१३ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल ओलम्पिक कमिटी (एनओसी)बीच खेल क्रियाकलाप प्रबर्द्धन गर्न आपसी सहकार्य गर्ने सम्झौता भएको छ ।
ओलम्पिक कमिटीको कार्यालय सातदोबाटोमा आइतबार एनआरएनए अध्यक्ष शेष घले र ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापश्चात बिदेशमा बस्ने नेपाली पासपोर्टधारी गैरआवासीय नेपालीहरुलाई नेपालको राष्ट्रिय टीमबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन बाटो खुलेको छ ।
यसअघि केही दोस्रो पुस्ताका प्रतिभाशाली खेलाडीको प्रतिनिधित्वका बिषयमा बिबाद देखिएपछि गैरआवासीय नेपाली संघले नेपाली पासपोर्टधारी त्यस्ता खेलाडीलाई राष्ट्रिय टोलीमा सहभागिता सुनिश्चित गर्न पहल गरेको थियो ।
‘यो सम्झौतापछि अब नेपाली पासपोर्टधारी एनआरएनहरु जो बिदेशमा जन्मिएका र हुर्किएका छन्, उनीहरुले नेपालको राष्ट्रिय टीममा सहभागीता जनाई नेपाल र नेपालीको प्रतिनिधित्व गर्न पाउनेछन्,’ अध्यक्ष घलेले भने, ‘यसले खेलमार्फत नेपालसँग जोडिइरहन चाहने एनआरएन र बिदेशमै हुर्किएका दोस्रो पुस्ताका नेपालीलाई नेपालसँगको भावनात्मक सम्बन्ध स्थापित गर्न निकै ठूलो सहयोग पुग्ने मैले बिश्वास लिएको छु ।’
सम्झौतासँगै ओलम्पिक कमिटीले आयोजना गर्ने सबै कार्यक्रममा गैरआवासीय नेपाली संघलाई अफिसियल पार्टनरका रुपमा सहभागी गराइने छ । यसैगरी गैरआवासीय नेपाली संघका अध्यक्षलाई ओलम्पिक कमिटीको मानार्थ सदस्य र संघले मनोनयन गरेका अर्का एक खेलकुदसँग सम्बन्धित एनआरएनलाई सदस्य मनोनित गरिने छ ।
यसैगरी गैरआवासीय नेपाली दिवसका अबसरमा हरेक बर्ष अक्टुबर १० तारिखका दिन ओलम्पिक कमिटिसँगको साझेदारीमा खेल कार्यक्रम आयोजना गरिने छ ।
खेलाडीलाई एनआरएनको छात्रवृत्ति
एनआरएनले नेपालका छानिएका प्रतिभाशाली खेलाडीलाई एशियन, साउथ एशियन र ओलम्पिक खेलका लागि छात्रवृत्ति उपलब्ध गराउने छ । एनआरएनको सहयोगमा उनीहरुले बिभिन्न अन्तराष्ट्रिय ख्यातीप्राप्त तालिम केन्द्रहरुमा तालिमको अवसर पाउनेछन् । ति खेलाडीहरुलाई बन्दोबस्तीको ब्यबस्थासमेत गैरआवासीय नेपाली संघले नै गर्नेछ ।
यसैगरी एनआरएनले नेपालमा खेलकुद पूर्वाधार निर्माणका लागि बिभिन्न अन्तराष्ट्रिय संघसंस्थासँग समन्वय गर्नेछ । संघले ओलम्पिक, एशियन र साउथ एशियन गेममा सहभागी हुने खेलाडीलाई खेलजन्य सामाग्रीसमेत सहयोग गर्नेछ ।
खेलाडी आदानप्रदान कार्यक्रम अन्तर्गत बिभिन्न अन्तराष्ट्रिय संस्थासँग समन्वय गरी नेपाली खेलाडीलाई बिदेशमा तालिम तथा अभ्यासको अबसरसमेत एनआरएनले प्रदान गर्नेछ ।
‘यो सम्झौताले गैरआवासीय नेपालीहरुलाई अन्तराष्ट्रिय जगतमा प्रतिनिधित्वको ढोका खोल्नुका साथै नेपालमा खेलको स्तर सुधारका लागि र भौतिक सुविधा थप गर्नका लागि समेत नयाँ अवसर सिर्जना गरेको छ,’ अध्यक्ष घलेले भने ।
हस्ताक्षर कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेल क्षेत्रको विकासका लागि गैरआवासीय नेपाली संघले देखाएको अग्रसरताको प्रसंशा गरे । गैरआवासीय नेपालीहरुले नेपालको आर्थिक सम्बृद्धिमा योगदान दिइरहेको भन्दै उनले अब खेल क्षेत्रमा पनि गैरआवासीय नेपाली संघको योगदान उल्लेख्य हुने बिश्वास ब्यक्त गरे ।
प्रतिक्रिया 4