News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले नेपाल मेडिकल काउन्सिलले उपचारसम्बन्धी घटनामा तथ्य, प्रमाण र निष्पक्षताका आधारमा छानबिन र निर्णय गर्नुपर्ने बताइएको छ।
- काउन्सिलले चिकित्सा सेवा पूर्ण रूपमा जोखिमरहित नहुने भन्दै चिकित्सकीय त्रुटि, अपरिहार्य जटिलता र लापरबाहीबीच भिन्नता गर्न आग्रह गरेको छ।
स्वास्थ्य सेवा मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित अत्यन्त संवेदनशील र जिम्मेवार क्षेत्र हो । उपचारका क्रममा कुनै अप्रिय घटना घट्दा त्यसले बिरामी, बिरामीका परिवार, चिकित्सक, स्वास्थ्य संस्था र समग्र समाजलाई प्रभावित गर्दछ । यस्ता घटनाप्रति सबै पक्ष संवेदनशील हुनु स्वाभाविक हो । विशेषगरी बिरामी वा बिरामीका आफन्तले भोग्नुपरेको पीडा, चिन्ता र अन्योललाई हामीले गम्भीरतापूर्वक बुझ्नुपर्छ ।
तर यस्ता घटनाबारे सार्वजनिक सञ्चार गर्दा तथ्य, प्रमाण र निष्पक्षतालाई सर्वोपरि राख्नु आवश्यक हुन्छ ।
उपचारमा जोखिम र चिकित्सा विज्ञानको वास्तविकता
सबैभन्दा पहिले एउटा वैज्ञानिक यथार्थ बुझ्न आवश्यक छ—आधुनिक चिकित्सा विज्ञान अत्यन्त विकसित भइसकेको भए पनि कुनै पनि उपचार शतप्रतिशत जोखिमरहित हुँदैन ।
एउटा सामान्य औषधि वा एउटा सुईको प्रयोगबाट समेत गम्भीर प्रतिक्रिया उत्पन्न हुन सक्छ । यस्ता घटना दुर्लभ हुन्छन् । यसलाई चिकित्सकीय भाषामा (इडियोसिन्क्रासी रियाक्सन) वा अन्य प्रकारका औषधिजन्य प्रतिकूल प्रतिक्रिया भनिन्छ । औषधिको सानो मात्रा वा परीक्षणका क्रममा समेत दुर्लभ अवस्थामा गम्भीर एलर्जी अर्थात् (एनाफिलिक्सिस)हुन सक्छ, जसले जीवनलाई नै जोखिममा पार्न सक्छ ।
त्यस्तै, शल्यक्रिया गर्दा, बिरामीलाई बेहोस बनाउँंदा , इन्ट्युबेसन गर्दा वा अन्य चिकित्सकीय प्रक्रिया अपनाउँदा पनि अप्रत्याशित जटिलता उत्पन्न हुन सक्छन्
बिरामीको अन्तर्निहित शारीरिक अवस्था, शारीरिक बनावट, जन्मजात असामान्य अवस्था (शारीरिक तथा कोषीय) अवस्था, आनुवंशिक विशेषता र औषधिप्रतिको व्यक्तिगत संवेदनशीलताले पनि उपचारको परिणाममा प्रभाव पार्न सक्छन् ।
त्यसैले उपचारका क्रममा कुनै अप्रिय घटना घट्यो भन्दैमा स्वतः चिकित्सकीय लापरबाही भएको निष्कर्ष निकाल्नु वैज्ञानिक र न्यायिक दृष्टिले उचित हुँदैन । तर यसै आधारमा चिकित्सकीय त्रुटि वा लापरबाहीको सम्भावनालाई पनि अस्वीकार गर्न मिल्दैन ।
हामीले उपचारबाट बिरामीलाई वञ्चित गर्ने होइन, उपलब्ध वैज्ञानिक प्रमाण र चिकित्सकीय मापदण्डअनुसार सम्भव भएसम्म सुरक्षित उपचार सुनिश्चित गर्ने हो ।
चिकित्सकीय नैतिकता र बिरामीको सर्वोपरि हित
चिकित्सा पेसा केवल ज्ञान, सीप र प्रविधिमा आधारित पेसा होइन । यो गहिरो मानवीय संवेदना, नैतिकता र सेवाभावमा आधारित पेसा हो ।
