Comments Add Comment

विनोद चौधरीको पहलमा मेघौली एयरपोर्टमा चार्टर्ड उडान सुरु

Meghauli Airport

७ वैशाख, काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी होटल्स एण्ड रिसोट्र्सले चितवनको मेघौलीमा सञ्चालनमा ल्याएको ताज सफारी रिसोर्ट ‘मेघौली सराइ’ को पहलमा मेघौली एयरपोर्टमा चार्टर्ड उडान शुरु भएको छ ।

मेघौली सराइमा आउने उच्च गुणस्तरीय पर्यटकका कारण अब मेघौली एयरपोर्टमा चार्टर्ड उडानहरुको चाप बढ्ने विश्वास गरिएको छ । गत वैशाख १ गते सात बर्षपछि पहिलो पटक नेपाल वायु सेवा निगमको विमान मेघौली सराइका विशिष्ठ पाहुनाहरु लिएर मेघौली विमानस्थलमा अवतरण गर्‍यो ।

उक्त चार्टर्ड उडानमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीसहित विदेशबाट आएका उक्त रिसोर्टका विशिष्ठ पाहुनाहरु रहेका थिए । निकट भविष्यमै उक्त विमानस्थलमा नियमित उडान शुरु हुने विश्वास पनि गरिएको छ ।

मेघौली विमानस्थलमा पुनः उडान शुरु भएपछि यस क्षेत्रका वासिन्दामा नयाँ उत्साह थपिएको छ । यसलाई मेघौलीमा अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट सञ्चालनमा आएपछि यस क्षेत्रको विकासमा पर्ने सकारात्मक योगदानका रुपमा लिइएको छ ।

हवाई सेवाको उपलब्धताले नेपाल भ्रमणमा आउने पर्यटकले काठमाडौंबाट छोटो समयमा चितवन राष्ट्रिय निकुृञ्जको अद्वितिय जंगल सफारीको स्वाद लिन पाउनेछन् । मेघौली एयरपोर्टबाट करिब १५ मिनेटको मोटरयात्रामा मेघौली सराइ रिसोर्ट पुग्न सकिन्छ ।

विश्वमा ख्यातिप्राप्त ब्राण्ड ताज होटल्स एण्ड रिसोर्ट अन्तर्गतको ताज सफारिजको व्यवस्थापनमा रहेको मेघौली सराइले उच्च गुणस्तरका पर्यटक नेपाल भित्र्याउँदै नेपालको पर्यटन उद्योगमा सकारात्मक भूमिका खेल्ने लक्ष्य लिएको छ ।

प्राकृतिक वन्यजीवनको निकटता र उच्चस्तरीय हस्पिट्लालिटी सेवाको अवधारणमा सञ्चालनमा ल्याइएको यो रिसोर्ट विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको सामिप्यमा रहेको छ ।

राप्ती नदी किनारमा रहेको यस रिसोर्टको प्रत्येक कोठा र सुइटबाट निकुञ्ज र त्यहाँका वन्यजीवनको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । रिसोर्टमा १३ कोठा, प्राइभेट स्वीमिङ्ग पुलसहितको १६ भिल्ला तथा एक प्रेसिडेन्सियल सुइट गरी कूल ३० वटा कोठाहरु रहेका छन् ।

विश्वका विभिन्न स्थानमा होटल र रिसोर्ट सञ्चालन गर्दै आएको सिजी होटल्स एण्ड रिसोर्टले नेपालमा सञ्चालनमा ल्याएको यो अन्तर्राष्ट्रियस्तरको जंगल सफारी हो ।

चितवन राष्ट्रिय निकुञ्जमा करिव ५५० प्रजातिका चराहरु र ६८ प्रजातिका बन्यजन्तुहरुको बसोबास रहेको छ । लोपोन्मुख एकसिंगे गैंडाका अतिरिक्त, रोयल बंगाल टाइगर र चितुवाहरुको बसोबास यो निकुञ्जमा रहेको छ ।

रिसोर्टमा आउने अतिथिहरुको लागि जंगल सफारी, नौकासवारी, वन्यजन्तु अवलोकनलगायत अन्य विविध क्रियाकलापमा सहभागी हुने व्यवस्था मिलाईएको छ ।

सिजी होटल्स एण्ड रिसोर्टको साझेदार ताज होटल्स एण्ड रिसोर्टले भारतमा पहिलोपटक वाइल्डलाइफ सर्किटको अवधारणामा विभिन्न रिसोर्टहरु सञ्चालन गर्दै आएको छ । दीगो इकोटुरिज्म मोडेलमा सञ्चालित यी रिसोर्टहरु विश्वकै उच्चकोटीका पर्यटकहरुको रोजाइमा पर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment