१० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच अर्को महिना भारतमा हुने ब्रिक्स सम्मेलनका क्रममा भेटवार्ता हुने भएको छ । त्यसपछि चिनियाँ राष्ट्रपति शीको नेपाल भ्रमणबारे निर्णय हुने प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् ।
माओवादी हेडक्वाटरको सोमबार बिहान बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले चीनलाई भ्रमित पार्ने प्रयास भइरहेको बताए । चीन र माओवादीको सम्वन्ध राम्रो रहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले माओवादी बैठकमा बताएअनुसार उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणकै क्रममा चिनियाँ पक्षले ब्रिक्समा भेट्ने प्रस्ताव राखेका थिए । ‘महराले त्यसअघि नै गरौं भन्नु भएको रहेछ । तर, चिनियाँ पक्षले ब्रिक्समा भेटौं, त्यसपछि नेपाल भ्रमणको मिति तय गरौंला भनेका रहेछन्,’ नेता हरिबोल गजुरेलले भने ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए लगतै सरकारले उपप्रधान तथा अर्थमन्त्री महरालाई विशेष दूत बनाएर चीन पठाएको थियो । उनले चिनियाँ प्रधानमन्त्री ली खछ्याङ लगायतका उच्च अधिकारीलाई भेटेर राष्ट्रपति शीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
बि्रक्स सम्मेलन अक्टोबर १५-१६ तारिख (असोज २९ र ३० गते) भारतको गोवामा हुँदैछ । यो सम्मेलनका लागि भारतले बिमस्टेक देशहरुलाई समेत निम्तो दिएको छ ।
अर्को महिना राष्ट्रिय भेला बोलाउने सत्तारुढ नेकपा माओवादी केन्द्रले निर्णय पनि गरेको छ ।
प्रतिक्रिया 4