चिकित्सकीय नैतिकताका चार प्रमुख आधार छन् ।
पहिलो—अटोनोमी अर्थात् बिरामीको स्वतन्त्रता र छनौटको अधिकार ।
बिरामीलाई आफ्नो रोग, निदान, उपचारका विकल्प, सम्भावित जोखिम र परिणामबारे बुझ्न पाउने अधिकार छ । पर्याप्त जानकारी दिएर बिरामीको सूचित सहमति लिनुपर्छ । उसको निर्णय र स्वतन्त्रताको सम्मान गर्नुपर्छ ।
दोस्रो—अर्थात् बिरामीको हित
चिकित्सकले आफ्नो सम्पूर्ण ज्ञान, सीप र अनुभव बिरामीको हितमा प्रयोग गर्नुपर्छ । उपचारको केन्द्रमा बिरामी हुनुपर्छ, चिकित्सकको व्यक्तिगत लाभ वा अन्य स्वार्थ होइन ।
तेस्रो—बिरामीलाई अर्थात् हानि नगर्ने सिद्धान्त ।
अनावश्यक जोखिम, अनुचित परीक्षण, अनावश्यक औषधि वा अनुपयुक्त उपचारबाट बिरामीलाई जोगाउनु चिकित्सकको नैतिक जिम्मेवारी हो ।
चौथो—न्याय र समानता ।
बिरामीको आर्थिक अवस्था, सामाजिक हैसियत, राजनीतिक पहुँच, जातीय वा अन्य पृष्ठभूमिका आधारमा उपचारमा विभेद हुनुहुँदैन । सबैले समान सम्मान र न्यायपूर्ण स्वास्थ्य सेवा पाउनुपर्छ ।
चिकित्सकले औषधि कम्पनी, प्रायोजक वा अन्य व्यावसायिक स्वार्थभन्दा बिरामीको हितलाई प्राथमिकता दिनुपर्छ । अनावश्यक परीक्षण वा औषधि सिफारिस गरेर बिरामीमाथि आर्थिक भार थप्नु पनि नैतिकताको विषय हो ।
यी सिद्धान्त केवल कानुनी प्रावधानबाट मात्र उत्पन्न भएका होइनन् । मानव सभ्यताको दर्शन, नैतिक चिन्तन र मानवीय संवेदनासँग पनि जोडिएका छन् ।
उपनिषद्को ‘ईशावास्यमिदं सर्वम्’, भगवद्गीताको निष्काम कर्मको दर्शन, गौतम बुद्धको करुणा, स्वामी विवेकानन्दको मानव सेवासम्बन्धी दृष्टिकोण तथा सुकरातलगायत पश्चिमी दार्शनिकहरूको नैतिक चिन्तनले पनि मानवप्रतिको सम्मान, करुणा र कर्तव्यलाई महत्त्व दिएका छन् । चिकित्सा सेवामा पनि यही मानवीय दृष्टिकोण आवश्यक छ ।
चिकित्सकीय त्रुटि, लापरबाही र अपरिहार्य जटिलताबीचको भिन्नता
उपचारका क्रममा हुने सबै अप्रिय परिणामलाई एउटै दृष्टिकोणबाट हेर्न मिल्दैन । एउटा पक्षमा उपचारका क्रममा हुन सक्ने अपरिहार्य चिकित्सकीय जटिलता हुन्छन् । अर्को पक्षमा मानवीय त्रुटि, सावधानी अपनाउनुपर्ने विषयमा कमजोरी, आवश्यक परामर्शको अभाव वा स्थापित चिकित्सकीय मापदण्डको पालना नगरेको अवस्था हुन सक्छ ।
चिकित्सक पनि मानव हुन् । मानवीय त्रुटि हुन सक्छ । तर त्यसलाई सामान्यीकरण गरेर बेवास्ता गर्न मिल्दैन । चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो ज्ञान, सीप, अनुभव र जिम्मेवारीअनुसार आवश्यक सावधानी अपनाउनुपर्छ ।
विशेषगरी जटिल उपचारमा सम्बन्धित विशेषज्ञबीच उचित परामर्श, छलफल र सहकार्य अत्यन्त आवश्यक हुन्छ । कहिलेकाहीँ चिकित्सकहरूबीच परामर्शको महत्त्वलाई पर्याप्त प्राथमिकता नदिइएको हुन सक्छ । सञ्चारको अभाव, भाषागत कठिनाइ, बुझाइमा भिन्नता, संस्थागत अव्यवस्था वा जिम्मेवारीको स्पष्ट विभाजन नहुनुले पनि समस्या सिर्जना गर्न सक्छ ।
