+
+
Shares

शिक्षकका मागमा सरकारी वेवास्ता, फेरि उत्रिँदैछन् आन्दोलनमा

शिक्षक महासंघले फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ । विगतको सहमति कार्यान्वयन नभएको लगायतका ७ बुँदे माग राखेर महासंघले आन्दोलनको चेतावनी दिएको हो ।

दिनेश गौतम दिनेश गौतम
२०८३ मंसिर १३ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल शिक्षक महासंघले शिक्षक–कर्मचारीका माग कार्यान्वयन नभए कडा र निर्णायक आन्दोलनमा जाने चेतावनी दिएको छ।
  • महासंघका अध्यक्ष सुन्दर पन्तले ९ बुँदे सहमति कार्यान्वयन नभएकाले यो महिनाको अन्तिमसम्म हेरेर आन्दोलनको निर्णय गर्ने बताए।
  • महासंघले निवृत्तिभरण, दुर्गम भत्ता, विद्यालय कर्मचारी र ईसीडी शिक्षकको दरबन्दी तथा शिक्षा ऐन छिटो ल्याउन माग गरेको छ।

१३ मंसिर, काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग चित्त दुखाउँदै फेरि आन्दोलनमा जाने चेतावनी दिएको छ ।

आइतबार महासंघले भन्यो, ‘वर्तमान सरकारले शिक्षक–कर्मचारीका पिर मर्कामा कुनै संवेदनशीलता देखाएको पाइँदैन । यही परिस्थिति निरन्तर रहेमा नेपाल शिक्षक महासंघ कडा र निर्णायक आन्दोलनमा जान बाध्य हुन्छ ।’

गत भदौमा नै आन्दोलको तयारी गरेको महासंघले रसुवा बाढी र महासंघको नेतृत्व परिवर्तन भएका कारण आन्दोलन रोकेको थियो ।

महासंघको अध्यक्षमा सुन्दर पन्त चयन भएका थिए । उनी नेतृत्वमा आएपछि आन्दोलन रोकिएको थियो । तर, सरकारले विगतमा सहमति कार्यान्वयन नभएपछि महासंघले फेरि आन्दोलनको घोषणा गर्न बाध्य भएको जनाएको छ ।

‘पछिल्लो पटक भएको ९ बुँदे सहमतिमा शिक्षकका सबै माग मुद्दा छन् । तर कार्यान्वयन भएको छैन,’ अध्यक्ष पन्तले भने, ‘यो महिनाको अन्तिमसम्म हेर्छौं । त्यसपछि महासंघले आन्दोलनको निर्णय गर्छ ।’

२०८२ साल वैशाख १७ गते मन्त्रिपरिषद्ले शिक्षकको माग सम्बोधन गर्न ९ बुँदा पास गरेको थियो । त्यसबेला मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्र शिक्षकले २९ दिन लामो काठमाडौं केन्द्रित आन्दोलन रोकेका थिए ।

तर मन्त्रिपरिषद्बाट स्वीकृत भए पनि अहिलेसम्म पूरा नभएपछि शिक्षक महासंघ असन्तुष्ट भएको हो ।

अध्यक्ष पन्तका अनुसार अहिले महासंघले ७ बुँदे माग राखेको छ । २०७५ पछि नियुक्त भएका शिक्षक पेन्सनबाट वञ्चित हुने अवस्था आउँदा पनि मन्त्रालयले नहेरेको तर्क महासंघको छ ।

‘२०७५ पछिका शिक्षक पेन्सबाट वञ्चित हुने अवस्था आयो,’ अध्यक्ष पन्तले भने ।

निवृत्तिभरणको सवालमा नयाँ विद्यालय शिक्षा ऐन जारी भएको मितिलाई आधार विन्दु बनाई त्यसभन्दा अघि स्थायी भएका सबै शिक्षकलाई पुरानो प्रणाली अनुसार निवृत्तिभरण प्रदान गर्नुपर्ने माग महासंघको छ ।

‘नयाँ विद्यालय शिक्षा ऐन जारी भएपछि स्थायी हुने शिक्षक–कर्मचारीको हकमा योगदानमा आधारित निवृत्तिभरण प्रणाली आरम्भ गर्ने व्यवस्था शिक्षा ऐनमा मिलाउने र निवृत्तिभरण ऐन सो अनुसार संशोधन गर्नुपर्छ,’ महासंघले भनेको छ ।

अध्यक्ष पन्त

अस्थायी शिक्षकको आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकको निवृत्तिभरण प्रयोजनका लागि नपुग सेवा अवधि अस्थायी सेवाबाट जोडी निवृत्तिभरण दिनुपर्ने माग महासंघको छ ।

