रविन्द्र घिमिरे
२ कात्तिक, काठमाडौं । दसैंलाई लक्षित गरी सरकारी निकायबाट यो वर्ष उपत्यकामा दाउराको बिक्री नहुने भएको छ ।
भारतको अघोषित नाकाबन्दीपछि ग्यासको अभाव चर्किएसँगै सरकारले काठमाडौंसहित मुख्य सहरी क्षेत्रमा सस्तो मूल्यमा दाउराको बिक्री सुरु गर्ने आश्वासन दिएको थियो ।
तयारी पुगेनः वन मन्त्रालय
दाउरा विक्रीका लागि तयारी नपुगेको वन मन्त्रालयले जनाएको छ । ‘ग्यासको चरम अभाव भएपछि दाउरा काठमाडौं ल्याउन तयारी सुरु गरेका हौं, तर, दसैंअघि समयाभावले त्यो सम्भव भएन । वन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले अनलाइनखबरसँग भने-‘ यसका लागि विभिन्न किसिमको तयारी हुनुपर्छ, त्यसैले दसैंअघि कामै सुरु गर्न सकिएन ।’
वन मन्त्रालयले दसैंअघि नै दाउरा ल्याएर बिक्री सुरु गर्ने बताए पनि औपचारिक निर्णय अझैसम्म गरेको छैन । सरकार परिवर्तनका कारण औपचारिक निर्णयमा ढिलाइ भएको हो ।
भारतले पर्याप्त पेट्रोलियम पदार्थ नदिएपछि वन मन्त्रालय यस्तो तयारी थाले पनि दसैंअघि सर्वसाधारणले सुलभ मू्ल्यमा दाउरा किन्न नपाउने भएका हुन् ।
‘अहिले शव जलाउन मात्र सरकारले दाउरा बेच्ने गरेको छ । यदि सर्वसाधरणका लागि दाउरा बेच्न थालियो भने विभिन्न ठाउँमा बिक्री केन्द्र राख्नैपर्छ’ प्रवक्ता आचार्यले भने- ‘डिपोदेखि कर्मचारी व्यवस्थापनको कुरा मिलाएपछि मात्र दाउरा ल्याउन सुरु हुनेछ ।’
दसैंपछि ल्याउने दाबी
वन मन्त्रालयले दसैंपछि लगत्तै दाउरा काठमाडौं ल्याएर बिक्री गर्ने दाबी गरेको छ । तर, दसैंमा नै धेरै सर्वसाधारणले ग्यास सकिएपछि दाउरासमेत किन्न नपाएर सास्ती भोगेका छन् ।
धेरै होटल तथा रेष्टुरेन्टमा दाउराको प्रयोग भइरहेको छ । तर, मागअनुसार दाउरा नपाउँदा सबै पीडित छन् । निजी डिपोहरुले पनि दाउराको मूल्य बढाएका छन् ।
‘दाउराको अभाव छैन, देशका धेरै जिल्लामा प्रशस्त परिमाणमा दाउरा छन् । त्यसलाई सर्वसाधारणको पहुँचमा ल्याउन सकिए धेरैको समस्या घट्थ्यो’ वनका प्रवक्ता आचार्यले भने- ‘तर, ढुवानी र बिक्रीको सबै विषय सहज बनाएर काठमाडौंलगायत सहरी क्षेत्रमा ल्याउने गृहकार्यमा हामी छौं ।’
५ सय चट्टा मौज्दात, नयाँ पनि निकालिने
देशभर ५ सय चट्टा दाउरा मौज्दात रहेको वन मन्त्रालयले जनाएको छ । अहिले जिल्ला वन कार्यालय र टिम्बर कर्पोरेशन (टिसीएन) का डिपोहरुसँग दाउरा सहरी क्षेत्रसम्म ल्याउन समन्वय भइरहेको प्रवक्ता आर्चायको भनाइ छ ।
कात्तिक १ गतेदेखि सबै वनमा काठ दाउराको कटानी खुलेकाले माग अनुरुपको दाउरा ल्याउन समस्या नहुने मन्त्रालयको दाबी छ ।
अहिले सरकारी वनमा दाउराका रुपमा प्रयोग हुन सक्ने सुकेका, लडेका रुख तथा मुडा रहेकाले त्यसलाई समेटेर काठमाडौंलगायतका सहरमा पुर्याउन प्रयत्न हुने मन्त्रालयले जनाएको छ ।
तर, दाउरा आपूर्ति गर्दा वन संरक्षणको मूल मान्यतासँग कुनै सम्झौता नहुने प्रवक्ता आचार्यले बताए ।
प्रतिक्रिया 4