सन्देश श्रेष्ठ
६ कात्तिक, पोखरा । भारतको अघोषित नाकाबन्दीका कारण पोखरासहित नेपालमै पेट्रोलियम पदार्थको चरम अभाव भईरहेका बेला पोखरामा सशस्त्र प्रहरीको मिलेमतोमा पेट्रोलको कालाबजारी भएको खुलाशा भएको छ ।
पेट्रोल नपाएर कार र मोटरसाईकल थन्काएर सर्वसाधारणहरु पैदल हिंड्न बाध्य भइरहेका बेला ठूलो मात्रामा पेट्रोल संकलन गरी कालाबजारी गर्ने सशस्त्रका सहायक हवल्दार पक्राउ परेपछि सशस्त्र प्रहरीकै मिलेमतोमा पेट्रोलको कालाबजारी भएको खुलाशा भएको हो ।
बढी मूल्य लिएर पेट्रोल वितरण भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामको टोलीले पेट्रोलको कालाबजारी गर्ने सशस्त्र प्रहरी मुक्तिनाथ बाहिनीका सहायक हवल्दार चक्र तिमाल पक्राउ परेका हुन् । उनलाई अंकित थापासँग लेकसाईड स्थित होटल प्यारामाउण्टमा पेट्रोल वितरण गरिरहेका बेला पक्राउ गरिएको हो । थापा सोही होटलका कर्मचारी हुन् । उनीहरुको साथबाट ७५ लिटर पेट्रोल बरामद गरिएको छ भने उनीहरुले १ सय ४ रुपैयाँ पर्ने एक लिटर पेट्रोल ४ सयदेखि ६ सय रुपैयाँसम्ममा बेच्दै आएको बुझिएको छ ।
पेट्रोलको कालाबजारी भइरहेको सूचना सर्वसाधारणले बैदाम प्रहरीलाई दिएको थियो । सोही सूचनाको आधारमा इञ्चार्ज बिरेन्द्र गोदारले तेल किन्ने बहाना बनाएर कालाबजारी गर्ने तिमाल र थापालाई पक्राउ गरेको श्रोतले बताएको छ ।
पक्राउ गरिएका दुबैलाई कालाबजारी ऐन अन्तर्गत कार्वाही गरिने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हरिबहादुर पालले बताए । दसैंं बिदा भएकाले उनीहरुलाई अहिले हिरासतमा राखिएको र कार्यालय खुलेपछि मुद्धा अघि बढाईने उनले जानकारी दिए ।
पोखराको मालेपाटनमा रहेको सशस्त्र प्रहरीको कालिका गणस्थित कालिका फ्यूल स्टेशनबाट तेल निकालेर सशस्त्र प्रहरी कर्मचारीले नै तेलको कालाबजारी गर्ने गरेको आरोप लागिरहेका बेला यो घट्ना भएको हो । तेलको चरम अभाव भएसँगै पोखरामा एक लिटर पेट्रोल ३ सयदेखि ६ सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । यसरी कालाबजारी हुने पेट्रोलमा मिसावट हुने पनि प्रयोगकर्ताहरु बताउँछन् ।
प्रतिक्रिया 4