३० असोज, झापा । झापाको शान्तिनगर, बाहुनडाँगी, शनिश्चरे, चकचकी, पाँचगाछी, पथरीया र दमक तरकारी खेतीका लागि जिल्लामा चिनिएका गाविस र नगरपालिका हुन् ।
यहाँका झण्डै दश हजार कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । झापामा अघिल्लो आर्थिक वर्ष २०७१÷०७२ मा हिउँदे तरकारी तीन हजार ६५० हेक्टर क्षेत्रफलमा लगाइएको जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक शालीग्राम भट्टराईले बताए ।
त्यस्तै वर्षे तीन हजार २६० हेक्टर क्षेत्रफल र वेमौसमी तरकारी ८४० हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१÷०७२ मा झापामा हिउँदे तरकारी रु दुई अर्ब ७७ करोड, ४० लाखको उत्पादन भएको छ ।
त्यस्तै वर्षे तरकारी दुई अर्ब ६० करोड र वेमौसमी तरकारी रु ७२ करोड २४ लाखको उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक भट्टराईका अनुसार हिउँदे तरकारी गतवर्ष ६९ हजार ३५० मेट्रिक टन वर्षे ५२ हजार १६० र वेमौसमी १४ हजार ४४८ मेट्रिकटन उत्पादन भएको छ ।
जिल्लाका कृषकले आर्थिक वर्ष २०७१÷०७२ मा रु पाँच अर्व ४४ करोड, ६२ लाख ४० हजारको तरकारी उत्पादन गरेका छन् । जिल्ला कृषि विकास कार्यालय झापाले विगत तीन वर्षदेखि युवा लक्षित कार्यक्रम सुरु गरेकाले यस वर्ष झापामा तरकारी खेती गर्नेको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ ।
झापाका वहुसङ्ख्यक कृषकले रायो, काउली, गोलभेडा, बन्दाकोवी, फूलकोवी, सिमी, काउली लगाउने गरेकोसमेत जिल्ला कृषि बिकास कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । रासस
प्रतिक्रिया 4