+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आहुतीको ‘गहुँगोरो अफ्रिका’माथि शल्यक्रिया

जुन किताबबारे यहाँ चर्चा हुँदैछ, त्यसको सम्पादन मैले नै गरेको थिएँ । सम्पादन किन र कसरी भयो भन्ने पाश्र्वकथा सङ्क्षेपमा र आहुतिको कविता-दृष्टि बिस्तारमा किताबमै छ । जब र्‍यान्डम रिडर्स पोखराले ‘गहुँगोरो अफ्रिका’माथि छलफल गर्ने जानकारी गरायो, त्यसपछि मैले आफैले सम्पादन गरेका पाठ फेरि ओल्टाइपल्टाइ पारेँ । पारिजातका शब्दमा आहुतिका ‘चरम कविताहरू’ दोहोर्‍याइरहँदा एउटा सरदर पाठकले फेला पार्ने तथ्यहरूको कच्चापदार्थलाई मैले अखबारी आँखामा टिपेको छु, यो पर्चा समाचार लेख्नुअघिको त्यही टिपोट जस्तो हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ३० गते ११:४७

सङ्गीत श्रोता

जुन किताबबारे यहाँ चर्चा हुँदैछ, त्यसको सम्पादन मैले नै गरेको थिएँ । सम्पादन किन र कसरी भयो भन्ने पाश्र्वकथा सङ्क्षेपमा र आहुतिको कविता-दृष्टि बिस्तारमा किताबमै छ । जब र्‍यान्डम रिडर्स पोखराले ‘गहुँगोरो अफ्रिका’माथि छलफल गर्ने जानकारी गरायो, त्यसपछि मैले आफैले सम्पादन गरेका पाठ फेरि ओल्टाइपल्टाइ पारेँ । पारिजातका शब्दमा आहुतिका ‘चरम कविताहरू’ दोहोर्‍याइरहँदा एउटा सरदर पाठकले फेला पार्ने तथ्यहरूको कच्चापदार्थलाई मैले अखबारी आँखामा टिपेको छु, यो पर्चा समाचार लेख्नुअघिको त्यही टिपोट जस्तो हो ।

Random-PKR-071.12

१. कवितामा आखिर के छ ?

तपाईं कवितामा कोमलता, सरसता, मिठास वा विचित्रता खोज्ने पूर्वधारणा लिएर यस पुस्तकमा पस्नुभयो भने फँस्नुहुन्छ । किनभने किताबमा भएका २८ वटै कविताको अनुहारमा क्रोध छ, रोष छ, वर्तमानसम्म खुट्टा पसारेर सुतेको अत्याचारी इतिहासप्रति भयङ्कर आक्रोश छ । यी कविता खासखास-खुसखुस गर्दैनन्, सुस्तरी पनि बोल्दैनन्, चिच्याउँछन् । यी कविता न बिस्तारै हिंड्छन्, न एक्लै बसेर रुन्छन् । यी कवितामा कीर्तिपुरमा काटिएका नाककान पनि पागल बादशाहका शिशमहलमुनि सास फेरिरहेका भेटिन्छन् । नमिता-सुनिताका बलात्कृत निर्वस्त्र लासहरू बिउँझेर जुरुक्क उठ्न खोज्छन् । बच्चाहरूलाई बचाउन ‘पागल कुकुरहरूलाई लघार्दो क्रुद्ध मानिस’ छ यहाँ । स्खलित मिस्टर योद्धाको भूमिगत जीवनशैलीविरुद्ध अचानक ‘मूच्र्छनाबाट बिउँझेर चिच्याउने कवि’ छ यहाँ । ‘भूमि गुमाएका भूमिपुत्र’हरू यहाँ युद्धमा निस्केका छन् । दरबारमा जीवन माग्न बिन्तीपत्र बिसाउनेहरू यहाँ छ्रैनन्, ‘सेतो आतङ्ककारी’लाई हाँक दिने राता आतङ्ककारीहरू छन् ।

हजारौँ वर्षको दलन र उत्पीडनको गोली भरिएको ‘अशान्त बन्दुक’जस्तो दलित यस किताबमा मुक्तिको हुँकार गर्छ र पुजारी-शासनलाई आँखा जुधाउन चुनौती दिन्छ । त्यागको ब्याज खाने धन्दा चलाइरहेकाहरूको संसारमा पसेर ‘जुठे नामको तुच्छ गरिब’ले कथित महानताको खोल धुजाधुजा पारिदिन्छ । ‘जाँघको ग्राहक खोज्ने बेसरम दलाल’मा अपघटित ‘महान् लोकतन्त्र’रूपी पितृसत्ता यहाँ नाङ्गै देखिन्छ । टाउको बेचिसकेका दलालहरूका गिँड पनि यहाँ देखिन्छन् । र, राजकविको रथ तान्न गोरु बनिसकेका कविहरूको प्रतिवादमा गाइएका आजादका गीतहरू पनि यसमा सुन्न सकिन्छ । यसर्थ यी कविता वर्गयुद्धको उकाला-ओरालामा उत्पीडित योद्धाहरूले गाएका समूहगानजस्ता छन् । कवितामा भाव, कथनढाँचा, छन्द-लय, बिम्ब, अलङ्कार, रसविधान, उक्ति वैचित्र्य जस्ता विधारूप खोज्ने काम विश्वविद्यालयले सिकाउँछ । तर, यसप्रकारका कविता विद्यालय-विश्वविद्यालयमा कहिले पुग्छन्, मलाई थाहा छैन ।

२. यी कसका कविता हुन् ?

क्रियामा जे देखिन्छ, त्यसमा कर्ताको सङ्गतिपूर्ण भूमिका एउटा महत्वपूर्ण निर्धारक भएर उपस्थित हुन्छ । ‘गहुँगोरो अफ्रिका’ भित्र बज्ने सुरतालको पछाडि कविता लेख्ने मान्छेको व्यक्तित्व वा सामाजिक पृष्ठभूमि कारक छ । यस्ता कविता लेख्ने मान्छे को हो त ? पाठकका दृष्टिले मेरो ध्यान फन्को मारेर त्यता पनि जान्छ । यो कवि को हो ? यो देवकोटाजस्तो ‘हुने बिरुवाकै चिल्लो पात’ थियो कि थिएन ? ‘महाकवि’ले भानुभक्तलाई भनेजस्तो ‘सब नेपालीको घरमा सत्कार’ पाउने ‘सच्चा ब्राह्मण’ कवि वा लेखनाथलाई आदर गरिएजस्तो प्राचीनताको पुजारी ‘पण्डित’ यो हो कि होइन ? अथवा पञ्चायती फासीवादलाई समृद्ध पार्न कम्मर कसेको कुनै राणासाहेब वा उपाध्यायजी जस्तै पो हो कि ?

Gahugoro-Africa-coverबाल्यकालमा घरभित्र यो कवि जुता सिलाउने बाजेको नाती र गर्भे टुहुरो थियो । स्कुलमा मास्टर-हेडमास्टरका दृष्टिमा ऊ त्यस्तो ‘चमारे’ थियो, जो बाहुन खलकका विद्यार्थीलाई पढाइमा उछिनेर स्कुल-प्रशासनको टाउको दुखाइको विषय बन्थ्यो । युवा उमेरमा संसार फेर्ने सपना बुन्दै उच्चशिक्षाको पढाइ छाडेर कम्युनिस्ट पार्टीको होलटाइमर भयो । मजदुर सङ्गठनमा कुद्यो, साहित्यिक मोर्चामा खटियो, दलित आन्दोलनमा ओल्र्यो, सडक सङ्घर्षमा दगुर्‍यो । दिन-दिनभरि सङ्गठन र आन्दोलन, रात-रातभरि अध्ययन र लेखन । पत्रकारिता पनि गर्‍यो, अनुवादमा पनि हात हाल्यो । कविता लेख्यो, नाटक लेख्यो, उपन्यास लेख्यो । पर्चा लेख्यो, नारा लेख्यो, विज्ञप्ति लेख्यो । भाषण गर्‍यो, प्रशिक्षण चलायो । प्रतिवेदन बनायो, मुखपत्र निकाल्यो । अलिअलि हिंड्यो, अलि बढी दगुर्‍यो । गीत लेख्यो, सिनेमा लेख्यो । समाजको स्थापित सौन्दर्य-धुरीमा ढुङ्गा हान्यो । र, हुँदै गर्दा कम्युनिस्ट पार्टीको नेता भयो, सभासद बन्यो, पोलिट्ब्युरो छानियो । अब अधबैंशे उमेरमा लेखाइ कम, बोलाइ धेरै गरेको सुनिन्छ । त्यही मान्छेको मानसिक श्रमको भौतिक उत्पादन हो- ‘गहुँगोरो अफ्रिका’ ।

कवि जुन-जुन मोड हुँदै दगुर्‍यो, त्यही भू-यथार्थमा यात्रारत छन् कविता पनि । यो कविले दरबारको लाडप्यार पाएको थिएन र श्री पाँचको जन्मोत्सवमा प्रशस्ती लेखेन । यो कविलाई पुरेतको भान्सासम्म पहुँच थिएन र यसले हिन्दू परम्पराको गाथा गाएन । यिनको जिन्दगीमा कुनै ‘ज्योतीको पङ्ख’ पलाएन र यिनले नेपाललाई ‘सुन्दर, शान्त, विशाल’ भन्दै जयगान लेखेनन् । मुक्ति खोजिरहेको अछुत, लोटा लुटिएकी लक्ष्मीनिया, जुठे नामको तुच्छ गरिब, वीरे भन्ने वीरबहादुर आदिका कविता हुन् यी । यी कवितामा तिनको खास अधिकार छ, जो लड्दालड्दै ढले, जो ढल्दाढल्दै पनि अझै लडिरहेका छन् । जो बहाना बनाएर संसार फेर्ने अभियानबाट भाग्न चाहन्छन्, यी उनीहरूका कविता होइनन् । ठेस लाग्दा पनि गन्तव्य नबिर्सने योद्धाका कविता हुन् यी ।

३. कुन समय यहाँ हाजिर छ ?

हरेक सिर्जनाको ऐतिहासिक समय-सन्दर्भ हुन्छ । यी कविता त्यस्तो समयमा लेखिएका छन्, जतिबेला ‘आफ्नो गाउँ आफै बनाऊँ’ नीति रेडियोमा चर्चित थियो तर गाउँमा पुजारीहरू दलितका पसिनामा पौडी खेलिरहेका थिए । यी कविता त्यस्तो परिवेशमा लेखिए, जुनबेला सहरका ‘अग्ला कुर्सीहरूमा बसेका नाङ्गा मानिसहरू’ कपडा बेचिरहेका थिए तर कपडै सिलाउने पेशामा युग बिताइसकेकाहरूको युगौँदेखि हर नाङ्गो थियो । त्यस्तो बेला लेखिए यी कविता, जतिबेला हामी पोखरामा समेत राजकविको रथयात्राको रमितामा थियौँ, जतिबेला हामी कफ्र्युदेखि डराएर घरभित्रै कुथुर्किएका थियौँ, जतिबेला हामी धेरै कविहरू राजाको जयजयकार सुनेर प्रतिक्रियाविहीन भएका थियौँ ।

जतिबेला ‘प्रतिगमन आधा सच्चिएको’ भन्दै बाँकी प्रतिगमन काँधमा बोकेर केही कवि-लेखकहरू प्रज्ञा-प्रतिष्ठानतिर चिहाइरहेका थिए, त्यस्तो समयमा ‘रातो आतङ्ककारी’ भएर यी कविता लेखिएका थिए, ‘श्रीपेच बमको आतङ्क’माथि शब्द-बम प्रक्षेपण गर्न यी लेखिएका थिए । कवि इच्छुक जेलभित्र कुटीकुटी मारिने समयमा ‘बस्तीमा आगो लाग्दा खसी काटेर खाने’ सिंहदरबारविरुद्ध यी कविता लेखिएका थिए ।

इतिहास भविष्यको सुन्दर कल्पनाहरूबाट बन्दैन, यो त मानवीय क्रोधबाट बन्छ र त्यस्तो क्रोध विगतसँगै जोडिएको हुन्छ

‘गहुँगोरो अफ्रिका’ शीर्षकको पहिलो कविता दुई दशकअघि लेखिँदा-छापिँदा दलित साहित्यबारे वैचारिक विमर्श मुखर थिएन । जातव्यवस्था बाँकी राखेर छुवाछुत-भेदभावको विरोध गर्ने देवकोटाकालीन परम्परावादी कविता नै दलित विषयक कविता भइरहेका सन्दर्भमा ‘गहुँगोरो अफ्रिका’ले वैश्विक बिम्ब र सही वैचारिक दिशा पक्रेर दलित कवितालाई आदर्शवादी कुहिरोबाट वर्गधरातलमा अवतरण गरायो ।

त्यसयताको २० वर्षमा आहुतिले वर्षमा सरदर एउटा (१.४) कविता लेखेको देखिन्छ । २०६२ पछि पूरै बेपत्ता भएर एक्कैचोटी सात वर्षपछि २०६९ सालमा पुनः झुल्केका उनलाई आफूले बेमतलब गरेको सात वर्षले पनि पक्कै हिसाब माग्ला कुनै दिन । पछिल्लो चर्चित कविता ‘मिस्टर योद्धा’ यही वर्ष लेखिए-छापिएपछि कवितामा फर्कन उनलाई धेरै असहज छैन भन्ने बुझिन्छ । किताबका अधिकांश कविता नेपाली राजनीतिको रक्तमुछेल दश वर्षसँग कतै जोगिँदै, कतै ठोकिँदै तर शिर ठाडो पार्दै हिंडिरहेका भेटिन्छन् । जनयुद्धको पूर्वाद्धतिर जतिबेला संसदीय पार्टीहरू बहुदलीय प्रजातन्त्र नामक स्वतन्त्रताको उत्सवमा केन्द्रित थिए, त्यतिबेला ‘गहुँगोरो अफ्रिका’, ‘नारी’, ‘आजादहरू’, ‘पच्चिस वर्षको उत्सव र वीरबहादुर’ जस्ता कवितामार्फत् समाजमा नभत्केको दासता, बिक्री हुँदै गरेको आस्था र दरबारभित्र बाँकी बसेको निरङ्कुशताबारे यी कविताले समय सम्बोधन गर्छन् । त्यसपछि पागल बादशाह वा सेतो आतङ्ककारीको विस्थापन गर्दै गणतन्त्रको क्षेत्रफल दाबी गर्ने कविता उत्कर्षमा छन्, जतिबेला देशमा सडक र शस्त्रमा आरूढ गणतान्त्रिक आन्दोलन वेगवान् थियो ।

‘बिसौँ शताब्दीको अछुत’ एक्काइसौँ शताब्दीको दोस्रो दशकको मध्यसम्म पनि ‘अपमानित इतिहासको हिसाब माग्ने’ अवस्थामै छ । लक्ष्मीनिया आज पनि लोटाबेगर पाइखाना जान विवश छे । सेतो आतङ्ककारी सहरमा अनेक टाउकाहरूमा बाँडिएर त्रास मच्चाइरहेको छ । गणतन्त्रको क्षेत्रफल अझै पनि साँघुरो भइरहेको छ । तसर्थ यी कविता अहिलेका कविता पनि हुन् । ‘बहुराष्ट्रिय पिपलमेट कम्पनी’सँगै देशको आँतमा अमेरिका प्रवेश गरिरहेको छ र ‘नेपाल-अमेरिका एक्सप्रेस’मा चढेर देश वासिङ्गटनमा ओर्लिरहेको छ । यसर्थ यी कविता आजका कविता पनि हुन् । वर्तमानलाई टाढाको इतिहास बनाउन नसकुन्जेल ‘गहुँगोरो अफ्रिका’का कविता चिच्याइरहन्छन् । यिनले त्यतिबेलासम्म पाठकसँग जीवन्त संवाद गरिरहन्छन्, जतिबेलासम्म यो देशमा संविधानले नै शोषणलाई संस्थागत गरिरहन्छ, जतिबेलासम्म नेपाली समाजमा मान्छेले मुक्तिको सास फेर्न पाउँदैन, यी कविता त्यही समयसम्मका हुन् ।

४. किन लेखिए यी कविता ?

