+
+

गृहमन्त्रीलाई फिर्ता बोलाउन प्रधानमन्त्रीको दबाव, माओवादी भन्छ- हटाइन्न

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २४ गते १४:५७

KP oli and shakti basnet

२४ जेठ, काठमाडौं । माओवादी नेतासमेत रहेका गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई फिर्ता बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई दबाव दिएका छन् । माओवादीले चाहिँ एमालेले भन्दैमा गृहमन्त्रीलाई नहटाउने अडान राखेको छ ।

गृहमन्त्री र प्रधानमन्त्रीवीचको मनमुटावबारे माओवादीका एक नेताले अनलाइनखबरसँग भने- ‘प्रधानमन्त्रीले गृहमन्त्री फेर्नुपर्‍यो भनेर दबाव दिए पनि हाम्रो पार्टीले आन्तरिक निर्णय नगर्दासम्म एमालेले भनेकै आधारमा हटाइन्न ।’

माओवादी नेताको भनाइ अनुसार कसलाई मन्त्री बनाउने वा नबनाउने भन्नेकुरा आफ्नो पार्टीले निर्णय गर्छ, एमालेले होइन ।

आइतबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग गृहमन्त्री शक्ति बस्नेतको भूमिकाबारे असन्तुष्टि पोखेका थिए ।

आइतबार बेलुका बालुवाटारमै बसेको एमाले स्थायी कमिटीको बैठकमा पनि गृहमन्त्रीले आफूलाई नटेरेको प्रधानमन्त्री ओलीले दुःखेसो पोखेका थिए ।

एमाले बैठकले प्रधानमन्त्रीसँग लय मिलाएर काम गर्न गृहमन्त्रीलाई सम्झाउने निर्णय गरेको एमालेका एक नेताले बताएका छन् ।

पछिल्लो समयमा सीडीओको सरुवा प्रकरणलाई लिएर गृहमन्त्री र प्रधानमन्त्रीवीच मनमुटाव देखिएको छ । मन्त्री बस्नेतले गर्न लागेको सीडीओहरुको सरुवालाई प्रधानमन्त्रीले हस्तक्षेप गरेपछि विवाद बढेको हो ।

प्रधानमन्त्रीले गृहमन्त्रालयको काममा हस्तक्षेप गर्न खोजेको गृहमन्त्रीको गुनासो छ भने गृहमन्त्रीले प्रधानमन्त्रीलाई नमानेको ओलीको गुनासो छ ।

यसैवीच आइतबारको एमाले स्थायी कमिटी बैठकले मन्त्रिपरिषदका सदस्यले एउटै लयमा काम गर्नुपर्ने निश्कर्ष निकालेको छ । मन्त्रीवीचका विवादहरु बाहिर आउनु राम्रो नहुने भन्दै एमाले बैठकले गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएको छ ।

तर, एमालेले भन्दैमा माओवादीले आफ्ना मन्त्रीहरु नफेर्ने अडान व्यक्त गरेको छ । आपूर्तिमन्त्री, सामान्य प्रशासन र गृहमन्त्रीले काम राम्रो गर्न सकेको वा नसकेको विषयमा पार्टीभित्रै समीक्षा हुने तर, एमालेले भन्दै नहटाइने माओवादी नेताले अनलाइनखबरलाई बताए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली गृहमन्त्री शक्तिबहादुर बस्नेत र आपूतिर्मन्त्री गणेशमान पुनलाई हटाएर मन्त्रिपरिषदमा सामान्य फेरबदल गर्ने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?