Comments Add Comment

कांग्रेसले सुशीललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने 

Susil-koirala
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति एवं वर्तमान प्रधानमन्त्री सुशील कोइराला नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ ।

प्रधानमन्त्रीका तीन दावेदार कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारबनाउने सहमति भएको हो । एक नेताले भने,-‘उम्मेदवारीबारे निर्णय गर्ने जिम्मा तीन नेतालाई दिइएको थियो । उहाँहरुबीचमा सुशील कोइरालाको नाममा सहमति भएको छ ।’

कांग्रेसले कोइरालाको सरकार गठनका लागि समर्थन जुटाउन एमाओवादीसहितका दलहरुसँग छलफल गर्नेछ ।
एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

दुई ठूला दलले सरकारको नेतृत्व दावी गरेपछि ८३ सभासद रहेको तेस्रो ठूलो दल एमाओवादी निर्णायक बनेको छ ।
एमाओवादीले एमालेलाई समर्थन गर्ने संकेत दिएकाले ओलीकै पक्षमा बहुमत पुग्ने सम्भावना बलियो देखिएको छ ।

तर, उसका केही सर्त छन् र अहिलेसम्म उसले राष्ट्रिय सहमपतिको सरकार भन्दै आएको छ ।

एमाओवादीको समर्थन हुने हो भने कांग्रेसको नेतृत्वमा सहजै सरकार बन्नेछ । एमाले र एमाओवादी एक ठाउँमा गए भने कांग्रेसलाई सरकार बनाउन मधेस केन्द्रीत दल, राप्रपा, राप्रपा नेपाल र साना सबै दलको समर्थन जुटाउन पर्छ, जुन सहज छैन ।

कांग्रेससहित एमाओवादी नहुने हो भने एमालेलाई पनि सहज छैन । एमाओवादीले साथ दियो भने एमालेले राप्रपा नेपाल र साना दललको समर्थनमा सरकार बनाउन सक्नेछ ।

संसद सचिवालयले उम्मेदवार दर्ताका लागि विहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकेको छ । भोलि ११ बजे संसादमा मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment