
गाँस, बास र कपास मानिसका आधारभूत आवश्यकता हुन् । यो पनि सत्य हो, पैसा आजको अनिवार्य आवश्यकता हो । गाँस बास र कपासले मान्छे बाँच्न त सक्छ, तर जिउन सक्दैन । पैसा भए मान्छेले जे पनि गर्न सक्छ ।
पैसाकै लागि ४० लाखभन्दा बढी नेपालीहरू विदेशी भूमिमा छन् । उनीहरू ६० डिग्रीको गर्मी भन्दैनन्, माइनस ३० डिग्रीको जाडो गन्दैनन् । मलेसिया, कतारका सयौं तले गगनचुम्बी भवनहरूमा कयौं नेपालीको रगत पोतिएको छ । खाडीको बालुवामा बाख्रा गोठालो नेपाली नै भेटिन्छ ।
उता इजरायल, कोरिया, क्यानडाको कृषि बगानमा साग गोडिरहेका नेपालीहरु नै भेटिन्छन् । यस मानेमा संसारको सबैभन्दा कठिन श्रम गर्न सक्षम छन् नेपाली । संसारका कुना–कुनामा रगत र पसिना सरोबर बेच्छन् नेपाली ।
नेपाली श्रमिकहरूको लागि अरू देशको तुलनामा सबैभन्दा आकर्षण बनेको छ आज दक्षिण कोरिया । प्रत्येक वर्ष हुने भाषा परीक्षाको फारम भर्न उभिएका हजारौं युवाहरूको लामले यही भन्छ ।
वैदेशिक रोजगारीका लाखौं नेपालीहरूमध्येको एक पात्र म पनि हुँ । करिब ५ वर्षअघि मेरो मस्तिष्कमा सल्कँदै गरेको पैसाको राँको निभाउनकै लागि म कोरिया आएँ ।
***
कोरिया आउनु अघिको एउटा किस्सा सुनाउँछु ।
खाजा खान साधारण होटलमा केही साथीहरू बसिरहेका थियौं । एउटा साथीले पत्रिकामा ‘लाखमा लाख महिनामा लाख‘ शीर्षकको विज्ञापन पढ्यो । त्यो विज्ञापनको सार थियो, लाख लगानी गरेर महिनामा लाख कमाउने । त्यो अवसर पाउन उनीहरू (विज्ञापन दिने संस्था) साथ दिन्छन् अर्थात् भाषा पढाउँछन् ।
एउटा साधारण नेपाली ठिटो । घरबाट खटाएर पठाएको खर्चमा काठमाडौं जस्तो महँगो ठाउँमा बसेर पढ्नु चानचुने कुरा हैन ।
लाखको आकर्षण देखाएको त्यो विज्ञापनले मेरो मगजमा आगो बालिदियो ।
तपाईं अनुमान लगाउन सक्नुहुन्छ, मैले त्यतिखेर कस्तो सपना देखेँ ?
कयौं पटक विज्ञापन पढेपछि एक पटक आफैंलाई नियालेँ ।
हातमा पुतपुताउँदै गरेको शिखर चुरोटको ठाउँमा सूर्य चुरोट हुनेछ । टेबलको चियाको ठाउँमा महँगो कफी हुनेछ । शरीरका कपडाका साधारण लुगालाई क्रन्चवाला जिन्सले विस्थापन गर्नेछ । एउटा दामी बाइक हुनेछ । राम्री प्रेमिका हुनेछे । प्रेमिकाका हर इच्छा पूरा गर्न सक्नेछु । पानीपुरी र चटपट खुवाउन नसकेकै बहानामा बारबार मेरो ब्रेकअप हुनेछैन ।
माथिका मेरा सपनाहरू देखेर पक्कै पनि तपाईंको अनुमान गलत भयो होला । तपाईंले यो ठिटोले त्यसबेला घरपरिवारको दुःख निवारण गर्नेबारे सोच्यो भनेर ठान्नुभएको थियो सायद । तर, १९ वर्षे ठिटोले यस्तै व्यक्तिगत सपना सजायो । मलाई यिनै कुराको आवश्यकता थियो । सामान्यभन्दा सामान्य जे कुरा आफूलाई चाहिन्छ, सपना पनि त्यसैको देखिने रहेछ ।
सपना देखेको करिब एक वर्षपछि सबै प्रक्रिया पूरा गरेर महिनाको लाख कमाउन म कोरिया उडेँ ।
…
टिनएज नै पूरा नगरिसकेको मलाई महिनाको लाख कमाउन कस्तो मिहिनेत गर्नुपर्छ भन्ने अनुमान नेपालमा छँदा पटक्कै भएन । जब मलाई कारखानामा लगियो, त्यसपछि पो मन ढक्क फुल्यो ।
पैसा टिप्ने रूख हुँदो रहेनछ कोरियामा ।
कम्पनी पुगेकै भोलिपल्टदेखि काम गर्न थालेँ । पहिलो दिन जाँदा सबै जनालाई इन्सा (नमस्ते) गरेँ । मेरो नमस्ते देखेर सबै हाँसे । इन्सा गर्ने मेरो बोली र तरिका नमिलेर हाँसेका रहेछन् भनेर पछि बुझेँ ।
म काम गर्न थालेँ, तर पारा ल्याइनँ । कोरियनले एक पटक सिकायो । जानिनँ । केही समयपछि आएर फेरि सिकायो । फेरि जानिनँ । फेरि सिकायो । फेरि पनि नजानेपछि ऊ करायो । मैले उसको भाषा बुझिनँ । कोरियनको कराउने तरिका देखेर हाँसो उठ्यो । हाँसेको देखेपछि ऊ फेरि करायो ।
बारबारको प्रयासपछि जसोतसो काम गर्न थालेँ ।
केही बेर काम गरेपछि कोरियन फेरि कराउन थाल्यो । उसको गालीलाई नेपाली साथीले उल्था गरिदिए, मैले अरुको तुलनामा काम थोरै गरेँ रे ।
बेलुकातिर फेरि सम्झायो कोरियनले । अरू कामदार र मलाई समान तलब दिएकाले मैले काम जान्नैपर्ने र अरूले जति नै गर्नुपर्ने पढायो । भोलिदेखि अरू जत्तिकै काम गर्नू भन्ने उर्दी दिएर गयो ।
भोलिपल्ट पनि उही प्रक्रिया दोहोरियो । उही गाली । उही सम्झाउने काइदा । उही उर्दी । तर, त्यो दिनदेखि एउटा सुविधा काटियो । कोरियनले आफूले भनेका कुरा नेपाली साथीहरूलाई उल्था गर्न नलगाउने भो । अब कामसँगै मैले कोरियन भाषा पनि बुझ्नैपर्ने भो ।
काम थालेको पहिलो हप्तासम्ममा म पूरापूर लाटो भएँ । कोरियनको भाषा केसै गरे पनि बुझिनँ । नबुझेपछि अंग्रेजी बोल्ने प्रयास गरेँ, तर उनीहरूले बुझेनन् । केही उपाय नलागेपछि मैले सांकेतिक भाषा प्रयोग गर्न थालेँ । बोली भए पनि म लाटो भएँ । बोल्न सक्नु मात्र बाठो हुनु रहेनछ । मेरो केही उपाय नचल्ने देखेँ ।
कामको पेलामपेल, गाली, भाषाको समस्या र मुखमा हाल्नै नसकिने कोरियन खानाको स्वादले गर्दा मैले कोरियालाई नर्कसँग तुलना गरेँ ।
कोरिया आइपुगेको दुई हप्तापछि नै निर्णय गरेँ, अब नेपाल फर्किने ।
मैले लाखको सपना छाडेँ । मलाई लाखभन्दा आफ्नो प्राण प्यारो लाग्न थाल्यो ।
त्यसै क्रममा मलाई कम्पनीका अरू दाइहरूले सम्झाए । एक महिनासम्म बस्न राजी भएँ । मनमा भने चिसो पसिरह्यो, कतै एक महिनामा मै जीवित नरहने हुँ कि ?