सोच्नुस्- यस्ता कविता किन लेखिए ? किनभने ‘चौतारीमा राजा भेट्न’ जाने कविहरूलाई वीरबहादुरका बेथा लेख्न न फुर्सद थियो, न उनीहरू वीरबहादुरको मर्का बुझ्ने ध्यानमा थिए । चक्रपाणी चालिसेको भजनले यो गोल-भूगोलको ‘गहुँगोरो अफ्रिका’लाई उन्मुक्ति दिन सक्दैनथ्यो, त्यसकारण लेखिए पुजारीसँग ‘आँखा जुधाउने’ आँटी कविता । जब ‘पागल बादशाह’लाई अघि सारेर ‘यो देशमा एउटा मानिस खोज्ने’ काम सुरु भयो, जब श्रीपेच बम बोकेको आतङ्ककारीको देशैभरि अभिनन्दन हुन थाल्यो, जब थानाभित्रै कविहरूको हत्या हुन थाल्यो, त्यो विभत्स दृश्यको प्रतिरोध गर्नका लागि यी कविता लेखिए । जुलुसमा अघिअघि हिंडिरहेको मान्छेलाई बिउँझाउनु थियो, ‘गल्लावालहरूबाट शिशुको रक्षा गर्नु’ थियो, हजारौँ वर्षको ‘अपमानित इतिहासको हिसाब’ माग्नु थियो, त्यसकारण लेखिए यी कविता ।

विभाजन रेखाले गरिब, अनपढ, किसान, गाउँले वा आदिवासीले सामूहिक ढंगले सिर्जना गरेको साहित्यलाई साहित्य नै मान्दैन

यी कविता आहुतिबाटै लेखिन सम्भव थियो, किनभने कवि कहलिएकाहरू भान्सामा थिए, बाहिर भोको मान्छे कसरी सोचिरहेछ, उनीहरूलाई अनुभूत हुन्थेन । किनभने उनीहरू दरबारका लागि ‘श्री पाँच पन्चैको सरकार’ लेखेबापत जागिरको कर्तव्य निर्वाह गर्दै थिए, किनभने उनीहरू उपाधिको मर्यादा राख्न सडकतिर नजर पनि लगाइरहेका थिएनन्, किनभने उनीहरू भजनकीर्तनमा व्यस्त थिए, मालिक रिझाउने गनगने अभियानमा पंक्तिबद्ध थिए । धर्मराज थापा बेचिएपछि गोकुल जोशी जता हिंडेका थिए, भूपी शेरचन किनिएपछि पारिजात जहाँ आइपुगेकी थिइन्, त्यहीँबाट र त्यतैतिरको बाटो बिस्तार गर्ने जिम्मा विमल निभा, इच्छुक, आहुति प्रभृति कविहरूकै थियो । देवकोटाको ‘मानिस ठूलो दिलले हुन्छ’ वा माधव घिमिरेको ‘ईश्वरको छोरो, मान्छेको भाइ’ मार्काका सत्तालाई सघाइरहने आदर्शवादी रचनाको संसार भत्काउन ‘गहुँगोरो अफ्रिका’जस्ता कविता आन्दोलनकारी भएर आए ।

५. यी कविता कसरी अभिव्यक्त हुन्छन् ?

भोकाएको बच्चा एक्लै पर्‍यो भने माटो पनि कोपर्छ, गुन्द्री पनि लुछ्छ । यी कविता मुक्तिको भोकले छटपटाइरहेको त्यही भोको बच्चाको उपद्र्याइँको भाँतीमा लेखिएका छन् । जतिबेला नारायणहिटी दरबारमा शक्तिशाली ‘प्रचण्ड, प्रतापी, भूपति’का खलकहरू थिए, जतिबेला सिंहदरबारमा लोकतन्त्रका ठेकेदारहरू विराजमान थिए, त्यतिबेला किसानको मझेरीमा ‘कोपरामा जन्मेको’ बेताज वीरबहादुर अपहेलित हुँदा जसरी झोक्किन्छ, यी कविता त्यसरी नै लेखिएका छन् । जतिबेला देशमा संकटकाल थियो, विद्रोहलाई वाणी दिने कविलाई कि मारिन्थ्यो, कि बेपत्ता पारिन्थ्यो, कि बहिष्कृत गरिन्थ्यो । त्यस्तो बेला त्यसरी लेखिए यी कविता, जसरी योद्धाहरू ज्यान हत्केलामा राखेर युद्धमैदानमा ओर्लिन्छन् । त्यसरी लेखिए, जसरी मजदुरहरू तीव्र जोश र चर्को स्वरमा नारा घन्काउँछन् । त्यसरी लेखिए, जसरी बच्चाहरू आफ्नो आवश्यकताका लागि जस्तोसुकै जोखिम बेहोर्न तयार हुन्छन् ।

भनिन्छ- कविताले आफै र एक्लै हतियारको भूमिका खेल्दैन । कविता त्यतिबेला मात्रै हतियार बन्छ, जब ऊ लडाकुहरूका हातमा परेको हुन्छ । योद्धाहरू ‘मिस्टर योद्धा’ नबन्ने सङ्कल्पसहित जोर हात उठाएर आए भने यी कविता त्यसरी पड्कन तयार छन्, जसरी फायर खुलिसकेको मोर्चामा गोलीको अर्केस्ट्रा बजिरहन्छ । सङ्ग्राम चलिरहेका बेला एउटा कवि अवलोकनकर्ता हुँदैन, कुनै न कुनै रूपमा सङ्ग्रामको एउटा हिस्सेदार हुन्छ । जब कवि सङ्ग्राममा आफूलाई होम्छ, तब कवितामा अन्तर्निहित सौन्दर्य, कवितामा व्यक्त विषय वा कविता सम्प्रेषण शैली बुझ्न शास्त्रीय दृष्टिले पुग्दैन । आन्दोलनका बीचमा गलत वर्णविन्यासमा शक्तिशाली कविता लेखिन्छन् । यस्ता कवितामा क्षत्रीय कुलको धीरोदात्त नायक जन्मजात गुण बोकेर आउँदैन, यसमा त झुप्रा-छाप्राका लासले नै टाउको उठाउन थाल्छन्, सहिद ढलेको भूमिबाटै मुठ्ठीहरू उचालिन सक्छन्, इतिहासको पुस्तकबाटै उत्पीडितहरू बिउँझिन सक्छन् ।

६. कविताको भूमि कुन हो ?

समाजको प्रभुत्वशाली विचारले साहित्य त्यसलाई मात्रै मान्छ, जो फुर्सद निकालेर, एकान्तमा बसेर, लामो समय गुजारेर लेखिन्छ । स्कुल-कलेजमा साहित्य र लोकसाहित्य भनेर विभाजन गरिएको छ । यस्तो विभाजन रेखाले गरिब, अनपढ, किसान, गाउँले वा आदिवासीले सामूहिक ढंगले सिर्जना गरेको साहित्यलाई साहित्य नै मान्दैन । खेतबारीमा काम गर्दागर्दै वा कलकारखानामा मेसिन चलाउँदा-चलाउँदै गाइएका गीत वा रचिएका सामूहिक कवितालाई त्यस्तो विचारले साहित्य होइन, लोकसाहित्य भन्छ । जब आधुनिक शैली र तरिका अँगाल्दै फुर्सद निकालेरै एउटा शिक्षित व्यक्तिले तिनै गरिब, श्रमिक वा किसानका बारेमा कविता लेख्यो भने सत्तानुकूलित समीक्षकहरूको टाउको दुख्छ, उनीहरूको सिद्धान्तले यस्तो लिखित कवितालाई लोकसाहित्य पनि मान्न सक्दैन, यस्तो साहित्यले सत्तालाई हित पनि गर्दैन । त्यसपछि उनीहरू यसलाई राजनीतिक साहित्य, नारावादी साहित्य भयो भनेर निषेध गर्छन् र ‘कला कलाका लागि’ हुनुपर्छ भन्ने नयाँ तर्क अघि सार्छन् । ‘गहुँगोरो अपि|mका’का कविता सत्ताको राजनीतिलाई वैधता दिने ‘कला कलाका लागि’ जमिनका कविता होइनन् ।

कविता गद्यतिर सल्कनु बेअसल कुरा होइन, तर कविता क्रमशः गद्यतिरै गइराख्यो, गद्य-शक्ति क्रमशः पार्टी-राजनीति छेउछाउको प्रशिक्षणमा मात्रै केन्द्रित भयो र पार्टी-राजनीति ‘मिस्टर योद्धा’को इमानदार पोलिट्ब्युरोमा अपघटित भयो भने ‘गहुँगोरो अफ्रिका’ले कविलाई क्षमा दिँदैन

