– कोमल भट्टराई
‘लोक दल विघटन गरौँ !’ डा. देवेन्द्रराज पाण्डेले भन्नुभयो । त्यस क्षण हामी उहाँको घरमा निम्तारु भएर आलुदम खाइरहेका थियौँ ।लोकदल विघटनको कथन हामीलाई त्यहाँ पस्किइएको तात्तातो आलुदम जस्तै निल्नु न ओकल्नु भयो ।
लोकदल- जसको नामाकरण डा. पाण्डेले नै गर्नुभएको थियो । तर, हामीले त्यसमा ‘प्रजातान्त्रिक’ शब्द थप्न चाह्यौं । यसको कारण टंक कार्की, रामसिंह रावललगायत हामीले ‘प्रजातान्त्रिक जनमञ्च’ नामक एउटा समूह बनाएका थियौँ ।
प्रजातान्त्रिक जनमञ्चको आफ्नै कथा छ, जसको गठन किन भयो ? कसरी भयो र किन हामीले यसलाई कतै बिसाउने चौतारी खोज्यौं र कसरी बिसायौँ ? त्यसबारे चर्चा गर्नु आज सान्दर्भिक भएको छ- किनकि अहिले बजारमा ”नयाँ शक्ति” बेच्न कैयन मित्रहरु लागिपरेका छन् । म चाहन्छु कि यो नयाँ शक्तिको पुरियाले हाम्रोजस्तै कैयन युवाहरुको राजनीतिक जीवनको मरण नहोस् ।
यात्राको शुरुवात
विसं. ०३९ सालताका तत्कालीन नेकपा (माले) भित्र ‘राजनैतिक स्वतन्त्रता’ वनाम ‘पार्टी स्वतन्त्रता’ पक्षधरबीच वैचारिक संघर्ष तीव्र बनेको थियो । यसको परिणति मालेले अनेरास्ववियु केन्द्रीय कमिटीका अधिकांश सदस्यलगायत देशभरका करिब १५०० नेता तथा अगुवा कार्यकर्ताहरुलाई कार्वाही गर्यो ।
त्यस कार्वाहीमा परेकाहरुले आफू संगठित हुन कैयन तरिका अपनाए । तर, अर्को नयाँ संगठन बनाउने कुरामा सीपी मैनाली कहिल्यै राजी भएनन् । बरु उनी मालेको देश निकालाको कार्वाहीलाई स्वीकार गर्दै बनारसतिर लागे । कारवाहीमा परेका देशभित्रका युवा पंक्ति ०४६ को जनआन्दोलनमा समेत सक्रिय रहेका थिए ।
जनआन्दोलन (०४६ साल) पश्चात नेकपा माले र नेकपा मार्क्सवादीबीच एकीकरण भयो र नेकपा एमाले बन्यो । यस क्रममा मार्क्सवादी समूहभित्रको अन्तरकलहस्वरुप बुढो नेतृत्वले युवा विद्यार्थी आन्दोलनका नेताहरुलाई कारवाही गर्यो, जसमा रामसिंह रावल, रामबहादुर भण्डारी, बोर्णबहादुर कार्की, स्व. हरिश्चन्द्र आचार्यसमेत थिए ।
यी युवा नेताहरु पाखामा आइपुगेपछि तिनीहरुलाई पनि संगठन चाहिएको थियो, एक नेता चाहिएको थियो । त्यसका लागि उनीहरुले पद्मरत्न तुलाधरलाई आग्रह गरिरहेका थिए । यसै फेरोमा हामी मालेबाट अपहेलितहरु पनि पद्मरत्न तुलाधरकहाँ पुग्यौँ । र, त्यहीबाट शुरु भयो- ‘प्रजातान्त्रिक जनमञ्च’ अर्थात ‘नयाँ शक्ति’ ।
कर्णप्रिय जनमञ्च
जनमञ्च शब्द कर्णप्रिय थियो । कर्णपि्रय जनपि्रय हुन्छ नै । यसमा विभिन्न विधाका विद्वतहरु आकषिर्त थिए । पदमरत्न तुलाधर त्यसबेलाका लोकप्रिय (आइकन) थिए । राजनैतिक क्षेत्रमा टंक कार्की, रघु पन्त, रामसिंह रावल आदिको ख्याती नै थियो ।
स्व. मदन भण्डारीले आफ्नी श्रीमती तथा वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई मालेको यात्रा पनि जनमञ्चउन्मूख नै हो भनी पत्र लेखेका थिए । माहोल यस्तो थियो कि हर कोही जनमञ्च ठीक, तर समय आइनसकेको कुरा गर्थे ।
अन्तर्राष्ट्रिय जगतमा सोभियत संघको विघटन र विश्व पूँजीवाद उन्मुक्त भएको थियो । समाजवादी राज्य प्रणालीको असफलता जहीँतहीँ बहसका विषय बनेका थिए । चीनको तियान मेन स्क्वायरमा भएको दमनका भिडियोहरु काठमाडौंमा छ्याप्छ्याप्ती प्रचारित थिए । हामी पनि कम्युनिष्ट पार्टी मालेको करिब ११ वर्षको निरन्तर दमनमा थियौं । त्यसैले हामीलाई पनि ‘नयाँ’ हुनै कर लाग्यो ।
‘नयाँ’ हुने नाममा हामीलाई पनि तत्कालीन कम्युनिष्ट आन्दोलनको विरोध गर्नु आवश्यक लाग्यो । केही मार्क्सवादका विरुद्ध कम्मर कसेर लागे । केहीले आफूलाई मार्क्सवादी नभनी मार्क्सवादी दृष्टिकोणलाई अपनाइरहेका पनि थिए ।
यस्तै विरोधाभास र अन्योलमा प्रकृति, जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दार्शनिक आधारबेगर प्रजातान्त्रिक जनमञ्चलाई- ‘नयाँ शक्ति’ का लागि वैचारिक मञ्च बनाउने प्रयत्न गर्यौँ । तर, दृष्टिकोणहीन जनमञ्च हामीले सोचेजसरी वैचारिक मञ्चका रुपमा धेरै दिन रहन सक्ने देखिएन ।
नेताको खोजमा
जनमञ्च पार्टी थिएन । त्यसैले हाम्रा कैयन साथीहरु पार्टीतिर लागिसकेका थिए । विचार र छलफल चलाउने चौतारोमा धेरैबेर अडिन कोही पनि सक्दैन । त्यसबेला त्यहाँ पनि यही भयो ।
नयाँ शक्ति र वैकल्पिक शक्तिका लागि दिनहुँजसो बैठक तथा भेला गरिए । तर, यसको आकार फेला पार्न सकिएन । जनमञ्चका हरेक सभा र बैठकका छलफलहरु जहाँबाट शुरु गरिन्थे, त्यहीँ गएर समाप्त हुन्थे, त्यो भनेको उही नयाँ तथा वैकल्पिक शक्तिको गठन । तर, हामीबीच त्यसको नेतृत्व गर्ने व्यक्तिको अभाव थियो । त्यसैले नयाँ शक्तिका लागि हामी नेताको खोज्न थाल्यौँ ।
यसै क्रममा डा. डिल्लीरमण रेग्मी, कृष्णराज बर्मा, डा. देवेन्द्रराज पाण्डे, निलाम्बर आचार्यलाई भेला पारियो । महिनौ बिते । तर, एकले अर्कालाई स्वीकार नगर्ने तर्कपूर्ण कारणले मुख्य नेतामा सर्वसम्मत हुन सकेन । आखिर डा. देवेन्द्रराज पाण्डेको नेतृत्वमा ‘नयाँ’ शक्ति निर्माण हुने हाम्रो आँकलन रह्यो । र, २३ भाद्र ०५० मा उहाँकै अध्यक्षतामा ‘प्रजातान्त्रिक लोक दल’ नामक पार्टीको घोषणा भयो ।
प्रजातान्त्रिक लोक दलको गठन
विभिन्न आन्दोलन (खासगरी वाम) का लखेटिएका अनि थकितहरु र विभिन्न समूह तथा साामाजिक जीवनका क्षेत्रहरुमा रहेका राजनैतिक महत्वकाङ्क्षीहरुलाई एउटा चौतारो चाहिएको थियो । त्यस्ता व्यक्तिहरुले नेपाली कांग्रेस र विश्वबाट ओरालो लागेका बेला नेकपा एमालेले जनआन्दोलनपछिको अबको राष्ट्रनिर्माण र विकासको कार्यभार थाम्न नसक्ने निष्कर्ष निकाल्नु स्वाभाविक थियो ।
यही निष्कर्षमा बनेको लोक दलले सामाजिक प्रजातन्त्रवादलाई सैद्धान्तिक-वैचारिक आधार मान्यो । यो सामाजिक प्रजातन्त्र उदारवाद, समाजवाद, मानवतावाद, जनकल्याणकारी राज्य र स्वावलम्बी समाजका उच्चतम आदर्शहरु र अनुभवहरु सम्मिलन भएको उद्घोष गरियो । यसरी सामाजिक प्रजातन्त्रलाई सुन्दर सपना र सुस्वादिष्ट खिचडीको रुपमा पस्किइयो ।
लोकदल ‘नयाँ शक्ति’को खोजको उत्पादन थियो । यसले राज्य र समाजमा नयाँ-नयाँ कुरा गर्नुपर्ने थियो र जुन अरुले गरेका थिए, त्यसलाई पनि नयाँ फ्लेभर तथा स्वादमा पस्कनुपर्यो । यसले समतावादी समाज र सबैका निम्ति समानताका लागि महिलाप्रति सम्मान तथा आस्था, युवा ऊर्जाको सम्वर्धन, बालक, वृद्ध तथा अशक्तको मर्यादा, जातीय, सांस्कृतिक समता तथा क्षेत्रीय समता हुनुपर्ने कुरा गर्यो ।
आप\mनो वामपन्थी पृष्ठभूमि अन्धाकार पार्नका लागि हामी पुराना वामहरुले मानवअधिकार तथा मानवीय मर्यादाको रक्षाको कुरा गर्नु अति आवश्यक ठान्यौं । प्रजातान्त्रिक संवैधानिक राज्यको कुरा गर्दै जनमैत्री सरकार तथा समानुपातिक प्रतिनिधित्व प्रणालीका लागि संघर्षरत रहने प्रण गरियो ।
थाहा हुँदाहुँदै पनि उदारतावादको विरोध गर्न सम्भव थिएन । त्यसैले सशर्त उदारवाद र निजीकरणका कमीलाई बदख्वाइँ गर्दै यसको पक्षमा वकालत गर्ने काम भयो । घोषणापत्रमा विकास, रणनीति र अर्थनीतिबारे धारणा व्यापक थिए । पारदर्शितादेखि पर्यावरणीय संरक्षण तथा सन्तुलनसम्मका धारणाहरुसमेत उल्लेख गरिएको थियो ।
यही सैद्धान्तिक तथा वैचारिक आधारमा लोक दललाई विस्तार गर्न खोजियो । देशभर सञ्जाल विस्तारको प्रयास भयो । विद्यार्थी र मजदुरका साथै केही प्रमुख शहरमा संगठन बनाइए । शहरमा धेरैको आकर्षण थियो । शहर तथा गाउँ-गाउँका उत्सुकहरु लोकदलका केन्द्रीय कार्यालयमा आउन थाले । त्यो रमिता काठमाडौंको सम्भ्रान्त तथा उच्चमध्यम वर्गले चुपचाप हेरिरह्यो । त्यो वर्गको सञ्चारले लोकदललाई कहिले कांग्रेस र कहिले एमालेका विरुद्ध कार्ड हुन सक्ने प्रचार गरिरह्यो ।
लोकदलका विभिन्न रङका सदस्यहरुलाई मानवको हितका रणनीति तथा समाज तथा राज्यको सञ्चालनसम्बन्धी धारणा तटस्थ हुन्छ भन्ने थियो । तर, कुनै पनि विचार-दृष्टिकोणले त्यस्तो तटस्थता स्वीकार गर्दैन । कुनै पनि सेवा वा उत्पादन वा अभ्यासको बुझाइलाई विचार-दृष्टिकोणले स्पष्ट गर्नुपर्छ र ती कुराहरुलाई विचार-दृष्टिकोणले बुभ\mदै, विश्लेषण गर्दै मूल्याङ्कन गरिनुपर्छ । तर, लोकदल फुकियामाको ‘इतिहासको अन्त’ को फुकाइबाट त्रसित थियो । हामी वाम आन्दोलनबाट आएका केहीहरु बर्लिनको पर्खाल ढल्दाका उछिट्टएिका ईंट्टाहरु लाग्ला भन्नेमा त्राहीमाममा थियौं । अन्यलाई जीवनभरको सेतो बस्त्रलाई लाल रङले पोत्ला भन्ने डर थियो । त्यसैले लोकदलले प्रकृति, सामाज र राज्य र तिनीहरुको गतिबारे दृष्टिकोण स्पष्ट गर्न सकेन । आश्चर्य Û यो दृष्टिविहीन लोकदलले संगठन विस्तार गर्न खोज्यो ।
लोकदल जनताबीच पुग्दा
लोकदलको ‘डोमेन’ भन्नु नै नेपाली कांग्रेस र नेकपा एमाले बीचको खाली स्थान मात्र थियो । ठूलो महत्वाकाङ्क्षा थिएन- तीन वर्षसम्ममा यसले सरकार हत्याउन सक्ने आश्वासन कुनै विदेशी शक्तिबाट पाएको थिएन । यसले खिलराज र लोकमान पात्रहरु भएका सत्य कथा पढेको थिएन । यसका यात्रीहरुले बीसौं हजारको आलो रगतलाई कुल्चँदै र इतिहासमा गरेको क्रुरतम अपराधलाई महान भन्दै जनतासँग पुच्छर लुकाउँदै संगठन गर्नुपर्ने अवस्था पनि थिएन ।
सानो ‘डोमेन’ भएका तर त्यस क्षेत्रमा सकारात्मक गुण भएका थिए लोकदलेहरु । लोकदलको अगुवाइ पूर्वअर्थमन्त्री/सचिवलेे गरेका भए पनि भ्रष्टाचारको आरोप उनीलगायत कसैमा लागेको थिएन ।
लोकदलको केन्द्रीय कार्यालय काठमाडौंको ज्ञानेश्वरमा स्थापना गरियो । लोकदलेका आफन्तहरुका घरको छतमा छेउ लगाइएका पुराना बेञ्ची, कुर्सी र टेवलहरु बटुल्दै । लोकदल यस मानेमा नयाँ होइन, मक्किएको प्रतीत हुन्थ्यो । तैपनि त्यस कार्यालयलाई पहिल्याउँदै ठाउँ ठाउँबाट बैकल्पिक शक्तिका प्रतिनिधिहरु आफ्ना जिल्ला र गाउँमा विस्तार गर्ने चाहनाका साथ आएका थिए ।
संगठनको विस्तार त्यसै हुँदैनथ्यो, यसका लागि स्थानीय नेता (जो पूर्णकालीन) चाहिन्थ्यो । कार्यकर्ताहरु चाहिन्थे । ती कार्यकर्ताहरु भेला हुने अफिस कक्ष चाहिन्थ्यो । अफिस कक्षमा केही नभए गुन्द्री वा टेवल, कुर्सी चाहिन्थे । खातापाता राख्न दराज चाहिन्थ्यो । अफिसको भाडा र टेलिफोन/चिठीपत्रका लागि सानो कोष आवश्यक पथ्र्याे । तर, लोकदल केन्द्रीय कार्यालय त्यस्तो कोषको व्यवस्था गर्न नसक्ने नै गरी हरितन्नम थियो ।
जिल्लाबाट आएकालाई के लाग्दथ्यो भने पूर्वअर्थमन्त्री पाण्डेले त्यसको जोहो गर्लान् । तर, त्यहाँ त्यो अवस्था थिएन । त्यहाँ कुनै चौधरी बसेका थिएनन् । लोकदलले व्यापारीसँग चन्दा नमाग्ने आचारसंहिता जारी गरेको थियो । राज्यमा रहेर गरिने नीतिगत भ्रष्टाचार, युद्ध सरदार बनेर ग्रामीण भेगका विरोधी तथा गैससहरुसँग उठाएका जबर्दस्ती चन्दा र बैंक लुटेर कब्जा गरिएका सुनचाँदी तथा रकम लोकदलसँग थिएन । लोकदल निष्कर्षमा भिखभङ्गा नै थियो ।
जब कोषको कुरा आउँथ्यो- गाउँ र जिल्लाबाट आएकाहरु सल्याक-सुलुक पर्थे । तिनीहरुलाई भनिन्थ्यो- हामी आ-आप\mनै समितिका सदस्यहरुको चन्दाबाट कार्यालय सञ्चालन गरिरहेका छौं । त्यो कुनै पाखण्डपूर्ण थिएन, साँच्चै नै हरेक बैठकमा खाइने खाजा र चिया समेत समितिका सदस्यहरुबाट नै किन्ने गरिन्थ्यो । सभा बैठकहरु कि कार्यालय वा कि लोकदले तथा उसका शुभचिन्तकका स्कुलमा गरिन्थे ।
होटल र पार्टी प्यालेसमा कार्यक्रम गरिएनन् । र, पैसा उठाइएको कुनै स्वाङ गरिएन । हाम्रो यस्तो परम्परा देखेर निराश भई कैयन व्यक्तिहरुले सजिलो बाटो रोजे । त्यो सजिलो बाटो भनेको कांग्रेस र एमाले तर्फ लाग्नु थियो ।
हुन पनि हो, आफुले सातु-चामल बोकेर कसैलाई लोकदल बनाउनु जरुरत थिएन- त्यसैले लोकदललाई ग्रामीण तथा जिल्लामा विस्तार गर्न सकिएन ।
कुनै पनि संगठनको विस्तार कि कुनै समान इच्छा राख्ने समूहको आन्दोलनबाट हुने रहेछ र त्यस्ता स-साना समूहको आपसी विलयबाट । जनसतह भन्दा माथि उत्रिएका सम्रान्तहरुको इच्छा चाहे ती पवित्र चाहना नै किन नहुन्, ती चाहनाहरुको समायोजन गर्दा गर्दा कुरुप बनेको आदर्शका आधारमा जनआकाङ्क्षा तथा जनसङ्गठन निर्माण नहुने रहेछ ।
संगठनले वर्ग भन्नुस् वा जाति भन्नुस् वा समूह भन्नुस् कसै न कसैको इच्छा प्रतिनिधित्व गर्नैपर्छ । लोकदल नयाँ हुने नाममा दृष्टिकोणरहित बन्यो, वर्गरहित वा खास समूहरहित भयो । लोकदल त्यहीँ चुक्यो ।
जब लोकदल विघटन गर्ने भनिएको बैठकको शुरुमा नै डा पाण्डेले’हामी लोकदल नै भइसकेका रहेनछाैं, अझै हामी माले र मार्क्सवादी रहेछौँ’ भन्नुभयो ।
लोकदलेहरुलाई के लाग्यो भने हामी पवित्र छौं, हाम्रा हातहरु रगतले लतपतिएका छैनन् । हामी वाम आन्दोलनबाट आएका भए पनि पार्टी स्वतन्त्रताका लागि राजनैतिक दमनमा परेका कुशल प्रजातन्त्रवादी हौं । हाम्रा प्रतिवद्धता असल छन् । सामाजिक प्रजातन्त्र हाम्रो मुख्य लक्ष्य हो आदि । तर, यसको अन्तर्य बुझाउने माध्यम हामीसँग थिएन । किनकि लोकदलेहरु जनताको समूह भन्दा माथि तैरिएका र थकित एवं अन्य कुनै संगठनमा भूमिका पाउन असफल बनेकाहरुको क्लव मात्र थियो ।
यसमा रहेका हर सदस्यहरुले आफ्नो इतिहासको र आफ्नो कथित बौद्धिकताको गर्व त गर्न सक्दथ्यो, तर यो समूहले जनताको पीरमर्का, निराशालाई मल्हम लगाउन जान सक्ने सांगठनिक जालो नै थिएन । काठमाडौं र शहरका सुकिला-मुकिलाहरु बीच चर्चाको विषय त बनेको थियो, तर जनताको नजरमा कान चिरिएका अरु जोगीभन्दा फरक थिएन ।
तैपनि लोकदलले अल्फा बिटाको जगमा रहेर गणित अभ्यास गरिरह्यो, र त्यस्ता जगमा भेला पारिएका जनताका पीरमर्का र चाहनासँग असम्बन्धित चरहरुबाट आम जनतालाई संगठन गर्ने प्रयत्न गरिरह्यो ।
यात्राको कमा
लोकदलको कार्यालयमा नयाँ शक्ति खोज्नेहरुको आउने जाने क्रम चालु नै थियो, त्यही बेला ०५२ सालको मध्यावधि निर्वाचन घोषणा भयो । निर्वाचनमा भाग लिनु प्रजातान्त्रिक दलको कर्तव्य थियो । ‘वहिस्कार गर्नु’ त उग्र बाम हुनु नै थियो । त्यसैले लोकदलले निर्वाचनमा भाग लिने निर्णय गर्यो ।
त्यसपछि उम्मेदवारको टिकट/समर्थन माग्न लोकदलको कार्यालयमा विभिन्न प्रख्यात तथा स्थानीय नेताहरु आउजाउ गर्न थाले । तर, लोकदलको नेतृत्व आफुजस्तै पवित्र, निष्कलंक र निष्ठावानलाई मात्र टिकट दिने कुरामा अडिग रह्यो । समानुपातिक प्रतिनिधित्वबाट सभासदको चयन गरिने व्यवस्था नभएकाले मत थुपार्नका लागि जथाभावी उम्मेदवारी टिकट दिनुपर्ने बाध्यता पनि थिएन ।
केही नेता तथा कार्यकर्तालाई आमनिर्वाचनको उम्मेदवारी दिन लगाइयो । डा. देवेन्द्रराज पाण्डे पाल्पा र टंक कार्की गोरखामा जानुभयो । क्रमशः १२०० र ६५० जति मत प्राप्त गर्नुभयो ।
जे सोचिएको थियो, सो भएन । ती स्थानहरु यस्ता थिए, जहाँ डा. पाण्डे पुग्दा डोला लिएर नौमती बाजा बजाउँदै स्वागत गर्न हजारौं जनता सामेल हुन्थे । त्यसैले लोकदलले ठान्यो कि ती जनताले आफ्ना मतहरु लोकदलको बाकसमा अन्धाधुन्ध हाल्नेछन् ।
गोर्खामा भूजेलको जनसंख्या अत्यधिक थियो । तर, ती भूजेल (भूपू कमरा) हरु चन्द्रसम्शेरको पालामा नै अमलेख भइसकेका थिए । जुन कुरा लोक दलले निर्वाचनको मत परिणामबाट चाल पायो ।
मत परिणामले नयाँ वैकल्पिक शक्ति बन्न खोज्ने लोकदलको औकात राजनैतिक मैदानमा खुलस्त भयो । आखिर जसले नेतृत्व लिइदिनु हुन्छ भन्ने सोचेर लोकदल बनाइएको थियो, उहाँको निष्कर्ष लोकदललाई जनताले मान्यता दिएनन् भन्ने बन्यो । त्यसपछि पनि हामीले लोकदलको असफलताका बारेमा कुनै खोतल खातल गर्न लागेनौं । डा. पाण्डेलाई नेता बनिदिनका लागि पुकारा गर्ने हामी पुराना मार्क्सवादी र पुरानो मालेका कार्यकर्ताहरु थियौँ । हामी पुराना मालेहरु ०३८ साल देखि नै एक संयन्त्रबाट परिचालित थियौं । त्यस संयन्त्रलाई अनेक तरिकाले सुचारु गरिएको थियो । लोकदल हुँदासम्म पनि करिब ३५०-४०० व्यक्तिहरु यसमा आवद्ध थियाैं । मार्क्सवादी पार्टीबाट आउनुभएका मित्रहरु पनि यति नै हुनुहुन्थ्यो होला ।
तर, जनमञ्चदेखि लोकदल भइसक्दा पनि यी दुई पक्ष सम्मीलन भइनसकेको कुरा त्यसबेला मात्र महसुस गरियो, जब लोकदल विघटन गर्ने भनिएको बैठकको शुरुमा नै डा पाण्डेले’हामी लोकदल नै भइसकेका रहेनछाैं, अझै हामी माले र मार्क्सवादी रहेछौँ’ भन्नुभयो । वास्तवमा पञ्चायती दमनकालमा सँगसँगै हिँडेका र माले नेतृत्वले लिएको हुर्मतका कारण हामी मालेहरुबीचको हाम्रो औपचारिक सम्बन्ध अनौपचारिकता, हार्दिकता, आपसी विश्वासमा परिणत स्वाभाविक थियो ।
बैंक लुटेरा, निरीह जनताका घाँटी रेटुवा र डाकाहरुबीच त एक प्रकारको टुट्न र टुटाउनै नसकिने आपसी विश्वास हुन्छ भने हामी त राजनैतिक प्राणी थियौँ । हामीबीच अति घनिष्टता हुनु नौलो कुरा थिएन नै ।
यही आपसी विश्वासका कारण हामी पूर्ववर्ती मालेहरु लोकदलको विघटनको परिणामले तितर-वितर हुन नहुने भन्दै पुन मालेमा र्फकने कुरा लोकदलमा राख्यौँ । पूर्व मार्क्सवादी साथीहरुले लोकदलको निरन्तरताको कुरा गर्नु भयो । हामी दुबै पक्षहरुले एकअर्काका कुरालाई हार्दिकताका साथ स्वीकार गर्यौँ ।
यात्राको सुखान्त कि दुखान्त
जनमञ्च वा लोकदललाई हामीले एक नया तथा वैकल्पिक शक्तिको खोजका लागि बैचारिक मञ्चका रुपमा स्थापना गर्न चाहेका थियौँ । यो हरकिसिमले नया होओस्, दृष्टिकोणले, कार्यक्रमले र क्रियाकलापहरुले ।
लोकदलका सदस्यहरु मध्ये केहीमा विकसित पृथक विश्व दृष्टिकोणको कारणले समान दृष्टिकोण बन्न सकेन । घोषणापत्रमा केही कार्यक्रमहरु प्रस्तुत गरिए । सगठन बेगरको लोकदलले क्रियाकलाप तहमा सोच्न र कार्य गर्नै परेन । तर, लोकदलेहरु राजनैतिक प्रतिबद्धताका साथ नैतिकरुपमा सुसंस्कृत थिए, तिनीहरु निष्ठावान थिए । ती अभिमानी थिए । तर, घमण्डी थिएनन्, ती सरल थिए पाखण्डी थिएनन् । त्यसैले लोकदलबाट विदावारी हुने दिन उनीहरुले लोकदल चलाउँदा लागेको ऋणहरुको हिसाब-किताब गरे । त्यस ऋणलाई केन्द्रीय सदस्यहरुबीच समतामूलक वितरण गरे, जुन हरेक सदस्यले पछि चुक्ता गरे ।
यसरी हार्दिकता र विश्वासका साथ शुरु भएको यात्रा हार्दिकता र विश्वासका साथ नै सुखान्त भयो । तर, वैकल्पिक नयाँ शक्तिको खोजको यात्राको दुखद अन्त भयो । यस्तो अन्त जोसुकैको पनि हुनसक्छ, खासगरी जसको यात्राको लक्ष दूर छ, तर दृष्टिहीन छ, कठिनाइ र समस्यालाई बुझ्ने कुनै दृष्टिकोण छैन । न त विगतका कृत्य वा कुकृत्यप्रति गौरव छ न त पश्चाताप छ ।
लोकदलको यात्राको अन्तको प्रमुख कारण नै सम्भ्रान्त वर्गलाई खुशी पार्न दार्शनिक आधारलाई तिलाञ्जली दिँदै कुनै खास वर्ग, जाति र समुदायको पक्षपाती हुन नसक्दा संगठन विस्तार गर्न नसक्नु नै हो । यी कुराहरुमा नयाँ शक्तिका जन्ती बन्न आतुरहरुलाई चेतना होओस् ।
प्रतिक्रिया 4