त्यस्तै, बिरामी र चिकित्सकबीचको सम्बन्ध पनि उपचारको महत्त्वपूर्ण पक्ष हो । चिकित्सकसँग ज्ञान र सीप हुनु मात्र पर्याप्त हुँदैन । बिरामीको कुरा ध्यानपूर्वक सुन्ने, उसको परिस्थिति बुझ्ने, उपचारका विकल्प स्पष्ट पार्ने र विश्वासको सम्बन्ध स्थापित गर्ने क्षमता पनि उत्तिकै आवश्यक हुन्छ ।
यसैले उपचारमा देखिने त्रुटिको छानबिन गर्दा औषधि वा शल्यक्रियाको प्राविधिक पक्ष मात्र होइन, परामर्श, सञ्चार, टिमवर्क, संस्थागत व्यवस्था र बिरामीसँगको सम्बन्धलाई समेत मूल्याङ्कन गर्नुपर्छ ।
कानुनी जवाफदेहिता र व्यावसायिक अनुशासन
चिकित्सकीय पेसा स्वनियमन र जवाफदेहितामा आधारित हुनुपर्छ । नेपालमा चिकित्सकको व्यावसायिक आचरण र अनुशासनका लागि नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली तथा आचारसंहितालगायत कानुनी व्यवस्था छन् ।
यदि कुनै चिकित्सकको व्यावसायिक आचरणमा कमजोरी, आचारसंहिताको उल्लङ्घन वा गम्भीर लापरबाही भएको उजुरी प्राप्त हुन्छ भने त्यसको निष्पक्ष छानबिन हुनुपर्छ । छानबिनबाट प्रमाणित भएका कसुरको प्रकृति र गम्भीरताअनुसार सचेत गराउने, चेतावनी दिने, दर्ता निलम्बन गर्ने वा कानुनले व्यवस्था गरेअनुसार नाम दर्ताबाट हटाउनेसम्मका अनुशासनात्मक कारबाही हुन सक्छन् ।
त्यसैगरी, उपचारमा भएको लापरबाही वा त्रुटिबाट बिरामीलाई क्षति पुगेको अवस्थामा प्रचलित कानुनअनुसार क्षतिपूर्ति तथा अन्य कानुनी उपचारको व्यवस्था पनि छ ।
गम्भीर लापरबाही वा अन्य कानुनद्वारा दण्डनीय कार्य प्रमाणित भएमा सम्बन्धित कानुनअनुसार फौजदारी जवाफदेहिता पनि आकर्षित हुन सक्छ ।
अर्कोतर्फ, आवश्यक योग्यता र अनुमति वा दर्ताबिना चिकित्सा अभ्यास गर्नु पनि कानुनविपरीत हो ।
त्यसैले नेपालमा कानुन र नियमनको व्यवस्था नभएको होइन । भएका कानुनी व्यवस्थाको निष्पक्ष, प्रभावकारी र प्रमाणमा आधारित कार्यान्वयन महत्त्वपूर्ण हो ।
नेपाल मेडिकल काउन्सिलको जिम्मेवारी कुनै चिकित्सकलाई संरक्षण गर्नु होइन । न त कुनै पूर्वाग्रहका आधारमा दोषी ठहर गर्नु हो । यसको जिम्मेवारी प्रमाण, विशेषज्ञ राय, वैज्ञानिक आधार र प्रचलित कानुनका आधारमा निष्पक्ष निर्णय गर्नु हो ।
सञ्चारमाध्यमको जिम्मेवारी र तथ्यमा आधारित पत्रकारिता
लोकतान्त्रिक समाजमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । स्वास्थ्य सेवा र उपचारका क्रममा हुने घटनाबारे जनतालाई सुसूचित गराउनु पत्रकारिताको जिम्मेवारी हो । बिरामी पक्षको आवाज उठाउनु, सम्भावित लापरबाहीबारे प्रश्न गर्नु र सम्बन्धित निकायलाई जवाफदेही बनाउनु पनि पत्रकारिताको महत्त्वपूर्ण भूमिका हो ।
तर यही जिम्मेवारी निर्वाह गर्दा तथ्य, प्रमाण र निष्पक्षतालाई पनि उत्तिकै महत्त्व दिनुपर्छ ।
कुनै घटना घट्नेबित्तिकै एकपक्षीय विवरणका आधारमा चिकित्सक दोषी भएको निष्कर्ष निकाल्नु, अनुसन्धान पूरा हुनुअघि नै कसैलाई अपराधीका रूपमा प्रस्तुत गर्नु वा अपुष्ट सूचनालाई सनसनीपूर्ण ढङ्गले सम्प्रेषण गर्नु उचित हुँदैन ।
चिकित्सकीय घटनाको वास्तविकता बुझ्न विशेषज्ञको राय, उपचारसम्बन्धी अभिलेख, चिकित्सकीय निर्णयको आधार, घटनाक्रम र वैज्ञानिक प्रमाणको अध्ययन आवश्यक हुन्छ । बिरामी पक्षको पीडा र गुनासोलाई सम्मान गर्नुपर्छ । तर चिकित्सक वा स्वास्थ्य संस्थाको धारणा सुन्ने र सम्बन्धित विशेषज्ञको निष्पक्ष राय लिने अभ्यास पनि आवश्यक छ ।
यहाँ म एउटा कुरा स्पष्ट पार्न चाहन्छु—पत्रकारिताको स्वतन्त्रता र आलोचनात्मक प्रश्न गर्ने अधिकारलाई हामी पूर्ण सम्मान गर्छौँ । तर स्वतन्त्रताको अर्थ तथ्यको जिम्मेवारीबाट मुक्त हुनु होइन ।
उपचारका क्रममा भएको त्रुटि वा जटिलताको समाधान हुन सक्छ । आवश्यक परे छानबिन, सुधार, उपचार र क्षतिपूर्तिका माध्यमबाट न्याय प्रदान गर्न सकिन्छ ।
तर अपुष्ट र भ्रामक समाचारबाट सिर्जना हुने सामाजिक पूर्वाग्रह, चिकित्सकप्रतिको अविश्वास, स्वास्थ्य संस्थाप्रतिको नकारात्मक धारणा र चिकित्सक तथा बिरामीबीचको सम्बन्धमा पर्ने असरलाई सहजै सुधार गर्न सकिँदैन ।
एउटा शारीरिक घाउ समयक्रममा निको हुन सक्छ । तर तथ्यहीन प्रचारबाट व्यक्तिको प्रतिष्ठा, पेसागत जीवन र संस्थाप्रतिको विश्वासमा परेको क्षति पुनःस्थापित गर्न अत्यन्त कठिन हुन सक्छ ।
त्यसैले यस्ता घटनाको समाचार सम्प्रेषण गर्दा संयमता, निष्पक्षता र प्रमाणको महत्त्वलाई ध्यान दिन म सञ्चारमाध्यमका मित्रहरूलाई विशेष आग्रह गर्न चाहन्छु ।
आक्रोश, दबाब र हिंसाबाट न्याय प्राप्त हुँदैन
उपचारका क्रममा कुनै अप्रिय घटना घटेपछि बिरामी पक्ष आक्रोशित हुनु स्वाभाविक हुन सक्छ । तर त्यसको समाधानका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शारीरिक आक्रमण गर्ने, दुर्व्यवहार गर्ने, स्वास्थ्य संस्था तोडफोड गर्ने वा दबाबका आधारमा निष्कर्ष निकाल्न खोज्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन ।यसले न बिरामीलाई न्याय दिन्छ, न चिकित्सकलाई न्याय दिन्छ र न त स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाउँछ ।
यस्ता घटनाबाट स्वास्थ्यकर्मीमा असुरक्षाको भावना उत्पन्न हुन्छ । यसको परिणामस्वरूप चिकित्सकहरूले जटिल वा जोखिमपूर्ण बिरामीको उपचार गर्न हिचकिचाउने अवस्था पनि सिर्जना हुन सक्छ ।
यसले अन्ततः बिरामी र सर्वसाधारणलाई नै नोक्सानी पुर्याउँछ ।
त्यसैले उपचारसम्बन्धी विवादको समाधान प्रमाण, विशेषज्ञ छानबिन, कानुनी प्रक्रिया र संवादका माध्यमबाट हुनुपर्छ । कुनै पनि पक्षलाई हिंसा, धम्की वा सामाजिक दबाबबाट प्रभावित पारिनु हुँदैन ।
नेपाल मेडिकल काउन्सिल र सञ्चारमाध्यमबीच सहकार्य
नेपाल मेडिकल काउन्सिल यस विषयमा सञ्चारमाध्यमसँग टकराव होइन, सहकार्य र समन्वयको सम्बन्ध स्थापित गर्न चाहन्छ ।
हामी प्रेस काउन्सिल नेपाल, पत्रकार महासंघ तथा विभिन्न सञ्चारमाध्यमसँग स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषणका लागि तथ्यपरक र जिम्मेवार अभ्यास विकास गर्न सहकार्य गर्न इच्छुक छौँ ।
चिकित्सकीय घटनाबारे समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने विषय, चिकित्सकीय शब्दावलीको सही प्रयोग, विशेषज्ञको राय लिने प्रक्रिया, अनुसन्धानको गोपनीयता, बिरामीको निजता र चिकित्सकीय अभिलेखको संवेदनशीलतालगायत विषयमा संयुक्त छलफल र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।
त्यस्तै, उपचारका क्रममा कुनै घटना घटेमा सम्बन्धित निकायबाट आधिकारिक सूचना प्राप्त गर्ने र आवश्यक परे नेपाल मेडिकल काउन्सिलको संस्थागत धारणा लिने व्यवस्था पनि प्रभावकारी बनाउन सकिन्छ ।
हामी पारदर्शितामा विश्वास गर्छौँ । कानुनी र संस्थागत परिधिभित्र रहेर आवश्यक सूचना उपलब्ध गराउन, प्रश्नको जवाफ दिन र सञ्चारमाध्यमसँग सहकार्य गर्न नेपाल मेडिकल काउन्सिल प्रतिबद्ध छ ।
चिकित्सा सेवा पूर्ण रूपमा जोखिमरहित हुन सक्दैन । तर यसलाई सकेसम्म सुरक्षित, वैज्ञानिक, नैतिक र बिरामीमैत्री बनाउनु हाम्रो साझा दायित्व हो ।
चिकित्सकीय त्रुटि भएको छ भने त्यसलाई स्वीकार गर्नुपर्छ । लापरबाही भएको छ भने निष्पक्ष छानबिन गरेर दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्छ । बिरामीले क्षति व्यहोर्नुपरेको छ भने कानुनबमोजिम न्याय र क्षतिपूर्ति पाउनुपर्छ ।
त्यसैगरी, चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि तथ्य र प्रमाणबिना आरोपित गरिनु हुँदैन । उनीहरूलाई निष्पक्ष सुनुवाइ र न्यायपूर्ण प्रक्रियाको अधिकार हुनुपर्छ । हामीले बिरामीको अधिकार र चिकित्सकको व्यावसायिक अधिकारलाई परस्पर विरोधी रूपमा होइन, एकअर्काका पूरकका रूपमा बुझ्नुपर्छ ।
हाम्रो साझा उद्देश्य स्वस्थ समाज, सुरक्षित उपचार, विश्वसनीय चिकित्सा सेवा र न्यायपूर्ण स्वास्थ्य प्रणालीको निर्माण हो ।
नेपाल मेडिकल काउन्सिल यस उद्देश्य प्राप्तिका लागि चिकित्सक, स्वास्थ्य संस्था, बिरामी पक्ष, सञ्चारमाध्यम, प्रेस काउन्सिल र राज्यका सम्बन्धित निकायसँग सहकार्य गर्न सदैव तत्पर छ ।
तथ्यमा आधारित पत्रकारिता, प्रमाणमा आधारित छानबिन, नैतिकतामा आधारित चिकित्सा सेवा र न्यायमा आधारित नियमन—यिनै आधारबाट मात्र जनताको स्वास्थ्य सेवाप्रतिको विश्वास कायम राख्न सकिन्छ ।
प्रतिक्रिया 4