नेपाली साहित्यमा म तीनथरी भूमिमा उभिएका कविता देख्छु- भजनभूमि, गनगनभूमि र नाराभूमि । भजनवालाहरू राजा, महाराजा, नेता वा दाताको ठाडो भजन गाएर कविता लेख्छन्, त्यसको पछिल्लो उदाहरणका रूपमा माननीय श्री केपी शर्मा ओलीले बालकोटमा मान्छेको उचाइबराबरको फ्लेक्सप्रिन्टमा राख्नुभएको कविता लिन सकिन्छ । हिजोका ‘चौतारीमा राजा भेटियो’ वा ‘वीरेन्द्र जिन्दावाद’को विरासत धान्नेहरू आज पनि फरक ढंगले सक्रिय छन् । दोस्रोथरी गनगने कविहरू छन्, सिधै र मूर्त रूपमा आफ्नो कलालाई प्रस्तुत नगरेर उनीहरू अमूर्त भाषामा गनगन गरिरहन्छन् र सत्ताका दाह्रानङ्ग्राप्रति मौन धारण गर्छन् । कविता ‘लाउड’ हुनुहुँदैन भन्दै उनीहरू कानेखुसीमा गनगनाइरहन्छन् । तेस्रोथरी कविता जसलाई आलोचकहरू नारावादी भन्छन्, त्यही भूमिमा उभिएका छन् आहुतिका कविता । यिनका कवितामा हजारौँ वर्षदेखि अपमानित दलित मुक्तिको नारा लगाउँछ, यिनका कवितामा ‘जुठे नामको तुच्छ गरिब’ राजनीति बोल्छ, ‘वीरे भन्ने वीरबहादुर’ आक्रोशको मुठ्ठी कस्छ, यिनका कवितामा लखन थापा आफ्नो टाउको बोकेर आउँछ, योगमाया दहबाट उठेर आउँछिन् । तसर्थ यिनका कविता दरबार, कुलघरान वा खानदानको आँगनमा फुल्ने फूल होइनन्, सडक, छाप्रा, कारखाना, खेतबारी र जुलुसमा गाइने कोरस हुन् ।

यी कविता दैनिक, साप्ताहिक, मासिकदेखि त्रैमासिक पत्रिकासम्म छापिएर पाठकका बीचमा पुगे । साझा प्रकाशन, गोरखापत्र संस्थान वा प्रज्ञा प्रतिष्ठानका मुखपत्रमा एउटा कविता पनि छापिएन । सडकमा, सभामा, गोष्ठीमा, आन्दोलनमा टाउको उठाएर र कण्ठ फुकाएर वाचन गरिएका कविता हुन् यी । यी व्यक्तिरचित कविता नै हुन् तर सामाजिक जगमा टेकेर लेखिएका कविता हुन् । यी लोककविता त होइनन्, तर लोकतन्त्रका खातिर लेखिएका कविता अवश्य हुन् ।
………………………..
पुनश्च : दुई उपटिप्पणी

एक : असफल कवि र दुर्घटना भय

मेरो ख्यालमा आहुति सफल कवि होइनन् । देशमा सफल कविको उपाधि जित्नेहरूको लामो सूची छ- आदिकवि, महाकवि, कविशिरोमणि, राष्ट्रकवि, जनकविकेशरी, छन्दकवि, बिम्बकवि, मदन पुरस्कार विजेता कवि आदि । राज्यद्वारा, कुनै संस्थानद्वारा, समालोचकद्वारा वा स्वयम्द्वारा आहुतिका नामअगाडि त्यस्तो ‘मानक’ उपाधि अहिलेसम्म जडिएको छैन । तसर्थ उनी असफल हुन् । कवितामा ‘योगदान’ दिने ‘सफल’ कविहरू दरबारको पदक वा सम्मान, दरबारछेउका पुरस्कार, समर्थकहरूबाट रथयात्रा वा जन्मोत्सव आदिका हकदार हुन्छन् ।

जिल्लाजिल्लामा फ्यानक्लब हुनु, सरकारी किताबमा कविता समावेश हुनु, बेलाबेला विदेश यात्रा तय हुनु वा दौरासुरुवाल-ढाका टोपीका लायक हुनु सफल कविका दसी हुन् । यस्तो दसी नभएकैले उनी असफल छन् । अहिलेका ‘सफल’ कविहरूका कविता पचास जनामा पुग्दैनन् तर पचासौँ हजारका पुरस्कार कविले पड्काइरहन्छन् । दस जना पनि कविताका पाठक आर्जन गर्न नसक्नेहरू नै दसौँ हजार खर्च गरेर देशदौडाहामा निक्लिरहेका हुन्छन् । जुन समाजमा सम्झौता नै सफलताको कसी मानिन्छ, त्यहाँ सम्झौताहीन कवि सफल हुनै सक्दैन ।

सार्थकताको गोरेटोमा निर्भीकतापूर्वक हिंड्नु र सुरक्षित बाटो हुँदै ‘सफलता’तिर उक्लनु फरक दिशाको यात्रा हो । समाजको संस्थापनसँग सम्पूर्ण सम्झौता गरेर सफल हुनका लागि आहुतिले दौरासुरुवाल पहिरिएको वा गाईपूजा गरिरहेको देख्न चाहने पाठक मभित्र जन्मेको छैन । पछिल्ला दिनमा सफलता उनको अघिपछि-अघिपछि सुराक गर्दै हिँडिरहेको अस्पष्ट दृश्यले एउटा पाठकका रूपमा मलाई भयभित बनाइरहेको छ ।

दुई : रिसाहा कवि कि इमानदार पोलिट्ब्युरो ?

समालोचक एजाज अहमद भन्छन्, ‘जसलाई विगतको सम्झना आउँदैन, उसले भविष्य निर्माण गर्न सक्दैन । जसलाई विगतको घाउ सम्झना छैन, उसले भविष्यको तन्दुरुस्त जिन्दगीको सपना देख्न सक्दैन । इतिहास भविष्यको सुन्दर कल्पनाहरूबाट बन्दैन, यो त मानवीय क्रोधबाट बन्छ र त्यस्तो क्रोध विगतसँगै जोडिएको हुन्छ ।’ विगतप्रतिको आहुतिको क्रोध पछिल्ला दिनमा कवितामा रोपिएको छैन । उनी अहिले पनि क्रोधित छन्, त्यो भविष्यको निर्माणमै केन्द्रित छ तर कविताको बाटोमा उनको पोलिट्ब्युरोपनले बेलाबेला ढाट तेर्साइरहन्छ ।

हिजो जनयुद्ध वा जनसङ्घर्ष र त्यसमा सम्बद्ध योद्धाहरूलाई ‘बच्चा’को बिम्ब प्रयोग गरेर सम्बोधन गर्ने यी कवि त्यो बच्चालाई संस्कार दिने, हुर्काउने र सङ्घर्षका लागि निरन्तर प्रशिक्षित गर्ने काव्यिक दायित्वप्रति सचेत हुँदाहुँदै पनि अपेक्षाकृत शिथिल अनुभूत हुन्छन् ।

जनयुद्धको उत्कर्षतिर लेखिएका केही कवितामा उनले माओवादी आन्दोलन वा योद्धाहरूलाई सङ्केत गर्दा धेरैपटक ‘बच्चा’को बिम्ब खेलाएका थिए । आज ‘मिस्टर योद्धा’को स्खलन-यात्रा बेहोरिरहेको उक्त आन्दोलनको कैशोर्य देखेर कवि निराश र हतास देखिन्नन्, बरु खेलिरहेका नानीहरू र निदाइरहेका बच्चाहरूलाई बिउँझाउन आव्हान गर्छन् । तर, उनको आवेग, उत्तेजना, रिसले पहिलेको गति कायम राख्न सकेको छैन । ‘तपस्वीका गीतहरू’देखिकै कवितालाई शृङ्खलामा पढ्दा उनका पछिल्ला कवितामा आक्रोश सुस्तोन्मुख महसुस हुन्छ, त्यो आक्रोश यदाकदा गैराख्यान गद्यतिर सल्केको छ ।

कविता गद्यतिर सल्कनु बेअसल कुरा होइन, तर कविता क्रमशः गद्यतिरै गइराख्यो, गद्य-शक्ति क्रमशः पार्टी-राजनीति छेउछाउको प्रशिक्षणमा मात्रै केन्द्रित भयो र पार्टी-राजनीति ‘मिस्टर योद्धा’को इमानदार पोलिट्ब्युरोमा अपघटित भयो भने ‘गहुँगोरो अफ्रिका’ले कविलाई क्षमा दिँदैन ।

(र्‍यान्डम रिडर्सले पोखरामा शनिबार गरेको कार्यक्रममा प्रस्तुत विचार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?