News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा रानाथारु समुदायका माटो, खर र काठका परम्परागत घर पक्की घरले विस्थापित गरिरहेका छन्।
- राजकुमार रानाका अनुसार ठूला सालका खम्बा पाउन नसक्नु र १०–१५ वर्षमै काठ फेरिनुपर्ने झन्झटका कारण परम्परागत घर निर्माण घटेको छ।
- सुदा राना र पशुराम रानाका अनुसार रानाथारु समुदायका परम्परागत पहिरन, भाँडाकुँडा र पर्व–संस्कारसमेत आधुनिकतासँगै हराउँदै गएका छन्।
२५ कात्तिक, कञ्चनपुर । रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन् । माटो, खर र काठ प्रयोग गरेर बनाइने यस्ता घर कुनै समय रानाथारु समुदायको जीवनशैली, संस्कृति र रहनसहनका परिचायक थिए । तर अहिले गाउँबस्तीमा यस्ता घर विरलै देख्न पाइन्छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार रानाका अनुसार रानाथारु समुदायमा अहिले परम्परागत घरको सट्टा पक्की घर निर्माण गर्ने क्रम बढेको छ । परम्परागत घर बनाउन ठूला सालका खम्बा आवश्यक पर्ने तर पहिलेझैँ जंगलबाट काठ ल्याउन नपाइने भएकाले यस्ता घर बन्न छाडेका हुन् ।
‘घर निर्माणका लागि ठूला–ठूला सालका खम्बा आवश्यक हुन्छन् । पहिले जस्तो जंगलबाट काठ ल्याउन पाइँदैन । यसकारण परम्परागत घर निर्माण हुन छोडेका हुन्,’ रानाले भने ।
परम्परागत घर निर्माणमा स्थानीय स्रोतसाधन र परम्परागत सीपको प्रयोग हुन्थ्यो । घरका भित्ता, छाना, आँगन र कोठाको बनावटसमेत रानाथारु समुदायको मौलिक विशेषतासँग जोडिएका हुन्छन् ।
तर यस्ता घरको मर्मतसम्भार पनि सहज छैन । घर निर्माणमा प्रयोग गरिएका काठमा १०–१५ वर्षपछि कीरा लाग्ने र कुहिन सुरु हुने भएकाले फेर्नुपर्ने हुन्छ । काठ पाउन मुस्किल हुनु र केही वर्षमै फेरि काठ फेर्नुपर्ने झन्झटका कारण नयाँ पुस्ता आधुनिक घरतर्फ आकर्षित भएको राजकुमार बताउँछन् ।
‘काठ पाउन मुस्किल छ । पाइहाले पनि १०–१५ वर्षपछि फेरि अर्को ल्याउनुपर्ने हुन्छ । यही झन्झटका कारण अहिलेको पुस्ताले आधुनिक घर बनाउन थालेको हो,’ उनले भने ।
परम्परागत घरसँगै रानाथारु समुदायको पहिरन र दैनिक जीवनमा प्रयोग हुने घरमै बनाइएका भाँडाकुँडा पनि हराउँदै गएका छन् । समुदायका महिलाले लगाउने घगरिया, अङ्गिया र उनियाँजस्ता परम्परागत पहिरन अहिले कमै देखिन्छन् ।
स्थानीय सुदा रानाका अनुसार परम्परागत पहिरन सिलाउने व्यक्ति नै पाउन मुस्किल हुन थालेको छ ।
‘घर मात्रै होइन, रानाथारु समुदायका परम्परागत पहिरनसमेत लोप हुँदै गएका छन् । परम्परागत पहिरन सिलाउने मान्छेसमेत भेटाउन गाह्रो हुन्छ,’ उनले भनिन् ।
उनका अनुसार अहिले रानाथारु समुदायको परम्परागत पहिरन शुभकार्यमा मात्रै देख्न पाइन्छ ।
आधुनिकताको प्रभाव रानाथारु समुदायका घर र पहिरनमा मात्रै सीमित छैन । समुदायले मनाउने पर्व र संस्कारमा समेत यसको प्रभाव पर्न थालेको अगुवा पशुराम राना बताउँछन् ।
परम्परागत घरको विशेषता हिउँदमा न्यानो र गर्मीमा चिसो हुनु हो । तर अहिले यस्ता घर बन्न छाडेको र आधुनिकताको प्रभाव पर्वहरूमा समेत देखिन थालेको उनको भनाइ छ ।
‘हिउँदमा तातो हुने र गर्मीमा चिसो हुने परम्परागत घरको विशेषता हो । अहिले परम्परागत घरहरू निर्माण हुँदैनन् । आधुनिकताको प्रभाव हाम्रा पर्वमा समेत परेको छ,’ उनले भने ।
पशुरामका अनुसार रानाथारु समुदायमा महिनौँसम्म मनाइने होली र तीजजस्ता पर्वको अवधि छोटिँदै गएको छ । पहिले पुरुषले पनि धोती र कुर्ता लगाउने गरेकामा अहिले गाउँमा एक–दुई जना वृद्धबाहेक कसैले त्यस्तो पहिरन लगाउन छाडेको उनको भनाइ छ ।
त्यस्तै, अन्न भण्डारण गर्न प्रयोग गरिने माटोका भकारीलगायत परम्परागत सामग्री पनि लोप हुँदै गएका छन् ।
परिवारको आर्थिक अवस्था सुधार हुँदै जानु, आधुनिक सुविधासहितका घरप्रति नयाँ पुस्ताको आकर्षण बढ्नु र परम्परागत घर निर्माणमा आवश्यक सामग्री पाउन कठिन हुनुले रानाथारु समुदायमा मौलिक घर बनाउने चलन घट्दै गएको छ ।
-राससबाट
प्रतिक्रिया 4