अध्यक्ष पन्तका अनुसार दुर्गम क्षेत्रमा कार्यरत शिक्षकहरुले दुर्गम स्थानीय भत्ता पाइरहेको अवस्थामा हाल कार्यक्रम कार्यान्वयन पुस्तिकामा समावेश नभएको आधार मानेर हटाईएको बुझिन आएको बताए ।

‘विगतका वर्षमा खाइपाइ सकेको उक्त भत्ता महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाई शिक्षा विकास समन्वय एकाई वा स्थानीय पालिकामार्फत फिर्ता गर्न सम्बन्धित शिक्षकलाई पत्राचार गरेकोले हिजो खाइपाई आएको रकम शिक्षकलाई फिर्ता गर्नु गराउनु न्यायसङ्गत होइन,’ महासंघले भनेको छ ।

सरकारले उक्त विभेदकारी नीति सच्चाइ सबै शिक्षकहरूलाई दुर्गम स्थानीय भत्ता प्रदान गर्नुपर्ने माग महासंघको छ ।

विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको दरबन्दी सिर्जना गरी पद अनुसार सरकारबाटै तलबभत्ता उपलब्ध गराउन महासंघले भनेको छ । यसका लागि छिट्टै शिक्षा ऐनको मस्यौदा तयार गर्न महासंघले सरकारलाई आग्रह गरेको छ ।

‘शिक्षक महासंघसँग संस्थागत सहकार्य र संवादवाट विद्यालय शिक्षा विधेयक मस्यौदा तयार गर्ने र विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन अविलम्ब जारी हुनुपर्छ,’ अध्यक्ष पन्तले भने ।

अघिल्लो संसद्मा शिक्षा विधेयक शिक्षा समितिबाट पास भएर संसद्मा पुगेको थियो । तर संसद्बाट पारित हुने समयमा जेनजी आन्दोलनका कारण संसद् विघटन भएपछि शून्यमा पुगेको थियो ।

हाल मन्त्रालयले विधेयकको ड्राफ्ट बनाउने काम गरिरहेको छ । शिक्षामन्त्री सस्मित पोखरेलका सल्लाहकार शैलेन्द्र झाको अध्यक्षतमा समिति पनि बनाइएको छ ।

शिक्षा मन्त्रालयको आयोजना र प्रधानाध्यापक संघको सहजीकरणमा शिक्षा ऐनमा समेट्न सातै प्रदेशमा पुगेर सुझाव संकलन गरिएको थियो । उक्त सुझाव सहितको प्रतिवेदन पनि शिक्षामन्त्री पोखरेललाई बुझाइएको छ ।

समितिका संयोजक झाका अनुसार अहिले शिक्षा ऐनको मस्यौदा लेखनको काम भइरहेको छ । ‘फागुनसम्म सदनमा लैजाने तयारी अनुसार लेखनको काम भइरहेको छ । शिक्षक महासंघसँग पनि छलफल भएको छ,’ सल्लाहकार झाले भने, ‘सकारात्मक ढंगले छलफल गरौं । मन्त्रालयले कसैलाई उपेक्षा गरेको छैन । तर शिक्षक महासंघको दोहोरो चरित्र भयो ।’

महासङ्घको तेस्रो राष्ट्रिय परिषद्‌बाट पारित भई पेस भएको ५४ सूत्रीय मागको पनि सुनुवाइ नभएको गुनासो अध्यक्ष पन्तले गरे ।

‘तीन महिना बढी भयो महासंघको विधान स्वीकृत भएको छैन । शिक्षा नियमावली आएको छैन । शिक्षा ऐनमा विलम्ब भएको छ,’ अध्यक्ष पन्तले भने ।

नियमावली प्रक्रियामा रहेकाले छिट्टै ल्याउने मन्त्रालयले जनाएको छ ।

महासंघले २०७५, २०७८, २०८० र २०८१–०८२ मा सडक आन्दोलन गर्‍यो । आन्दोलनपछि पटक–पटक सरकारसँग सहमति पनि भयो । तर सहमति कार्यान्वयन नभएको भन्दै महासंघ फेरि आन्दोलनको तयारीमा जुटेको हो ।

तर, शिक्षा मन्त्रालयले भने वार्ता र सहकार्यबाट नै सम्बोधन गर्ने बताएको छ । राज्यले बेवस्ता गर्‍यो भने आन्दोलन गर्ने हो । तर मन्त्रालयले बोलाएर छलफल गरिरहेको छ । अहिले आन्दोलन आवश्यक छैन । मन्त्रालय सहकार्य गरेर नै अगाडि बढ्छ,’ सल्लाहकार झाले भने ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?