१२ फागुन, काठमाडौं । बुधबार विहान जोमसोम जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको विमान अझैसम्म भेटिएको छैन । पोखराकाे माैसम एकाएक खराव भएको छ र पानीसमेत पर्न थालेको छ ।
बुधबार बिहान पोखरामा पानी परेपछि वरपरका डाँडामा कुहिरो र आकाशमा बादल लागेका कारण विमानको खोजीकार्य प्रभावित भएको छ ।
म्याग्दीमा दुर्घटना भएको आशंकामा खोजी जारी छ । दाना गाविसको रुप्सेभीर लगायतका स्थानमा खोजी भइरहेको छ । स्थानीयबासीले ठूलो आवाज आएको सुनेको तथा आगो देखेको भनेकै भरमा खोजी गर्ने गरिएको छ ।
तर, अहिलेसम्म केही पत्ता लागेको छैन । विमानको खोजीमा खराब मौसमले पनि अवरोध उत्पन्न भएको छ ।
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीका अनुसार नेपाली सेनाको हेलिकोप्टर खोजीमा सक्रिय छ । रुप्सेभीर क्षेत्रमा बादल लागेकाले खोजी प्रभावित भएको छ । स्थल मार्गबाट पनि सेना, पुलिस र सशस्त्र प्रहरी खटिएका छन् । तर, अहिलेसम्म विमान दुर्घटनाग्रस्त भएको भेटिएको छैन ।
सेनाका प्रवक्ता कार्कीले भने, ‘रुप्सेभीरको माथिल्लो क्षेत्र, जुन करिव ९ हजार फिट उचाइमा छ । त्यहाँ बादल लागेकाले खोजी प्रभावित भएको छ । हेलिकोप्टरले लोकेट गर्नासाथ फौज पुग्छ ।’
प्रतिक्रिया 4