३० कात्तिक, काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीका कारण अधिकांश चाउचाउ उद्योग पूर्ण रुपमा बन्द भएका छन् । उद्योगहरु बन्द भएपछि अहिले बजारमा चाउचाउको अभाव देखिएको छ ।
चाउचाउका लागि आवश्यक कच्चा पदार्थको अभाव भएपछि उद्योग बन्द गर्नुपरेको सञ्चालकहरुको भनाई छ । विभिन्न मुलुकबाट ल्याएको कच्चा पदार्थ नाकाबन्दीका कारण भन्सार नाकाहरुमा अडि्कएको छ ।
चाउचाउलाई चाहिने गहुँको पिठोदेखि पाम आयल, लसुन प्याजसम्म विदेशबाटै आयात गर्नुपर्ने पोखरा नुडल्सका प्रबन्ध निर्देशक बाबुराम पन्तले बताए । उनका अनुसार विभिन्न ठाउँमा सञ्चालित ८ वटा उद्योगले दर्जनौं ब्रान्डमा चाउचाउ उत्पादन गरिरहेका छन् ।
पोखरामा सञ्चालित पोखरा नुडल्स र हिमश्री उद्योग पूर्ण रुपमा बन्द छन् । पोखरा नुडल्सले रम्बा, बोनस लगायत आधा दर्जन ब्रान्डमा चाउचाउ उत्पादन गर्छ भने हिमश्रीले रारा ब्रान्डमा चाउचाउ उत्पादन गर्छ ।
सबैभन्दा बढी बिक्री हुने वाईवाई चाउचाउको उद्योग पनि २०/२५ प्रतिशत क्षमतमा मात्र चलिरहेको चौधरी ग्रुपको भनाई छ । नवलपरासीको चौधरी ग्राम र ललितपुरको भैंसेपाटीबाट चाउचाउ उत्पादन गरिरहेको चौधरी ग्रुपले यही अवस्था लम्बिएमा उद्योग पूर्ण रुपमा बन्द हुने बताएको छ ।
वाईवाईको भैंसेपाटीमा रहेको उद्योग भने कच्चा पदार्थको अभावमा बन्द भइसकेको छ । नवलपरासीमा रहेको उद्योगमात्र केही क्षमतामा चलिरहेको हो । वाईवाई चाउचाउ वाषिर्क २ अर्ब प्याकेट उत्पादन भइरहेको चौधरी ग्रुपका मिडिया महाप्रबन्धक मधुसुदन पौडेलले बताए ।
‘उद्योग बन्द हुनुको पछाडि दुईवटा कारण रहेका छन्, पहिलो कारण कच्चा पदार्थको आपूर्ति हुन नसक्नु हो भने दोस्रोमा लोडसेडिङ हो’ पौडेलले भने- ‘लोडसेडिङको विकल्पमा जेनेरेटर थियो, त्यो पनि डिजेल अभावले चल्न सकेको छैन ।’
यसैगरी विराटनगरमा रहेको एशियन थाई फुड्स र क्वालिटी थाई फुड्स, चितवनको टाँडीमा रहेको स्मार्ट फुड्स, भैरहवामा रहेको जगदम्बा फुड्स, बनेपा र भैरहवामा रहेको हिमालयन स्न्याक्स एन्ड नुडल्स उद्योग पनि नाकाबन्दी र तराईमा जारी बन्द हड्तालका कारण प्रभावित भएका छन् ।
मायोज चाउचाउ उत्पादन गर्दै आएको हिमालयन स्न्याक्स एन्ड नुडल्स उद्योग पनि पूर्ण रुपमा बन्द भएको त्यहाँ कार्यरत कर्मचारीले बताएका छन् । कम्पनीले मायोज चाउचाउ नाकाबन्दी भएको धेरै पछिसम्म बजारमा उपलब्ध गराउँदै अाएको थियो ।
चाउचाउ सबैभन्दा सजिलो खानाको रुपमा परिचित छ । विनाशकारी भूकम्पको समयमा तत्कालको भोक मेटाउन चाउचाउ निकै सहयोगी भएको थियो । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण अहिले बजारमा खाद्यन्नको संकट पर्दा चाउचाउको पनि हाहाकार भएको छ ।
‘अहिले गोदाममै चाउचाउको अभाव भएको छ, बजारमा पठाउन सकिएको छैन’ गन्डकी नुडल्सका प्रबन्ध निर्देशक पन्तले भने- ‘उद्योगले चाउचाउ बजारमा पठाउन नसक्दा नेपालभरी हाहाकार भएको छ ।’
प्रतिक्रिया 4