१३ मंसिर, काठमाडौं । जारी पर्वतारोहण सिजनमा हिमाल चढ्न १ हजार ६ सय ३३ जनाले अनुमति लिएका छन् ।
पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यस सिजनमा कुल १ सय ९० समूहले आरोहण अनुमति लिएका छन् । जसमा ३ सय ८० महिला छन् ।
कुल ५० हिमाल आरोहण गर्न अनुमति जारी भएको विभागको तथ्यांक छ । यसमध्ये सबैभन्दा धेरै मनास्लु आरोहणमा ४३ समूहका १ सय २७ महिला सहित ५ सयले अनुमति लिएका छन् । अमादब्लम चढ्न ४० समूहका १ सय १६ महिला सहित ४ सय ७६ ले अनुमति लिएका छन् ।
त्यस्तै हिमलुङ हिमाल आरोहण गर्न १३ समूहका २१ महिला सहित १ सय ३० ले अनुमति लिएका छन् । बरुणत्सेमा ६ समूहका ६५ ले अनुमति लिएको विभागको तथ्यांक छ ।
यो सिजनमा आरोहीबाट विभागले ३३ करोड ४२ लाख ८६ हजार ६ सय १७ रुपैयाँ बराबर रोयल्टी संकलन गरेको छ । यो सिजनमा ७७ देशका आरोही हिमाल चढ्न आएका छन् ।
तीमध्ये फ्रान्सबाट २१ महिला सहित १ सय ५०, चीन ४४ महिला सहित १ सय ४६, अमेरिका ३३ महिला सहित १ सय ३०, रुस ३७ महिला सहित १ सय २४ र बेलायतबाट १६ महिला सहित १ सय १२ आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।
प्रतिक्रिया 4