिक बैठक, सेमिनार, धार्मिक भ्रमण तथा मनोरञ्जनात्मक पर्यटनको समेत सम्भावना अध्ययनले औँल्याएको छ ।
सगरमाथा, कञ्चनजङ्घा, मकालु–बरुण, श्रीअन्तु, भेडेटार तथा तीनजुरे मिल्के जलजले जस्ता क्षेत्रमा प्राकृतिक, साहसिक, दृष्यावलोकन, पदयात्रा र पर्यावरणीय पर्यटनको सम्भावना छ ।
धार्मिक पर्यटनमा समेत यस प्रदेशमा अधिक सम्भावना छ । पाथीभरा देवी मन्दिर, हलेसी महादेव, बराह क्षेत्र, रामधुनी तथा किराँत सम्भयताले प्रदेश धनी छ ।
प्रतिक्रिया 4