९ भदौ, काठमाडौं । अष्ट्रेलियाका जेम्स फल्कनरले हृयाट्रिक विकेट लिएका छन् । तर, खेल भने श्रीलंकाले हात पारेको छ ।
बुधबार राति सकिएको दोस्रो एकदिवसीयमा श्रीलंकाले अष्ट्रेलियालाई ८२ रनको फराकिलो अन्तरले हराएको छ । यससँगै पाँचएकदिवसीय श्रृखलामा १-१ को बराबरी भएको छ ।
कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २८८ रन बनायो ।
यसक्रममा २६ वर्षे अष्ट्रेलियन बलर फल्कनरले हृयाट्रिक विकेट लिए । उनले ४६ औं ओभरको अन्तिम बलमा कुशल परेराको विकेट लिए । ४८ औं ओभरमा एन्जेलो म्याथु र थिशारा परेराको विकेट लिँदै हृयाटि्रक पुरा गरे ।
यससँगै फल्कनर एकदिवसीय क्रिकेटमा हृयाट्रिक विकेट लिन छैटौं अष्ट्रेलियन बलर बनेका छन् ।
म्याथु ५७, परेरा ५४ र थिशरा परेरा १२ रनमा आउट भएका थिए । श्रीलंकाका लागि सबैभन्दा धेरै रन भने कुशल मेण्डिसले ६९ बनाए । दिनेश चण्डिमालले ४८ रनको योगदान दिए ।
२८९ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको अष्ट्रेलियाले ४७.२ ओभरमा सबै विकेट गुमाएर २०६ रन मात्र बजाउन सक्यो । उसका लागि म्याथु वेडले ७२ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
श्रीलंकाका अमिला एपोन्सोले ४ विकेट लिए भने थिसरा परेराले ३ विकेट आफ्नो नाममा लेखाए ।
प्रतिक्रिया 4