जसोतसो एक महिना बित्यो । साथीहरूकै बलले फेरि एक महिना थप बस्ने भएँ । अर्को महिनामा थोरै बानी परेँ । एवम् रीतले मेरो कोरिया बसाइ लम्बिँदै गयो । नर्कमै रमाउने बानी बस्यो ।
मेरो कम्पनीले एलमुनियमका पाताहरू काटेर कस्मेटिक आइटमका बोतलको बिर्को बनाउँछ । म तिनै बिर्कोमा रङ गरिसकेपछि पानीमा पखालेर सुकाउने काम गर्छु । सरदर १५ देखि २० मिनेटमा लगभग ४८०० वटा बिर्को १० वटा भाँडाको पानीमा पखालेर लिफ्टमा सुकाउनु मेरो काम हो । यो काम म एक्लै गर्छु, गर्नैपर्छ । दिनको ११ घन्टा यही काम गर्छु ।
मेरो काम अनुगमन गर्ने ख्वाजाङ (मेनेजर) र मेनेजरको काम अनुगमन गर्ने साजाङ (साहु) ले पनि मैले जसरी नै मसँगै काम गर्छन् ।
अरु साथीहरुको अरु नै काम छ । कारखानामा प्रेस मेसिन र केमिकल पनि छ । केही साथीहरूले प्रेसमा एलमुनियमका पातासँगै कहिल्यै निको नहुने गरी आफ्ना औंला काटेका छन् । केही साथीको भने शरीरमा केमिकल पोखिएर डढेको पनि छ ।
मैले एक पटकमा करिब चार सय वटा बिर्को सुकाउँछु । मेरो साहु मैले बिर्को सुकाउँदा प्रत्येक पटक पाँच सेकेन्ड छिटो सुकाओस् भन्छ । उसको अनुसार मैले पाँच सेकेन्ड छिटो बिर्को सुकाएँ भने प्रत्येक २० मिनेटमा (१२ पल्ट सुकाउने समयमा) मैले एक मिनट समय बचत गर्न सक्छु । यसरी गर्दा घन्टामा तीन मिनेट बच्छ । घन्टाको तीन मिनट बच्नु भनेको ११ घन्टामा ३३ मिनेट बच्नु हो ।
४० मिनेटमा मेरो डिपार्टले ४८००×३ बिर्को तयार गर्न सक्छ । त्यो बचेको ३३ मिनेटमा मेरो खाना खाने समयको ७ मिनट समय थपेर मेरो साहु प्रत्येक दिन १४ हजार ४ सय बिर्को बढी तयार गर्न चाहान्छ । यो क्रम दिनहुँ भइरहन्छ । पिसाब फेर्न र पानी पिउन जानुपरे यही समय बचत गरेर जानुपर्छ । यही काम मैले विगत ४ वर्ष ६ महिनादेखि लगातार गरिरहेको छु ।
मेरो साहुको उमेर ७० वर्षभन्दा माथि छ । यो उमेरको मान्छेले आराम गर्नुपर्ने हो । तर, मेरो साहु म जस्तै दिनको आठ देखि ११ घन्टा खट्न सक्छ । कामको समयमा मैले उसको अनुहारमा कहिल्यै मुस्कान देखिनँ । कामको बेला कुनै कोरियन कामदार र म्यानेजरहरूसँग सानो स्वरमा बोल्दैन ऊ । उसको मुखमा एउटा शब्द झुण्डिएको छ– ‘पाल्ली पाल्ली‘ । यसको अर्थ हुन्छ, ‘छिटो छिटो‘ । ऊ मन्त्र जस्तै प्रत्येक कामदारलाई ‘पाल्ली पाल्ली‘ भनिरहन्छ ।
मेरो यो गन्थन सुनेर तपाईंलाई झ्याउ लागिसक्यो होला । यो त कारखानामा काम गर्ने एउटा साधारण मजदुरको काम हो । यस्ता कुरामा नअल्झौं हामी ।
कान ठाडा पार्नुस्, अब लाखको कुरा गर्छु ।
प्रत्येक महिनाको १० तारिख मेरो तलब आउँछ । तलब एक लाख हैन,कहिलेकाहीँ काम गरेको समय बढी हुँदा दुई लाख पनि आउँछ । यो रकम मैले देखेको सपनाभन्दा दोब्बर नै हो ।
ईपीएस भीसाबाट कोरिया आउने जोकोहीले महिनाको लाख कमाउन सक्छ । मैले पनि करिब ५ वर्षमा ५०/६० लाख कमाएँ हुँला ।
यो ६० लाखको पहाडले कोरिया आउनुभन्दा अगाडि मैले पालेका सपनाहरूलाई थिचेर कता पुर्यायो, थाहा छैन । तर, शहरमा एउटा घडेरी पक्कै जोडिदियो । बैंकमा केही रकम डिपोजिट पनि गराइदियो । मेरा परिवारमा थोरै भए पनि मुस्कान थपिदियो । भाइहरूको पढाइमा मेरा बुबा–आमाको बोझ कम पारिदियो । मैले पढ्दाको ऋण पनि तिरिदियो । यसको बदलामा मैले आफ्नो श्रम मात्र दिएँ । श्रम भनेको मान्छेले नि:शुल्क आर्जन गर्ने मौलिक वस्तु हो । कसैले श्रम नगरे उसको उमेरसँगै त्यो नाशिएर जान्छ । मैले पैसामा साटेको श्रमप्रति साहुसित कुनै आपत्ति छैन ।
यी त भए लाखका कुरा ।
अब एकैछिन पख्नुस्, तपाईंसँग पाठ्यक्रमको कुरा गर्छु ।
पाठ्यक्रम भनेको शिक्षण संस्थामा पढाउनका लागि तयार पारेको पाठ्यवस्तु भनेर हामीलाई थाहै छ । पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक तयार पारिन्छ । खासमा पाठ्यक्रम भनेको दौडको मैदान (Cource of race) हो । एउटा धावकलाई मैदानमा कसरी कुदाउने भन्ने निर्णय पाठ्यक्रमले निर्धारण गर्छ । यस अर्थमा कोरिया मेरो लागि जीवनको मार्गदर्शक र पाठ्यपुस्तक हो ।
सवाल उठ्ला, कोरिया कसरी जीवनको मार्गदर्शक भयो त ? यहाँ त श्रम बेचिन्छ । जवानी बेचिन्छ । समय बेचिन्छ । उर्वर उमेर परदेशमै बेचेर रोगी र बूढो शरीर लिएर देश फर्कनेहरू धेरै छन् । यसलाई कसरी पाठ्यक्रम मान्ने त ? यो केही हदसम्म सत्य पनि हो ।
म त्यही सवालको जवाफ दिँदै छु ।
कोरियाले मलाई धेरै कुरा सिकाएको छ । एउटा मान्छेले कतिसम्म मिहिनेत गर्न सक्छ ? कतिसम्म पसिना बगाउन सक्छ ? माथि उल्लिखित मेरो काम हेरेर तपाईं अनुमान लगाउन सक्नुहुन्छ । हो,मैले आजसम्म भोगेको मेरो जीवनको सबैभन्दा बढी मिहिनेत कोरियामा गरेको छु । यस अर्थमा मैले मिहिनेत गर्न कोरियामा सिकेको हुँ ।
कहिलेकाहीँ काम गर्दैगर्दा साहुले ‘या‘ (ओए) को ठाउँमा ‘गणेश‘ भनेर बोलाउँदा, काम गर्दागर्दै साहुले धाप मारेर सम्झाउँदा अथवा कुनै दिन साहु घर छिटो जाँदा मलाई असाध्यै खुसी लाग्छ । सानोभन्दा सानो कुरामा पनि म रमाउन थालेको छु । स–साना कुरामा रमाउन सक्नु चानचुने कुरा पक्कै होइन । कोरियाले आफ्नै कामसँग रमाउन र आफ्नै मिहिनेतसँग खुसी हुन सिकाएको छ ।
एउटै काममा लगातार दिनको ११ घन्टा हराउन सक्नु चानचुने कुरा हैन । मैले साँचो कुरा भन्नुपर्छ, म नेपालमा भए यो काम कुनै हालतमा गर्न सक्ने थिइनँ । यो पनि सत्य हो, एउटा साधारण बिर्को बनाएर ७० जनालाई रोजगारी दिन सक्नु सामान्य कुरा हैन ।
७० वर्षे मेरो साहुको काम देखेर मैले लगनशीलता सिकेको छु ।
कोरियनहरू फोहोरी र डरलाग्दा काम गर्न माहिर हुन्छन् । कारखानामा मैलाधैला भएर जस्तोसुकै काम गरे पनि काम सकिसकेपछि सुकिला भएर हिँड्छन् । एउटा साधारण मजदुर र साहु एकै ठाउँमा खान्छन् । को साहु, को मजदुर चिनिँदैनन् ।
घरमा बुबाले गाईलाई घाँस हालिदे त भन्दा नाक खुम्च्याउने म आज सेफ्टी ट्याङ्की सफा गर्ने जस्तो अपहेलित काम गर्न सक्ने हुती राख्छु । कामप्रतिको सम्मान मैले कोरियामै सिकेको हुँ ।
कम्पनीको जन्मदिनमा मेरो साहु प्रत्येक वर्ष एउटा वाक्य दोहोर्याइरहन्छ, ‘तिमीहरू जस्तै म पनि एउटा मजदुर थिएँ । १० वर्षको तलब भेला पारेर एउटा मेसिन किनेँ । एउटाबाट दुई वटा बनाएँ । दुई वटाबाट चार वटा बनाएँ । चार बाट आठ । पहिलोमा लाख वन नाफा निकालेँ । दोस्रोमा ५ लाख, तेस्रोमा १५ लाख गर्दै अहिले ४५ वर्षको मिहिनेतमा मासिक करिब ३० करोड वन (करिब तीन करोड रूपैयाँ) नाफा गर्छु ।‘
