Comments Add Comment

माओवादी केन्द्रले प्रचण्डको नेतृत्वमा नौ सदस्यीय हेडक्वाटर बनायो, पदाधिकारी नरहने

Maoist Center

१० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नौ सदस्यीय हेडक्वाटर बनाएको छ । तत्काल अन्य पदाधिकारी नरहने भएका छन् ।

१० माओवादी घटकहरुको एकतापछि संयुक्त सम्मेलनले प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो । तर, एकल पदीयमा जाने कि बहुपदीयमा भन्ने सहमति जुट्न सकेको थिएन ।

सोमबार बसेको बैठकमा तत्कालका लागि नौ सदस्यीय केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको छ । हेडक्वाटरमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, रामबहादुर थापा, देव गुरुङ, मात्रिका यादव, मणि थापा, तिलक परियार र जयपुरी घर्ती छन् ।

गाउँतहसम्मको एकता प्रक्रिया टुंगिएपछि समीक्षा गरेर वहुपदमा जाने निर्णय गरी कार्यविभाजन गरिने प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

४९ देखि ५१ सदस्यीय सचिवालय र १५१ सदस्यीय पोलिटब्यूरो गठन गर्ने सहमति भएको एक नेताले बताए । भुषालका अनुसार एकता प्रक्रियामा सहभागी पार्टी र समूहका स्थायी समिति सदस्य र पोलिट्ब्युरो सदस्यहरुले माओवादी केन्द्रमा स्वतः पुरानै पद पाउने छन् ।

बैठकले गाउँतहसम्म एकता प्रक्रिया सम्पन्न गर्नका लागि जेठ २२ गतेदेखि असार ८ गतेसम्म प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको छ ।

जेठ २२ गते ३ नम्बर प्रदेशको भेला काठमाडौमा, २२ गते २ नम्बर प्रदेशको भेला बर्दिवासमा, २४ गते ४ नम्बर प्रदेशको भेला पोखरामा, २६ गते ५ नम्बर प्रदेशको भेला दाङमा, २८ गते ६ नम्बर प्रदेशको भेला सुर्खेतमा तथा असार ८ गते १ नम्बर प्रदेशको भेला इटहरीमा गर्ने निर्णय सहित भेला सम्पन्न गर्न संयोजन समिति समेत गठन गरेको छ ।

बैठकले असारको पहिलो साता काठमाडौमा शक्ति प्रदर्शन गर्ने निर्णय पनि गरेको प्रवक्ता भुषालले जानकारी दिए ।

एमाओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा (माओवादी) लगायतका विभिन्न १० वटा पार्टी र समूहका नेताहरु एकता प्रक्रियामा सामेल भएर जेठ ६ गते नेकपा माओवादी केन्द्र गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment