२२ माघ, काठमाडौं । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाओवादी १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान विपरीत अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
माओवादीले कांग्रेस एमालेले सम्झौता तोडेको आरोप लगाइरहेका बेला सिटौलाले संविधानसभा बहिस्कार गरेर प्रचण्ड सम्झौता विपरीत अघि बढेको टिप्पणी गरे ।
‘उहाँहरु हामीले १२ बुँदे समझदारी तोड्यौं भन्नुहुन्छ । तर १२, बुँदे समझदारी र शान्ति सम्झौताले जनताको संविधान संविधानसभाबाट दिने भनेको छ,’ कांग्रेस महामन्त्री सिटौलाले भने-‘उहाँहरु पहिलो संविधानसभालाई जस्तै यो संविधानसभालाई पनि असफल बनाउन खोज्दै हुनुहुन्छ ।’
प्रेस चौतारीको सत्रौं स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सिटौलाले सहमतिको जति प्रयास गर्दा पनि एमाओवादीलाई मनाउन नसकिएको बताए । ‘अब हामीले कहिलेसम्म पर्खिने ?’ उनले प्रश्न गरे-‘उहाँहरु संविधान बनाउन चाहनुहुन्न, हामी संविधान बनाउन चाहान्छौं ।’
सिटौलाले संविधानसभा बहिस्कार नगर्न र वार्तामा आउन एमाओवादी नेतृत्वको मोर्चालाई आह्वान समेत गरे । ‘प्रचण्डजी नभड्किनुस्, वार्तामा आउनुस्, हामी सहमतिको पक्षमा छौं’-उनले भने ।

प्रतिक्रिया 4