साहुको यस्तो भाषणबाट डटेर काम गर्न र सफलताका पाइला चाल्न सिकेको छु ।
साधारण किसानको छोरो हुँ । खेती–किसानीको काम मेरो परिवारले अँगालेको कर्म हो । कोरियामा एक टुक्रा जमिन या गमलामै हराभरा बालीहरू देख्दा मात्र मलाई कृषिको महत्व बोध भयो । मेरो परिवारको बाध्यताको किसानी पेशा त एउटा राम्रो व्यवसाय बन्न सक्दो रहेछ । एउटा किसानको छोरालाई कृषिको महत्व कोरियाले पढायो ।
मसँग काम गर्ने कोरियनले मलाई जहिल्यै भन्छ, ‘यो काम मेरो हो र यो काम मैले नै गर्नुपर्छ । जसरी भए पनि आजै गर्नुपर्छ । हिजो जति गरेँ, त्योभन्दा अझै धेरै आज गर्नुपर्छ, बरू हिजोभन्दा पाँच मिनेट बढी गरेर भए पनि । किनकि मेरो साहु मेरो भगवान हो । म उसको मुहारमा मुस्कान देख्न चाहन्छु ।‘
उसको कुराबाट मैले कामप्रतिको लगाव कोरियामै सिकेको हुँ ।
अबका केही दिनपछि म नेपाल फर्कनेछु । नेपाल फर्केपछि म एउटा कृषक बन्छु । मैले कृषि कर्मबाटै टाल्नु छ बुबाको उध्रिएको कमिज । भर्नु छ मुस्कान मुस्कुराउन भुलेकी आमाको ओठमा । मलाई थाहा छ,म असफल हुँदिन । मिहिनेत गरेपछि को असफल हुन्छ ? यो आत्मविश्वास मलाई कोरियाले सिकाएको हो ।
कोरियाले अरु धेरै कुरा सिकाएको छ । सबैभन्दा मुख्य कुरा त मेरो परिवारका कोही सदस्यलाई पनि वैदेशिक रोजगारीमा पठाउन अब म उत्साहित गर्नेछैन । कोरियामा जति मिहिनेत आफ्नै देशमा गरेँ भने म आफूलाई मात्र पुग्ने हैन, सिङ्गो परिवारलाई पुग्ने कमाउन सक्छु । आफ्नो बलले जति कमाउन सक्छु, त्यसमा म सन्तुष्ट हुनेछु । यस्तो सन्तुष्टि मलाई कोरियाले नै सिकाएको हो ।
कोरियाले मलाई जिन्दगी सिकाएको छ । मैले यहाँ जति सिकेँ,नेपालमा बसेर वा अन्य कुनै महँगो विश्वविद्यालयमा एसीको वातानुकुलित कोठामा पढेको भए पनि सिक्ने थिइनँ ।
एउटा डिग्रीको सर्टिफिकेट हातमा लिँदासम्म मलाई यी यावत् कुरा मेरो पढाइले कहिल्यै सिकाएको थिएन । मलाई श्रमभन्दा जालसाजीले जीविकोपार्जन गर्न मजा लाग्थ्यो । म नेपालमा थिएँ भने एउटा जग्गादलाल बन्न सक्थेँ । एउटा पार्टीको झोले भएर राजनीतिक पण्डित बन्न सक्थेँ । गाउँभरिका गुन्डा फटाहाहरूलाई समेटेर डन बन्न सक्थेँ । कालोबजारी लागूऔषध ओसारपसार या अन्य कुनै कुख्यात अपराधी बन्न सक्थेँ ।
मैले झुट बोलेको हैन, डिग्रीको सर्टिफिकेटले म यिनैमध्येको एक अवश्य हुन्थेँ । म ठोकुवाका साथ भन्न सक्छु, मलाई कोरियाले मानव बनाएको छ । मैले आफैंलाई चिन्न पनि कोरिया नै आउनुपर्यो ।
मेरो दिमागमा हिजो कोरिया आउनुभन्दा अगाडि जसरी लाखवाला विज्ञापनले आगो बाल्यो, कोरिया आएको करिब ५ वर्षपछि आज उस्तै आगो दन्किएको छ । त्यो आगो हो देशप्रेमको । यो सौभाग्य कोरियाले दिएको हो ।
मलाई जिन्दगी बुझ्न बिना सीपको मजदुर बनेर कोरिया आउनुपर्यो ।
यी माथिका सिकाइ क्रमहरू कुनै घोषित पाठ्यक्रमभित्र पक्कै पर्दैनन् । तर, मलाई ‘म‘ भन्न सिकाउने कोरियालाई के भन्ने त ? पक्कै पनि यो एउटा अघोषित पाठ्यपुस्तक हो ।
यस मानेमा कोरिया महिनाको लाख मात्र हैन, म जस्ता धैरै युवाका लागि करोडको पाठ्यपुस्तक पनि भइदिएको छ ।
प्रतिक्रिया 4