काठमाडौँ, २९ कात्तिक । यस वर्ष तिहारमा २ करोड ५० लाखको फूलको कारोबार भएको छ । वर्षेनी तिहारमा १० देखि १५ प्रतिशतसम्म फूलको कारोबारमा वृद्धि हुने गरेको भएपनि यस वर्ष नाकाबन्दी र तराई बन्दका कारण कारोबारमा वृद्धि हुन नसकेको फ्लोरीकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष दिलिप बादेले जानकारी दिए ।
उपाध्यक्ष बादेका अनुसार तिहारमा सयपत्री, मखमली र गोदावरी फूलका सात लाख माला खपत भएका भएपनि सबैभन्दा बढी सयपत्री फूलको चार लाख माला खपत भएको छ । खपत भएका फूल सबैभन्दा बढी काठमाडौँ उपत्यकाको तीन वटा जिल्लामा ७५ प्रतिशत प्रयोग भएको थियो भने पोखरा, बुटवल, धरानलगायत देशको मुख्य सहरमा २५ प्रतिशत फूलको प्रयोग भएको थियो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष मालाको मूल्यमा पनि वृद्धि भएको छ । यस वर्ष सयपत्री फूलको प्रतिमालालाई ३५ देखि ६५ रूपैयाँसम्म परेको थियो । गत वर्ष प्रतिमालाको मूल्य २५ देखि ५० रूपैयाँसम्म थियो ।
प्रतिक्रिया 4