१५ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धिको बाटो तर्फ बढाउन सवै राजनीतिक दलसँगको सहकार्य अपरिहार्य रहेको बताएका छन् । उनले राष्ट्रिय एकता र संकल्पबाट मात्र मुलुक सबृद्धहुने भन्दै एकतावद्ध हुन सबैमा आग्रह गरेका छन् ।
नवौं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भिन्न विचार वा असहमति भए वार्ता र संवाद कै माध्यमबाट समाधान गर्न सकिने भन्दै आफू संवादबाट समस्याको समाधान खोज्ने पक्षमा रहेको जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय र समानता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र देशको राष्ट्रिय हित र स्वाभिमानको रक्षा एवं सुदृढिकरणका लागि प्रतिवद्ध रहेको जनाएका छन् ।
उनले नेपाली जनताले लामो संघर्षबाट सामन्ती प्रणाली र जन्मसिद्ध श्रेष्ठताको अबैज्ञानिक सिद्धान्तमा आधारित राजतन्त्रको अन्त्य गर्दै सामाजिक न्याय र समानताको मूलस्तम्भको रुपमा गणतन्त्र स्थापित गरेको आजको दिन ऐतिहासिक उपलब्धीको दिन भएको उल्लेख गरेका छन् ।
२०६२-६३ को जनान्दोलनको सफलतापछि गठित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरेको थियो ।
प्रतिक्रिया 4